जीवनमा सुवास नेम्वाङका यी दुई गुनासो

जीवनमा सुवास नेम्वाङका यी दुई गुनासो

राजनीतिमा लागेपछि कहिल्यै पछि फर्केर हेर्नुपरेन सुवासचन्द्र नेम्वाङले । नेपाली राजनीतिमा सहकार्य, सहमतिको मानक शालिन र भद्र नेताको महाप्रस्थान पनि राजनीतिक ग्राफ उकालो लागिरहेका बेला त्यसरी नै शान्त ढंगले भयो । भदौ २६ गते हृदयाघातका कारण नेम्वाङको निधनले मुुलुकलाई नै शोकमा डुबायो । जति पटक निर्वाचनमा होमिए पनि फूलमाला र अबिर पहिर्‍याएर​​​ पठाएका इलामे भने एक असल अभिभावक गुमाएको पीडाले रन्थनिइरहेका छन् । 

नेम्वाङको निधनमा मुलुक नै शोकाकूल बन्नुमा उनले मुलुकका लागि गरेको योगदान र सबै दलका सबै नेतासँगको सहकार्य नै हो । शालिन, भद्र र वौद्धिक नेताको छवि बनाएका नेम्वाङ कुनै दल विशेषको भन्दा पनि साझा नेताको रूपमा स्वीकार्य थिए । यसर्थ उनको विकासे नेताको छवि भने ओझेलमा परेको छ । ०५६ सालको निर्वाचनमा इलामको कर्णाली भनेर चिनिने पश्चिमी क्षेत्रलाई रोजे ।

जतिखेर उनी त्यो क्षेत्रमा निर्वाचन लड्न जाँदै थिए, त्यो बेला एउटा बिजुलीको बल्बसमेत कहींकतै झुण्डिएको थिएन । नेम्वाङले केही नगरेको आक्षेप लगाउनेहरूसँग उनी गुनासो गर्ने गर्थे, ‘त्यस्तो अवस्थाबाट यो अवस्थामा ल्याउनका लागि कति पहलकदमी गरें हुँला ?’ हुन पनि विकासको हिसाबले विगतको तुलनामा जिल्लाको पश्चिमी क्षेत्र निकै अघि छ । तुलनात्मक रूपले दुर्गम मानिने यस क्षेत्रमा ठूला सडक योजना सञ्चालित छन् । केही भने सम्पन्न भइसकेका छन् । 

नेम्वाङ फरक विचार राख्ने र आफ्नो आलोचकप्रति नरम त थिए नै, निर्वाचनमा होमिएको बेला आफ्नो प्रतिद्वन्द्वीलाई समेत कहिल्यै आलोचना गर्थेनन् । अरुको आलोचना गर्न रुचि नदेखाउने उनी आफैंले गरेको कामको जस लिने कुरामा पनि खास जाँगर चलाउँदैन थिए । इलाम निर्वाचन क्षेत्र नं. २ बाट निरन्तर निर्वाचन जित्दै आएका उनले ठुल्ठूला विकासे योजना भिœयाएका थिए । आफ्नै पहलमा योजना ल्याए पनि जस लिनका लागि शिलान्यास र उद्घाटनमा खासै रुचि नदेखाउने उनीप्रति केही व्यक्तिले विकास निर्माणमा चासो नलिएको मात्र होइन, केही नगरेकोसम्म आरोप लगाउने गरेका थिए । यस्तो बेला उनले आफूले गरेको काम पार्टीले तल्लो तहसम्म प्रचार नगरेको भनी गुनासो गर्थे । ‘मैले गरेको काम पार्टीले गरेको हो, यसैले पार्टीले सर्वसाधारणलाई बुझाउन सक्नु पथ्र्यो,’ उनी गुनासो गर्थे ।

नेम्वाङको पार्टीसँग अर्को एउटा ठूलो गुनासो थियो, एमालेले संविधान निर्माणको अपनत्व ग्रहण गर्न कञ्जुस्याइँ ग¥यो । २०७२ साल असोज ३ गते संविधान जारी हुँदै गर्दा देशी विदेशीको दबाव र प्रभाव थेगिनसक्नु थियो । तत्कालीन राष्ट्रपति डा.रामवरण यादव स्वयं पनि तत्काल संविधान जारी गर्ने पक्षमा थिएनन् । संविधान जारी गर्नका लागि संविधानसभा अध्यक्षको हैसियतले राष्ट्रपति यादवलाई निम्तो दिन जाँदा सकारात्मक जवाफ नपाएपछि संविधान, संविधानसभाका अध्यक्षले जारी गर्न सक्ने कानुनी प्रावधान सुनाएर, संविधानसभामा यहाँलाई स्वागत गर्नेछु भनी फर्केका थिए । नेम्वाङले सुनाउने गर्थे, ‘यसरी छुट्टिएका थियौं हामी, अन्ततः राष्ट्रपति आए र संविधान जारी भयो ।’

आफूले संविधान जारी नगर्न आएको दबाव र प्रभावलाई पर्वाह नगरी समन्वय र सहकार्य गर्दै आफ्नो नेतृत्वमा जारी भएको संविधान निर्माणको अपनत्व ग्रहण गर्न एमालेले कञ्जुस्याइँ गरेको उनको गुनासो थियो । आफ्नो नेतृत्वमा संविधान निर्माण भएकाले एमालेले त्यसको प्रचारसँगै संविधान दिवसमा उत्सव मनाओस् भन्ने चाहन्थे नेम्वाङ ।

योजना हेर्ने अधुरो सपना 

नेम्वाङ कानुन र संविधानको ज्ञाता मात्र होइन, विकास निर्माणको हिसाबले पनि उत्तिकै दूरदर्शी थिए । नेम्वाङकै अगुवाइमा विद्युतीय मार्ग निर्माण भयो । यसले गर्दा पूर्वी पहाडी जिल्लामा विद्युत् उत्पादन गृह च्याउ सरी निर्माण भए । भइरहेका छन् । इलामको धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीलाई रामसार क्षेत्रमा सूचीकृत गराउनका लागि उनको भूमिका रह्यो । इलामको पश्चिमी क्षेत्रसँगै पाँचथर जिल्लालाई समेत लाभान्वित हुने दमक रवि सडक, राँके रवि भेडेटार अर्बौंको सडक निर्माणका लागि पहलकदमी लिए । ठेकेदारले सोचेजसरी काम गरेनन् । यसरी नै नेम्वाङकै पहलमा इलाम र झापा फास्ट ट्रयाक, बेलासे मार्गको काम ५५ करोडभन्दा बढीमा ठेक्का लागे पनि काम ढिलाइ हुँदा यी योजना सम्पन्न गर्ने सपना भने अधुरै रह्यो ।

टिप्पणीहरू