अल्काका कुमार र सिम्रिकका थापाबीच झन् अलमल

अल्काका कुमार र सिम्रिकका थापाबीच झन् अलमल
सुन्नुहोस्

पैसावालको चिन्ताचाहिँ अनेक धन्दा गरेर कमाएको सम्पत्ति कहाँ हालौं भन्ने हुँदोरहेछ । त्यसैले एकातिर हाल्यो– डुबायो, फेरि थप्यो– लोभ गर्‍यो । अहिले त्यस्तै लफडा आइलागेको छ, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापालाई ।

सिम्रिक एयर र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबीचको लफडा नसल्टिँदै क्याप्टेन थापाको जुहारी शुरु भएको छ, ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालका अध्यक्ष कुमार थापासँग । यी दुईको झगडाले उग्ररूप लिएर अहिले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरसम्म पुगेको छ । 

कुमार थापाले तीन दशकअघि अल्का फार्मेसी खोलेका थिए छोरीका नाममा । ०५९ सालमा पोलिक्लिनिक हुँदै ०६२ सालमा त्यसलाई अस्पताल बनाए । १४ वर्षपछि शेयर होल्डर बनेर भित्रिए रामेश्वर थापा । उनी ०७६ साल साउनदेखि ४९ प्रतिशत शेयर स्वामित्व लिएर एस.एस.जी. इन्भेष्टमेन्ट कम्पनीमार्फत अल्कामा इन्ट्री भएका हुन् । जहाँ कुमार थापाको ५१ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३ सय ६४ कित्ता र रामेश्वरको एक कित्ता कम शेयर स्वामित्व रहेको छ ।

अल्काको सञ्चालक समितिमा तिलकबहादुर पुवर थापा (कुमार) अध्यक्ष, विद्या श्रेष्ठ थापा उपाध्यक्ष र निर्देशकका रूपमा क्याप्टेन रामेश्वर थापा छन् । थापाले आफ्नो तर्फबाट दुई जना शेयरधनी हुनुपर्ने र शेयर स्वामित्व ५०÷५० प्रतिशत हुनुपर्ने माग राखेर उजुरी दिएका थिए । वार्षिक १० करोड बढी मुनाफा आर्जन गर्दै आइरहेको अल्कामा कुमार थापासँग सो शेयर संरचनामा बराबरी हैसियत र सञ्चालक समितिमा समान सुविधा माग्दै उनी त्रिपुरेश्वर बोकेर पुगेका हुन् । कम्पनी रजिष्ट्रारले अल्पमत शेयर धनीको पीरमर्का र गुनासो सुन्दै आएको छ । सोही उजुरीपछि कार्यालयले दुबै पक्षलाई गत बिहीवार छलफलका लागि डाकेकोमा रामेश्वरको तर्फबाट कोही उपस्थित भएनन । भोलिपल्ट दुवै पक्षलाई डाकियो । 

त्यसमा अल्काको तर्फबाट कुमार थापा, कम्पनी सचिव राजु थापा र वकिल विपिन सुवेदी पुगेका थिए भने रामेश्वरको तर्फबाट अल्का अस्पतालबारे खासै जानकारी नभएका वकिललाई पठाइएको थियो । ती वकिलले शेयर स्वामित्व र हैसियत बराबरी हुनुपर्ने जिकिर गरेर फर्किएका छन् । यी दुईबीचको लफडामा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रारले निर्णय केही निर्णय गरिसकेका छैनन् । 
 

टिप्पणीहरू