सिंहदरबार जलाइदिने बालेनको धम्कीप्रति मानव आधिकार आयोग चिन्तित

सिंहदरबार जलाइदिने बालेनको धम्कीप्रति मानव आधिकार आयोग चिन्तित
सुन्नुहोस्

मुलुकको जिम्मेवार पदमा रहेका व्यक्तिबाट अभिव्यक्त धारणा, आरोपप्रत्यारोप तथा आपराधिक घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता जनाएको छ । 

आयोगले काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत 'सिंहदरबारमा आगो लगाइदिन्छु' भनी लेखेको तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले 'कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु' भनेकोप्रति चिन्ता व्यक्त गरेको हो । त्यस्तै, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा सांघातिक आक्रमण भएको घटनालाई पनि आयोगले ध्यानाकर्षण गरेको जनाएको छ । 

जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा भएको दुर्व्यवहार तथा हेटौँडामा कार्यक्षेत्रमै चिकित्सक कुटिएको घटनाले चिन्तित बनाएको आयोगले बताएको छ । ताप्लेजुङमा कोशी प्रदेशसभा सदस्य खगेन सिंहाङ्गामले सुरक्षा निकायका प्रमुखलाई सार्वजनिक स्थलबाटै धम्की दिएकोलगायतका अन्य घटनाहरु पनि जानकारीमा आएको आयोगले जनाएको छ । 

आयोगका महासचिव एंव प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति सार्वजनिक गर्दै यस्ता आपराधिक र अराजक गतिविधिले अराजकतालाई प्रश्रय दिएको बताए । यस्ता घटनाले शान्तिसुरक्षामा समेत आँच पुग्न गई राज्य संयन्त्रप्रति नै अविश्वास पैदा भएको विज्ञप्तिमा जनाइएको छ । 

नेपालको संविधान र मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनहरुले अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको प्रत्याभूति गरेको भएतापनि अरुको मर्यादा र शान्ति सुरक्षामा आँच पुग्नसक्ने विषयलाई विशुद्ध विचार र अभिव्यक्ति स्वतन्त्रताको मात्र विषय मान्न नसकिने आयोगको भनाई छ । 

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले ध्यान पुर्याउनुपर्ने उल्लेख गर्दै आयोगले यसप्रकारका आपराधिक तथा अराजक गतिविधिमा संलग्न आरोपितलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । 

साथै, नेपालको संविधान, कानून र अन्तर्राष्ट्रिय मानव अधिकार कानूनविपरीत हिंसात्मक गतिविधि नगर्न, घृणाजन्य अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर एकअर्काप्रति मानव अधिकारमैत्री भाषा र व्यवहार प्रयोग गर्नसमेत अनुरोध गरिएको छ ।
 

टिप्पणीहरू