रविविरुद्ध तीन अभियोग, सवा अर्ब बिगो

रविविरुद्ध तीन अभियोग, सवा अर्ब बिगो
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिँदै छ ।

जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायरको तयारी पूरा गरेको बताइन्छ । झण्डै सवा अर्बको बिगो दाबी गर्न लागिएको उक्त मुद्दामा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाईंदै छ ।
 
दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका रविविरुद्ध मुद्दा दर्ता गरेपछि  भोलिदेखि बयान र त्यसपछि थुनछेक बहस हुने जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध अस्ति मुद्दा दर्ता भइसकेको छ । लामिछाने र नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीविरुद्धको मुद्दा आज दर्ता हुँदै छ । 

उनीहरुविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा पुर्याएर अपचलन गरेको आरोप अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाई छ ।

टिप्पणीहरू