झोला किन्न नसक्दा टाउकोमै किताब
गरिबीका कारण धादिङको महाभारत श्रृंखला क्षेत्रका विद्यार्थी टाउकोमै किताब–कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा यस्तो अवस्था आइलागेको हो ।
गजुरी गाउँपालिका–४ को गैरीगाउँ माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीसँग किताब–कापी बोक्ने झोला छैन । जसकारण सानादेखि ठूला अधिकांश विद्यार्थी किताब कापी प्रायः टाउको र हातमै बोकेर विद्यालय जाने/आउने गर्छन् । स्थानीय शिक्षिका निरु चेपाङ भन्छिन्–‘अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीलाई किताब बोक्ने झोला किनिदिन सक्दैनन्, सधैँ हात र टाउकोमा किताब कापी बोकेर पढ्न स्कूल आउनु यहाँका विद्यार्थीको बाध्यता हो ।’
दिनहुँ यसरी झोलाबिना किताब कापी बोक्दा च्यात्तिने, हिलो धुलोमा खस्ने समस्याले विद्यार्थी आजित छन् । पैसा नहुँदा आफूहरूले झोला किन्न नसकेको कक्षा सातमा अध्ययनरत विद्यार्थी सुविना चेपाङले बताइन् । ‘घरमा झोला छैन, दुई वर्षअघि डोको बेचेर किनेको एउटा झोला ६ महिनामै च्यातियो, फेरि किन्ने पैसा छैन’, सुविनाले भनिन्, ‘किताब कापी बोकेर दिनमा दुई घण्टा ओरालो–उकालो हिँड्नुपर्छ, वर्षमा दुई वटा झोला किन्न सक्ने अवस्थै छैन त्यसैले प्रायः सबैले टाउको र हातमै किताब बोक्छन् ।’
नेवारबासका विद्यार्थीलाई घरबाट विद्यालय पुग्न एक घण्टा ओरालो झर्नुपर्छ । विद्यालयबाट उकालो हिँडेर घर पुग्न अझ बढी समय लाग्छ । ‘ओरालो उकालो बाटो किताब कापी जोगाएर बोक्न साह्रै गाह्रो हुन्छ, झोला भए सजिलो हुन्थ्यो, झोला किन्न बुबा–आमासँग पनि पैसा छैन’, सुविनाले सुनाइन् ।
गजुरी गाउँपालिका–५ को डोलभञ्ज्याङ माध्यमिक विद्यालयसहित महाभारत श्रृंखला क्षेत्रका अधिकांश विद्यार्थीले टाउकोमै किताब बोक्छन् । कतिपय अविभावकको घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले चप्पलसमेत किन्न नसक्ने भएकाले विद्यार्थी खाली खुट्टै विद्यालय आउने गरेको स्थानीय अगुवा प्रमोद रूपाखेतीको भनाइ छ ।
टिप्पणीहरू