मुलुकमा न्याय मरेको एमाले अध्यक्षको ठहर

मुलुकमा न्याय मरेको एमाले अध्यक्षको ठहर
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ । उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छाडेकोप्रति आपत्ति जनाउनुभएको हो । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको उल्लेख गर्दै भन्नुभयो, ‘बरु हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरिएको छ । यो देशमा न्याय छैन की यही हो न्याय ?’ 

मुस्कान खातुनमाथि एसिड छर्नेलाई उनको घाउ निको नहुँदै छाडिएको  ओलीले उल्लेख गर्नुभयो । ‘अहिले उनी रोएर हिँडेकी छन्’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले उनको उपचार गराइरहेको छैन । एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रबन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानून ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभुति गरेका थिए । उनीहरुलाई सरकारले अस्ति छाडिदियो ।’ 

अदालतले १० वर्ष कैद फैसला गरेको व्यक्तिलाई एउटा निहुँ पारेर छाडिएकोमा उहाँले आपत्ति जनाउनुभएको हो । ‘कानुन नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ ?’ उहाँको प्रश्न छ ।
 

टिप्पणीहरू