क्रमशः हामी कहाँ गइरहेका छौँ ?

क्रमशः हामी कहाँ गइरहेका छौँ ?
सुन्नुहोस्

बिहानीको शीतको थोपा, कृष्ण कृष्ण भन्छ

राजै श्याम श्याम भन्छ

तर यो कलिकालमा राम बोल्यो मैनाले, मान्छेले बोल्दैन (राजु अधिकारी)

पत्रिका हेर्दा, पढ्दा हरेक दिन स्थानीय तहका एक न एक प्रशासकीय अधिकृत वा कर्मचारीमाथि उपभोक्ता वा सेवाग्राही वा ठेकेदारहरूसँग घुस लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेकै हुन्छ । तीनै तहका प्रमुख वा उपप्रमुख पनि भ्रष्टाचार वा अनियमितता केसमा परी बेपत्ता भएका हुन्छन् । जनप्रतिनिधि नै हत्या, हिंसाका केसमा मुद्दा परी हिरासतमा लिइँदै छन्, कतिपय फरार छन् । महोत्तरीका लक्ष्मी कोइरी, रौतहटका मोहम्मद आलम मात्र होइन, मुलुककै राजनीतिक खेलाडी विजयकुमार गच्छदार पनि त्यस्तै मुद्दा झेलिरहेका हुन्छन् । 

बाटामा हिँडिरहेकाहरूको गहना वा अन्य सामान चोर्ने घटना त बाबुले छोरीलाई बलात्कार वा यौनशोषण गर्ने, पैसाका लागि छोरा । नातिले बाबु वा आमा वा हजुरबा, हजुरआमा मार्ने घटनाका अगाडि बाउन्ने हुन थाले । एक्लै हिँडेका अवस्थामा वा मेलापर्वमा रमाउँदै गरेका बालिका, किशोरी, महिला पनि बलात्कारका सिकार हुन लागे । विदेशका नर्ककुण्डमा आफ्नै चेलीबेटीलाई बेच्नेहरू त धेरैअघिदेखि नै सक्रिय थिए र अझै छन् ।

मानिसमा सहनशीलता घट्दै शून्य हुन थाल्यो र एकै छिनको आवेगमा अर्कामाथि हतियार उज्याई प्रहार गर्ने त कति कति ? पूर्वतिर पहिले पहिले चार आमल काटेको ख्याल ख्याल भन्थे । अब सार्वजनिकस्थलमा कसैले आफ्नो विचार वा सोचाइविरुद्ध राजनीतिकर्मीमाथि हत्या गर्ने नियतले नै खुकुरी छप्काउने घटना भर्खरै राजधानीमा भएको छ । त्यसअघि महानगरपालिकाका पिताले पत्नी प्रकरणमा सङ्घीय सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउनेसम्मको धम्की दिए । धरानमा आफूलाई प्रश्न सोध्नेविरुद्ध त्यहाँका अर्का नगरपिताले एक सर्वसाधारणलाई प्रहरीद्वारा पक्राउन लगाए । 

कलाकार, पत्रकार, किशोरकिशोरीहरू ब्रेकअप भई डिप्रेसनमा परेर आत्महत्यातर्फ प्रवृत्त हुँदै छन् । छिमेकी भारतमा ऋणको पासामा परेका किसानहरूले आत्महत्या गरेका समाचारहरू आइरहेका बेला यहाँ पनि भूकम्प वा महामारी वा आर्थिक शिथिलताले बिजनेस घाटामा परी त्यस्तो मृत्यु रोज्न व्यापारीहरू पनि उद्यत हुन थाले । 

सडकमा एक सवारी साधनले अर्कालाई अलिकति छोयो भने मात्र पनि दुवै चालक ओर्लेर सडकमा बाझाबाझ गर्ने तथा एकले अर्कालाई पैसा तिराउने प्रवृत्ति पनि त्यत्तिकै छ । भर्खरै सर्लाहीको मलङ्गवामा कृष्णको मूर्ति सेलाउने विवादमा पनि झडप भई कफ्र्यु नै लगाउनुपर्‍याे। त्यस्तै घटना केही वर्षअघि कपिलवस्तुमा भयो जहाँ दुर्गाको मूर्ति सेलाउन जाने बाटाका विषयमा हिंसा भड्केको थियो । धरानमा भर्खरै गोरुको मासु काटेर खाएको घटनाले झण्डै ठूलो हिंसाको वारदात हुन थालेको थियो । पहिचानवादी र अपहिचानवादी प्रदेशसभा सदस्यबीच मतदान हुँदा कोशी प्रदेश नाम चाहनेका पक्षमा बहुमत पुगेपछि पहिचानवादी मर्माहित भए ।

यसबाट पूर्व क्षेत्रमा महिनौँ दिनसम्म नै आन्दोलन चलिरहेको छ र एकले अर्कालाई बहिष्कार गर्ने, जमिनमै टेक्न नदिने घटना भई त्यसैको रापतापले प्रदेश सरकारका मुख्यमन्त्री नै फेरिरहने काम भइरहेको छ । त्यसो त एकले अर्कालाई नसहने वा अहं प्रवृत्तिले संसद् अधिवेशनका बैठक नै लामो समयसम्म अवरुद्ध भई थुप्रै महत्त्वपूर्ण विधेयक थन्केर बसेका छन् । आफूभन्दा फरक खालकासँग समझदारीको अभाव, डर तथा एकापसमा विश्वासको कमीले सहिष्णु व्यवहार घट्दै छ । रुढिवादिता, मिथ्या सूचना, साँघुरो मानसिकता पनि अहिष्णुताका कारण हुन् । यसले मानिसमा समानता, विभेदरहितता, स्वतन्त्रता र अन्य सामाजिक अधिकार प्रयोग गर्न दिँदैन । जात, संस्कृति, लैंगिक, धर्म र अन्य सहन नसकिने भइरहेका अभ्यासले पनि असहिष्णुता जन्माइरहेको छ । 

यस्ता प्रवृत्ति र अभ्यास त ‘महाभारत’, ‘रामायण’ लगायत धर्मग्रन्थबाट पो मानिसले सिके कि ? जर्मनीका शासक हिटलर ‘गीता’ बाट प्रेरित भई युद्धपिपासु बनेको कुरा विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो ‘हिटलर र युद्ध’ उपन्यासमा देखाएका छन् । ‘गीता’मा कृष्णले अर्जुनलाई युद्ध गर्न प्रेरित गरेको कुराले आफूलाई छोएको भन्ने भनाइ हिटलर पाइएको उपन्यासमा देखाइएको छ । दुर्याेधनको अभिमान र द्रौपदीको बदलाको भावनाले महाभारत युद्ध नै चल्यो । ‘रामायण’ मा पनि रामले थुपै्र राक्षसहरू मारेको र अन्त्यमा युद्धबाट नै रावणलाई पराजित गरेकाले त्यही सिको सिक्दै मानिस आफ्नो कथित गर्वले उत्तेजित भएर पनि युद्धकर्म, झगडा, लडाइँमा लागे कि ? तत्कालीन नेकपा (माओवादी) को जनयुद्ध र मधेसवादी दलहरूले गरेको आन्दोलन, पृथकतावादीको अभियान धार्मिक ग्रन्थ र तिनमा लेखिएका अनेक पुराण कथाअन्तर्गत रहेका बदला र अभिमानका भावनाका प्रसंगले पनि मानिसले अर्काप्रति वैरत्व राख्ने गर्छ कि ?

बुद्ध, गान्धी, महावीरलगायत अनेक ऋषि, सन्त, स्वामीहरू जन्मिरहेका छन्, नैतिकता र सत्कर्मका उपदेश दिइरहेका छन् । तैपनि हत्याहिंसा बढ्दो नै छ, किन ? साहित्यकार तथा पत्रकार रत्ननिधि शुक्राचार्य भन्थे, ‘शान्ति र अहिंसाका कुरा पनि चल्दै जान्छ, अपराधकर्म र मानवविरोधी पनि हुँदै गर्छ, बुद्ध र गान्धीका उपदेश नहुँदो हो त यसभन्दा अझ बढी उपद्रव हुन्थे होलान् ।’ अब त समाजले मानेका अनेक स्वामी, पुजारी, गुरु, नवबुद्ध भनिएकाहरू नै बलात्कार, यौनहिंसा, शोषणमा लागेका केसहरू देखिँदै, सुनिँदै आएका छन् । कलि लागेको भन्छन् मानिसहरू । पशुपतिनाथका विरूपाक्षलाई जति पानी दिए पनि माथि उठ्न सकेको छैन । अदालतहरू पनि त्यस्तै कुकर्मीहरूलाई पो जिताउन लागेका थुप्रै उदाहरण छन् । साँच्चै हामी कता गइरहेका छौँ हँ ?
 

टिप्पणीहरू