डेढ अर्ब बिगोमध्ये थुनिएका क- कसको भागमा कति ?
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरेर ४४ जनाविरुद्ध दायर मुद्दामा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
जिल्ला अदालत कास्कीमा आज दायर भएको मुद्दामा गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी,कर्मचारी लीला पछाई र रामबहादुर खनाललाई सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाइएको छ । सहकारी ठगीमा ३१ जनालाई नै प्रतिवादी बनाइएको छ भने १९ जनाविरुद्ध सङ्गठित अपराध अभियोग लगाइएको छ ।
अस्ति शुक्रबार दायर अभियोगपत्रपछि आज पूरक अभियोगपत्र दर्ता गरिएको बुझिएको छ । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँको मागदाबी गरिएको छ । जोशीविरुद्ध ७४ करोड ३४ लाख सात हजार एक सय ५५ रुपैयाँ बिगो कायम गरिएको छ ।
उनीहरुलाई सहकारी ठगीमा चारदेखि छ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत कैद र सजाय एवम् सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद मागदावी गरिएको छ ।
टिप्पणीहरू