विद्यालय बन्द नगर्न कांग्रेस महामन्त्रीको अपिल
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय बन्द नगर्न आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।
सरकारले हालै संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदामा थुप्रै सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले विद्यालय बन्दजस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरुप बदल्न शिक्षकहरुलाई आह्वान गरेका हुन् । उनले शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन सांसद्हरु प्रतिबद्ध रहेको पनि बताएका छन् ।
‘आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायतका असहमत पक्ष र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन हुनुपर्छ र त्यसका निम्ति हाम्रो सतत प्रयास र पहलकदमी रहनेछ । शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानुन बनाउन हामी पूर्ण प्रतिबद्ध छौं र रहनेछौं’, थापाले भनेका छन् ।
त्यस्तै, संसद्मा आएको उक्त विधेयकलाई अगाडि बढाउन र रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न सबै पक्षसँग थापाको अपिल छ ।
उक्त विधेयकविरुद्ध शिक्षकहरुको आन्दोलनको आज दोस्रो दिन आज पनि जारी छ । उनीहरुले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म आएर कोणसभा गर्ने जनाएका छन् । आन्दोलनका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
मुलुकभरका एक लाखभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी छन् । शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
टिप्पणीहरू