एअरपोर्टबाट पहिले हटाउने,अहिले फेरि भर्याङ्गमुनि खटाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भित्री भागबाट यसअघि हटाइएको नेपाल प्रहरीको एउटा टोली पुनः परिचालित भएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीलाई लामो समयपछि विमानस्थलमा परिचालन ल्याइएको छ ।
प्रस्थान कक्षको चेक इन ‘बी’ तर्फ गेट नजिक यात्रुहरुको कागजात जाँच्ने कार्यमा संलग्न उक्त टोलीमाथि विभिन्न आरोप लागेसङ्गै हटाइएको थियो । उनीहरुले यात्रुको कागजात चेक जाँच गर्ने क्रममा हैरानी दिएको गुनासो बाहिर आएपछि त्यहाँबाट हटाइएको भनिएको थियो ।
कतिपय यात्रुलाई चेकइन काउन्टर र अध्यागमनसम्मको पहुँचबाट वञ्चित गराइएको चर्को आरोप पनि उनीहरूमाथि लागेकै थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारीलाई मात्रै यात्रुको कागजात चेकजाँच गर्न पाउने अधिकार भएको बताइएपछि विमानस्थलका अध्यागमन कर्मचारी र प्रहरीबीच ठूलै टसल भएकै हो ।
अध्यागमनका कर्मचारीले त्यतिबेलै प्रहरी टोलीले कागजात चेकजाँच गर्ने क्रममा दुःख दिएको,रकम असुलेको आरोप लगाएका थिए । सोही आरोपमा उक्त व्यूरोको डेस्कलाई प्रस्थानकक्षबाट हटाइएको थियो । तर,अहिले ब्यूरोलाई चेक इन काउण्टरबाट अध्यागमनतर्फ प्रस्थान गर्ने स्केलेटर नजिकै दुई वटा कक्षमा रहेर काम गर्न अनुमति दिइएको छ ।
प्रहरीको मानव बेचबिखन ब्यूरोले निरीक्षक सुदन केसीको नेतृत्वमा सात सदस्यीय टोली खटाएको छ । टोलीमा वरिष्ठ नायव निरीक्षक एक जना,नायव निरीक्षक दुई जना,हवल्दार एक र प्रहरी सहायक हवल्दार दुई जना रहेको बुझिएको छ ।
टिप्पणीहरू