पाडी काण्ड खोज्दै रास्वपा पार्टी

पाडी काण्ड खोज्दै रास्वपा पार्टी
सुन्नुहोस्

गरिव, विपन्न र शहीद परिवारको आर्थिक समृद्धिका लागि भन्दै मकवानपुरको मनहरी गाउँपालिकाले बाँडेको पाडीले कार्यपालिकालाई तनाव दिएको छ । वडा नं १ र ४ मा विपन्न र शहीद परिवारलाई भनेर वितरण गरिएको पाडीका सम्बन्धमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सोधखोज गरेपछि कुरो लम्बिँदै गएको हो ।

अहिले शहीद परिवार र गरिब तथा विपन्न परिवारका लागि वितरित १०८ वटा पाडीका फोटो फेसबुकमा भाइरल भइरहेको अवस्था छ । पशु शाखाले खरिद गरेर वितरण गरेको पाडीको गुणस्तरीयतामाथि स्वतन्त्र पार्टीसहित सरोकारवालाले प्रश्न उठाएका हुन् । १५ हजार रुपैयाँ सरदरमा पाइने पाडीलाई गाउँपालिकाले २३ हजार पाँच सयदेखि २५ हजार रुपैयाँसम्म तिरेर खरिद गरेको पाइएको छ । सूचनाको हक प्रयोग गरी गाउँपालिकाबाट प्राप्त कोटेशन र बिलहरूमा नाजायज मूल्य कायम गरेर त्यसबापत कर्मचारीले कमिशन खाएको आरोप छ ।

पाडी खरिद प्रक्रिया नै नपु¥याएर असारको २४ गते सप्लायर्सलाई भुक्तानी दिइएको भेटिएको स्वतन्त्र पार्टीका मनहरी सभापति गोविन्द सापकोटाले बताए । जबकि, गाउँपालिकामा असार २२ गते मात्रै कोटेशन प्रक्रिया अघि बढेको थियो । ‘कोटेशन प्रक्रिया अघि बढाइनु र भुक्तानी लिइनुभन्दा अघि नै पाडीहरू लाभग्राहीको घरमा पुगिसकेको थियो’, सापकोटाले भने, ‘गुणस्तरहीन पाडीहरू गरिवका घरघर पुगेकोबारे जानकारी छ ।’

पाडी वितरणको धेरै आलोचना भएपछि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले हेटौँडा गएर पत्रकार सम्मेलन गरेका छन् । उनले छानबिन समिति बनाएर दोषीमाथि कारबाही हुने बताए । तर, कमसल पाडीहरू लाभग्राहीको घर पुगेको पाइएमा कारबाहीसँगै रकमसमेत फिर्ता हुने उनले बताएका छन् । लाभग्राहीसँग गाउँपालिकाले १५ प्रतिशत अर्थात् ३ हजार ५ सय रुपैयाँ लागत साझेदारी गरेको थियो । 

यसैबीच, गाउँपालिकाले पाडी काण्डका सम्बन्धमा आयोजना गरेको सर्वदलीय बैठक स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ । ‘स्थानीय सरकारले गरेको गल्ती सच्याउने काम पनि उसकै हो’, सापकोटाले बताए– हाम्रो पार्टी दूधको साक्षी बिरालोलाई राख्न तयार छैन । 

टिप्पणीहरू