अनि जाँदैन यात्रुको ज्यान, खस्दैन गाडी ?

अनि जाँदैन यात्रुको ज्यान, खस्दैन गाडी ?

दिनहुँ यात्रु ओसारपसार गर्ने अधिकांश सवारी चालकमा स्वास्थ्य समस्या भेटिएको छ । अधिकांशमा उच्च रक्तचाप र सुगर छ । कतिपयको त आँखाको कलरभिजन नै कमजोर छ । दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले गरेको स्वास्थ्य परीक्षणमा यस्तो समस्या देखिएको हो । 

धादिङबाट काठमाडौं, चितवन, पोखरालगायत जिल्लामा चल्ने यात्रुवाहक सवारी र ट्रकका ९२ जना चालकको परीक्षणगर्दा ३२ जनाको रक्तचाप १३० भन्दा माथि पाइएको छ । १९ जनामा १२० परडिएलभन्दा माथि सुगर भेटिएको छ । बिहान खानाभन्दा अगाडि नै गरिएको चेकजाँचमा पनि यतिधेरैमा समस्या देखिनुले चालकको अवस्था डरलाग्दो भएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

सामान्य अवस्थामा स्वस्थ मानिसको रक्तचाप माथि १२० र तल ८० हुनुपर्छ । खाली पेटमा जाँच गर्दा सुगर ६० देखि ११० परडिएललाई सामान्य मानिन्छ । तर, स्वास्थ्य परीक्षण गर्दा ३० प्रतिशत चालकको रक्तचाप उच्चतम १३० देखि १७० सम्म (माथि) भेटिएको छ । एक सय ८५ जना चालकको आँखा परीक्षणमा पाँच जनाको आँखाको कलर भिजन कमजोर पाइयो । 

केही दिनअघि पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङको मझिमटारमा गरिएको स्वास्थ्य परीक्षणमा भने चार जना चालक अस्पताल भर्ना गरेरै उपचार गर्नुपर्ने अवस्थाका भेटिएका थिए । नेपालगञ्जका ३९ वर्षीय रवि परियारको रक्तचाप २१०/१५० थियो । धादिङका ३६ वर्षीय शिव कुँवरको १९०/१३० रहेको पाइयो । त्यस्तै तनहुँका ४५ वर्षीय प्रेम आलेको २२०/१२० र धादिङका ३७ वर्षीय सुजित राईको २१०/१५० रक्तचाप देखियो । ३३१ परडिएल सुगर रहेका बिरामी चालक पनि यहीं भेटिए । स्वास्थ्यकर्मीका अनुसार यतिसम्म उच्च रक्तचाप भएका बिरामीलाई अस्पतामा भर्नै गरेर उपचार गराउनुपर्छ । कुनै पनि अवस्थामा अपरझट आफैँ ढल्न सक्छ । तर, त्यस्तै चालकले यात्रु बोकेर निर्वाध कुदिरहेका छन् ।

स्वास्थ्य परीक्षणमा सहभागी स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ ल्याब असिस्टेन्ट जुनु श्रेष्ठ भन्छिन्, ‘रक्तचाप २२०/१२० हुनु भनेको तुरुन्तै औषधि चलाउनुपर्ने खालको बिरामी हो । टाउकोमा रक्तनली फुट्ने, रगतको ढिका जम्नेजस्ता समस्या आई ब्रेन ह्यामरेज हुन सक्छ ।’
सुगर ३१३ पर डिएल भनेको धेरै हो । तत्काल रगत जाँच गरी उपचार गर्नुपर्छ । खाली पेटमा १२० र खाना खाएको दुई घण्टापछि १४० पर डिएलभन्दा बढी आयो भने बिरामीको अवस्था हेरेर चिकित्सकको सल्लाहअनुसार उपचार तथा औषधि सेवन गर्नुपर्ने श्रेष्ठको भनाइ छ । लामो दूरीमा चल्ने रात्रिकालीन सेवाका सवारी चालकमा अझ बढी स्वास्थ्य समस्या रहेको जिल्ला ट्राफिक गजुरीका निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए । 

धादिङमा दुई ठूला पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ छन् । राजमार्गमा दिनहुँजस्तो सवारी दुर्घटना हुन्छन् । सडक, सवारी साधन, चालकको लापरबाही र कमजोरी तथा अन्य कारण मानिसले अकालमै ज्यान गुमाइरहेका छन् । तर, चालकले आफ्नै स्वास्थ्यको समेत ध्यान दिन नसक्दा यात्रुलगायत अरुलाई समेत जोखिम थपेको छ । प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुकसँगै स्वास्थ्य अवस्थाबारे पनि सोधपुछ गर्ने कुरालाई निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ ।
 

टिप्पणीहरू