विद्यालय बन्द गर्ने शिक्षकहरुको आन्दोलनमा एमाले निकट विद्यार्थीहरुको समर्थन
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले शिक्षक आन्दोलनको समर्थन गरेको छ ।
सरकारले सरोकारवालासँग परामर्श नगरी एकपक्षीय ढंगले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संसदमा दर्ता गराएको भन्दै अनेरास्ववियुले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । आज विज्ञप्ति जारी गर्दै अध्यक्ष समिक बडालले शिक्षक महासंघले अघि सारेका जायज मागहरु सम्बोधन गरी पठनपाठन सुचारु गर्ने वातावरण मिलाउन माग गरेका छन् ।
सरकारको अकर्मण्यताले शिक्षकहरु आन्दोलनमा उत्रनुपर्ने परिस्थिति बनेको आरोप लगाउँदै अनेरास्ववियुले सरोकारवालाहरुको ध्यानाकर्षणसमेत गराएको छ ।
‘विद्यालय शिक्षा विधेयक, २०८० नेपालको शिक्षा प्रणालीको लागि दीर्घकालीन महत्वको विषय भएको हुनाले बहुपक्षीय छलफल तथा परामर्श गरी समाधान निकाल्नेतर्फ प्रक्रिया अगाडि बढाउन र आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सम्बोधन गरी पठनपाठन सुचारु गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु सरकारसमक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
टिप्पणीहरू