कतातिर हुनसक्छ कमरेडहरूको कित्ताकाट

कतातिर हुनसक्छ कमरेडहरूको कित्ताकाट

नयाँखाले शक्तिसंघर्षको चरणमा प्रवेश गरेको एमालेभित्र को, कहाँ र कति हावी हुने भन्ने कुराको हिसाब–किताब निकाल्न थालिएको छ । प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनीमा चुनावबाटै नेतृत्व चयन गर्नुपर्ने स्थितिले एमालेभित्र फाट्दै गएको धाँजालाई उदांगो मात्रै पारेको छैन, अब त्यही रोग बाँकी ६ प्रदेशका हकमा सर्ने हुँदा को–कसका हुन् भन्ने हिसाब निकाल्न थालिएको छ । यस्तो हुनुको कारण हो, पार्टी कमजोर हुँदै जानु । अब ओलीको मात्र एकोहोरो नाम भजाउँदा पाइने चिजहरू गुम्दै जाने स्थिति छ । त्यसैले विकल्पका रुपमा निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई अघि सार्दा केही होला कि भन्ने प्रवृत्ति एकातिर छ ।

अर्कातिर, ओली नेतृत्वलाई मनले स्वीकार नगर्दा नगर्दै पनि मुख र व्यवहारले ठिक्क पार्नु पर्ने स्थितिका थुप्रैै नेता–कार्यकर्तासामु विकल्पका रुपमा विद्या प्रकट हुँदा ओली अप्ठेरोमा पर्दैै जानुभएको छ । ती कुरालाई प्रदेश अधिवेशनका झाँकीले पुष्टि गर्न थालेका छन् । जस्तो– लुम्बिनीमा अहिलेका विद्यापक्षीय उपाध्यक्ष विष्णु पौडेलले खडा गरेका उम्मेदवार राधाकृष्ण कँडेलले ओलीपक्षीय महासचिव शंकर पोखरेलद्वारा खडा गरिएका हरि रिजाललाई दुई मतले हराए भने पदाधिकारी र सदस्यमा राधाकृष्ण पक्षकै बहुमत पुग्ने गरी परिणाम आएको छ । अब पालो छ, बागमती प्रदेशको । नुवाकोटका केशव पाण्डेलाई प्रदेश अध्यक्षका रुपमा केपीले अगाडि सार्न खोज्दा विद्यासुन्दर शाक्य, कृष्ण राईदेखि सुवास कर्माचार्यसम्मका विद्यापक्षीय नेताहरू भित्री तयारीमा जुटिसकेका छन् । कतिपय नेता ओली र विद्यामध्ये कताका हुन् भन्ने प्रतिनिधि छनौटका क्रममा हुने मतदानबाट खुल्ने भएका छन् । प्रदेश अध्यक्षको दावी गर्नेमा धादिङका भूमि त्रिपाठी, खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनका कृष्णभक्त पोखरेलसम्म छन् । भनिन्छ, खेम र कैलाशलाई ओलीले नै अध्यक्ष घोषणा गर्न लगाउनुभएको हो, केशव पाण्डे सर्वसम्मत हुने गरी पछाडि हटाउनका लागि ।

ओलीले केही समयअघि ठट्यौली पारामा शंकर र विष्णुबारे उनीहरूकै अगाडि टिप्पणी गर्दै भन्नुभएको थियो– विष्णुलाई उपाध्यक्ष बनाएको लेखपढ गर भन्नलाई हो । शंकरलाई महासचिव बनाएको लेख, पढ गरेको कारणले हो † उहाँको भनाइ थियो, ‘नत्र, विष्णुलाई नै महासचिव बनाइहाल्थेँ नि †’ अनि, पार्टीभित्र भिœयाइएका गलत मान्छेको कारण पनि ओली पक्षले लुम्बिनीमा मार खाएको भनिन्छ । गायिका कोमल वलीले लुम्बिनीमा डुबाइन् भनेर ओलीपक्षीय नेताहरूले सराप्न थालेका छन् । उनले आफ्ना दाइ यामिन्द्रलाई ओली, अर्थात् हरि रिजालको प्यानलमा राख्न लगाएकी थिइन् । तर, तुलसीपुर क्षेत्रबाट समेट्नैपर्ने थुप्रै भएपछि उनी प्यानलमा परेनन् । त्यसपछि राधाकृष्णको प्यानलमा राखेर आफैं भोट माग्न हिँडिन् । फलतः न यामिन्द्रले जिते, न त हरिले नै ।   

देशभरिको अवस्थालाई हेर्दा विद्या अगाडि आउँदा ओली पछाडि हट्नुपर्ने बाध्यता रहन्छ । किनभने, ओलीसँग बढीजसो मान्छे दिक्क भएका छन् । त्यस्तो अवस्थामा ओली पक्षका मान्छेहरू उहाँकै भक्तिगानमा लाग्छन् । थुप्रै एमालेले बुझेका छन्– देश र  पार्टीभित्र जुन राजनीतिक फ्रस्टेशन जाग्यो, त्यो ओलीका कारण हो । पार्टी फुट्यो, त्यो पनि उहाँकै हठले हो । गुटका हिसाबले पहिला शंकर विद्यापक्षीय थिए । तर, शंकर ओलीपछि ‘मेरै पालो हो’ भन्नेमा छन् । निर्णायक अवस्थामा पत्नी सुजिता शाक्यमार्फत विद्याले शंकरलाई गलाउनु होला, तर अहिले उनी ओलीकै ‘खास’ मा पर्छन् । ओलीमा अहिले पनि अहंकारले उत्तिकै घर गरेको पाइन्छ । लुम्बिनीको हकमा आफू नउठ भन्दाभन्दै उठेर हरि रिजाललाई हराएकै कारण जित्नेलाई उहाँले फेसबुकमै लेखेर बधाईसम्म पनि भन्नुभएको छैन । अर्थात्, पछिल्लो समयको एमालेभित्र ओलीले दिएको आदेश पालना नभएको यो पहिलो घटना हो । 

सबभन्दा रमाइलो त काठमाडौं उपत्यकामा देखिन्छ, जहाँ ओलीपक्ष कमजोर छ । काठमाडौंमा ओलीपक्षीय मुख्यमुख्य नेतामध्ये पार्टी जिम्मेवारीबाट रामवीर मानन्धर साइड लागिसके । केशव स्थापितले ‘छाड्छु–छाड्छु’ भनेर घुक्र्याइरहेका थिए । छाड्नुअघि नै कारवाही गरेर निकालियो । अब बाँकी विद्या पक्षीय छन् । पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठसहित जिल्ला अध्यक्ष दीपक निरौला, पूर्वअध्यक्ष तथा क्षेत्र नं. ३ का सांसद कृष्ण राई, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, पूर्वजिल्ला अध्यक्ष निर्मल कुइँकेल, बूढानीलकण्ठका मेयर मीठाराम अधिकारी, उपमेयर अनिता लामा, नागार्जुनकी उपमेयर सुशीला अधिकारी, पूर्व सांसद तथा काठमाडौं २ की केन्द्रीय सदस्य सरिता न्यौपाने, दिपा शर्माहरू विद्या पक्षका हुन् । ओलीपक्षका भनेर चिनिने केही स्थानीय नेता थिए, डल्लु, कुलेश्वर, क्षेत्रपाटीतिर । तीमध्ये विभिन्न चरणमा पार्टी छोड्दै एकीकृत समाजवादीमा प्रवेश गरिरहेका छन् ।

एक लट कार्यकर्ता उक्त पार्टीको केन्द्रीय कमिटी बैठक चल्दाचल्दै माधव नेपालको हातबाट टीका लगाउन ग्वार्को पुगे, अर्काथरिले मजदुर फाँटको कार्यक्रममा बागबजार पुगेर एमाले त्यागे । ललितपुरकी सुशीला नेपाल, भक्तपुरमा महेश बस्नेत, सोम मिश्र, चाँगुनारायणका उपमेयर रमेश बुढाथोकीहरू पनि विद्यापक्षीय हुन् । अहिले मौलाएको ओली–विद्या कित्ताबन्दी नयाँ होइन । स्थानीय चुनावमै त्यस्तो देखिएको थियो । जस्तो– काठमाडौंको मेयरमा ओलीको कोटाबाट केशव स्थापित उम्मेदवार हुँदा विद्यासुन्दर भोट माग्न हिँडेनन् । केशवले पनि विद्यासुन्दरलाई बोलाएनन् । चाँगुनारायणमा ओलीको कोटाबाट मेयर उम्मेदवार बनाइएकी बीना बास्तोलालाई एमालेहरूले नै हराए । पहिलाका मेयर सोमप्रसाद मिश्र १० बुँदे पक्षधर भएका कारण बीनालाई दिइयो । एमालेहरूले नै उनलाई हराएर उपमेयरचाहिँ रमेशलाई जिताए । शंकरापुर (साँखु) का एमालेहरूले ओलीका उम्मेदवारलाई जिताउनुभन्दा राप्रपालाई भोट खन्याउनु राम्रो मानेपछि फलतः त्यहाँ राप्रपाले नै मेयर जित्यो ।

काठमाडौं एमालेमा विकास भएको यस्तो अन्तद्र्वन्द्वले संगठनमा खिया लागेको छ । काठमाडौंको जनसंख्याको अनुपातमा पार्टी सदस्यकोे संख्या निराशलाग्दो छ । भएका थुप्रै सदस्यले पनि सदस्यता नवीकरण नगरिदिँदा अर्को समस्या देखिन्छ । त्यस्तै, अघिपछि गोकुल बाँस्कोटा र महेश बस्नेतको कुरा मिल्दैनथ्यो । तर, अहिले दुबैजना एकैतिर भएका छन् । महेशको दुःखेसो होे– आफ्नो नगरपालिकाभित्र बसेर पनि आफूले बालकोटमा एक्सेस नपाएको । गोकुल त पहिल्यैबाट विद्याका भइहाले । पूर्व प्रायः विद्याको कब्जामा छ । शेरधन सबभन्दा बलियो खम्बाका रुपमा रहेका छन् भने भीम आचार्य, भानुभक्त ढकाल, विनोद ढकालहरू प्नि उतैका मानिन्छन् ।
 

टिप्पणीहरू