सेनाभित्र ठूलो संख्यामा कोर्टमार्शल, माओवादी–जर्नेलको के हुन्छ हाल

सेनाभित्र ठूलो संख्यामा कोर्टमार्शल, माओवादी–जर्नेलको के हुन्छ हाल

सरकार माओवादी नेतृत्वको छ तर यही बेला समायोजनबाट जर्नेल हुने लडाकूको जागिर सकिँदैछ । अनि, नमुना व्यारेकमा भ्रष्टाचार पनि नमुनाकै भएपछि अर्को रमिता !

माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गरिँदा सबभन्दा माथिल्लो दर्जा (कर्णेल) पाएका यामबहादुर अधिकारी (प्रतीक्षा) को जागिर सकिनै लागेको छ । यसपछि समायोजित भएर माथिल्लो दर्जामा पुग्ने क्रम बन्द हुने छ । बाँकी केही अधिकृत पनि अवकासको मुखमा पुगेका छन् । प्रतीक्षाको जागिरे म्याद २०७६ असोजमै सकिएको थियो । तर, एकपटकका निम्ति सहायक रथीमा पदोन्नती दिन सकिने सैनिक नियमावलीअनुसार, ओली सरकारको मन्त्रिपरिषद्ले उनको बढुवा गर्‍यो । त्यसको म्याद चार वर्षको हुन्छ । अर्थात्, आउने असोज १ गते सकिन्छ । फेरि पनि सरकारले चाहँदा अर्को तीन वर्ष म्याद थपिन सक्छ ।

प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । जानुअघि नै केही निर्णय नभए प्रधानमन्त्री फर्किंदा असोजको पहिलो साता गुज्रिन्छ र यामबहादुर नियमतः घर गइसकेका हुन्छन् । यद्यपि, प्रधानमन्त्रीले उनलाई जागिरमा थमौति गर्न चाहनुभएअनुसार सेनाले प्रधानमन्त्रीको चाहनाबमोजिम रक्षालाई पत्र लेखी पनि सकेको छ । तर, दुईतारेमा उक्लने ठाउँ छैन । नियम फेरेर बढुवा खानसक्ने गरी थमौती भयो भनेचाहिँ सेनापति बन्नबाट कसैले रोक्न सक्दैन किनकि उनको उमेर थुप्रै बाँकी छ । उनले एडिसी कोर्ष नै गरेका छैनन् । उक्त कोर्ष नगरेको अफिसरले  एक महिनाको निम्ति मानार्थ वा विशेष बढुवाबाहेक सेनामा सहायक रथीभन्दा माथिल्लो दर्जा पाउने व्यवस्था छैन । त्यसैले धेरै भयो भने मन्त्रिपरिषद्को निर्णयबाट उनको जागिर तीन वर्षका लागि तन्किन सक्छ । उनी अहिले वन, पर्यावरणतर्फको निर्देशकको रुपमा कार्यरत छन् । 

उता, नमुना व्यारेक बनाउन हिँडेका इञ्जिनियरहरुले घोटाला पनि ‘नमुना’ कै गरिदिएपछि अहिले लाइन अरेष्टमा परेका छन् । ओखलढुंगा, खोटाङ र अछाममा नमुना व्यारेक बनाउने परियोजनाका लागि खटिएकाहरुले आफूखुशी बजेट मिलाउँदै सैनिक कोषमाथि ठूलै बदमासी गरेका कारण कोर्टमार्शल चलाइएको हो ।  स्थपति विभागअन्तर्गत इञ्जिनियरिङतर्फका प्रसे (लेफ्टिनेन्ट कर्णेल) लक्ष्मण साह, मेजर कृष्णदेव यादव, राजीवमोहन झा, नितेश अमात्यसहित ६ अधिकृत र चार ओभरसियर उक्त काण्डमा मुछिएका छन् । प्रत्येक नमुना व्यारेकका निम्ति ३५–३५ करोडका दरले अघिल्लो आर्थिक वर्षमै रकम निकासा भएको थियो । तर, यस्तो व्यारेक बनाउनुको सट्टा ‘नमुनापाराले’ रकम बाँडचुँडमा लागेपछि कारवाहीमा परेको बुझिएको छ । 

त्यस्तै, प्रधानसेनापति प्रभुराम शर्माले जागिर एक वर्ष बाँकी हुँदैमा म्याद थपेर जागिर नखाने घोषणा गरेका छन् । दुई वर्षे कार्यकाल पूरा भएको अवसरमा जंगी अड्डाभित्रै भनेका छन्, ‘सतर्क भएर काम गर्नुपर्ने बेला आएको छ ।’ विभिन्न सामाजिक सञ्जाल र मिडियाले व्यक्ति र संस्थाहरुको मानमर्दन गर्ने प्रतिस्पर्धा नै चलाएको अहिलेको समयमा आफैं जोगिएर (सतर्क भएर) काम गर्नुपर्ने धारणा उनले सैनिक अधिकृतहरुको जमघटमा राखेको पाइयो । सेनामा राजनीतिक दलका नेताको घरदैलो चहार्ने क्रम बढेकोप्रति उनी आक्रोशित थिए । ‘संस्थाको स्वच्छता र गरिमालाई अफिसरले जोगाएन भने यो संस्थाको भविष्य नै अन्धकार हुन्छ, त्यसैले धाउने काम कसैले पनि नगर्नु’, उनको भनाइ थियो । उनले आफ्नो कार्यकालका उपलब्धिबारे चर्चा गरे । सेनालाई सहुलियत ऋणको व्यवस्था, स्वास्थ्य बीमाको रकम वृद्धि, कल्याणकारी कोषमा रकम र कार्यक्रममा आएको सुधारबारे बताए ।

अर्कातिर, दुई हप्ताअगाडि डोल्पाबाट बेपत्ता भएका मेजर विमल पण्डितको अनुहार नचिनिए पनि औँठी र घडीको कारण शव पहिचान भएको छ । जाजरकोटतर्फ खाँडाचक्र नगरपालिकाअन्तर्गत भेरी नदीको पानीमा उनका काका र मामाले शव पहिचान गरेका हुन् । खोजीका निम्ति प्रहरी, सेना र सशस्त्र गरी शुक्रबारसम्म साढे ६ सय जनशक्ति परिचालित थियो । यसबीच सेनाबाट थुप्रै मानिस मागेका छन् । तर, अरुका हकमा यस्तो तदारुकताका साथ खोजी भएन । विमल पण्डितचाहिँ प्रधानसेनापतिकै मातृगण पुरानो गोरखका भएको कारण महत्त्व दिइयो भन्ने कतिपयको टिप्पणी छ ।

टिप्पणीहरू