सेनालाई जागिर खानभन्दा भाग्न पिरलो

सेनालाई जागिर खानभन्दा भाग्न पिरलो
सुन्नुहोस्

गत साउनदेखि विभिन्न मितिमा दर्जन बढी सैनिक भागेका छन् । घर विदामा छाडिएका र छुट्टी मागेर निस्किएका सैनिकहरू भागेपछि गण, गुल्म र प्रहरीलाई खोज्दैको सास्ती छ । 

तालिम सकिएपछि घर विदामा छाडिएका सिपाही सुमित थापामगर सम्पर्कविहीन छन् । समरसुर गुल्ममा कार्यरत उनी गरुडदल गणमा सञ्चालित बिल्लादार ग्रेड–३ तालिममा थिए । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३, बानियाँगाउँ बस्ने जयराम थापामगरका नाति एवं सुदर्शनका छोरा उनी साउन ३१ गते नै हाजिर हुनुपर्ने थियो । 

भदौ १ गतेसम्म हाजिर नभएपछि प्रहरीले उनलाई धुइँधुइँती खोजिरहेको छ । एक दिनका लागि छुट्टी मागेर व्यारेकबाट निस्किएका सिपाही अशोकबहादुर रोकापनि यसरी नै बेपत्ता भएका छन् । भदौ ११ गते दिउँसो ४ बजे हाजिर हुनुपर्ने उनी आफूखुशी भागेको बताइन्छ । 

नम्बर २३ बाहिनी अड्डामा कार्यरत उनी बाग्लुङ नगरपालिका–१३ का बासिन्दा नम्बर २ सैन्य तालिम केन्द्र, सैनामैना व्यारेक, रूपन्देहीमा कार्यरत कृष्ण अधिकारी पनि भागेका छन् । भदौ ११ गते दिँउसो ४ बजे उनी भागेको र नर्सिङ असिस्टेण्ट तथा स्टाफ नर्सको आँखा छलेर अर्का सैनिकसमेत अस्पतालबाट बेपत्ता भएको बुझिएको छ । नम्बर २ बाहिनी अड्डामा कार्यरत विवेक कार्कीलाई टाउकोको समस्या देखिएपछि भदौ ८ गते सैनिक अस्पताल, इटहरीमा भर्ना गरिएको थियो । उदयपुरको कटारी नगरपालिका–५ का उनी भदौ १२ गते साँझ ६ बजे कुरुवा खाना खान गएको मौका छोपेर भागेका हुन् । 

त्यस्तै, सोही अड्डाका रोजन तिम्सिना पनि भोजपुरको अरुण गाउँपालिका–३, विजयवास घर नगई भदौ १२ गते दिँउसो ४ बजे भागेको प्राप्त समाचारमा उल्लेख छ । भदौ ३ देखि सञ्चालन भइरहेको सि.सं. ७९ सैन्य आधार तालिमकै बीच रोहितकुमार साह र राजनकुमार राउन तारबार नाघेर भदौ ७ गते दिउँसो ४ बजे फरार भएपछि गणपति भीमसेनकुमार भण्डारीको पसिना छुटेको छ । 

अस्थायी व्याच नम्बर ४८०२६ भएका रोहित बाराको महागढीमाई नगरपालिका–११ बस्ने भोला साहका नाति एवं श्रीनिवासका छोरा हुन् ।१० दिनका लागि घर विदा मागेर निस्किएका अमल्दार कृष्णबहादुर कार्की रणभैरव गणबाट साउन ३० गते निस्किएको र दोलखाको भीमेश्वर नगरपालिका–११ स्थित घर पनि नपुगेको मेजर मल्लिकदार चौहानले बताए ।

भदौ ६ गते हाजिर हुनुपर्ने गनर लोकराज पन्त पनि सम्पर्कमा नआएको प्रहरीको भनाइ छ । जगदल गणमा कार्यरत उनी साउन २८ गतेदेखि घर विदामा थिए । डडेल्धुराको अजयमेरु गाउँपालिका–६ उनको स्थायी ठेगाना हो । 

केही सैनिक फिर्ता

सेनामा सैनिक भाग्ने लहर चलिरहँदा केही भने फर्किएका छन् । नयाँगोरख गणमा कार्यरत हरिबहादुर बिक भगौडामा जनिएको दुई सातापछि हाजिर हुन गएका छन् । लमजुङको कामिगाउँ बस्ने उनी मध्यपूर्वी पृतना हेडक्वार्टरमा तालिम लिँदै थिए । 

व्याच नम्बर २५३९११ भएका उनी साउन ३२ गते सम्पर्कमा आएको र कुचिकार शंकर दर्जीलाई भने होटलबाट पक्राउ गरिएको भरपर्दो सूचना प्राप्त भएको छ । ०७१ सालदेखि बेपत्ता कुचिकार दर्जी गत भदौ ७ गते प्युठानको स्थानीय होटलबाट समातिएका हुन् । बर्दबहादुर गणमा कार्यरत २०७१ भदौ १८ गतेदेखि असोज १ गतेसम्म घर विदामा थिए । नाम सिटरोल किताबबाट हटाइसकेकोमा उनी अचानक बिजुवारस्थित स्थानीय होटलमा भेटिएका हुन् । 

पेरिमिटर नाघेर भागेका सफाईकर्मी धनबहादुर सार्की अजयदल गुल्मबाट साउन १५ गते दिउँसो पौने ५ बजे भागेका थिए । नवलपरासीको बुलिङटार गाउँपालिकाका उनी भदौ ८ गते उपस्थित भएको पारिवारिक श्रोतले जनाएको छ ।
 

टिप्पणीहरू