कार्ड सकिएपछि स्मार्ट लाइसेन्सको छपाइ रोकियो

कार्ड सकिएपछि स्मार्ट लाइसेन्सको छपाइ रोकियो
सुन्नुहोस्

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको छपाइ रोकेको छ । कार्ड सकिएपछि विभागले आकस्मिकबाहेकको छपाइ रोकेको हो । 

गत एक महिनादेखि स्मार्ट लाइसेन्सको छपाइ ठप्प भएको विभागले जनाएको छ । कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइसकेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । केही दिनमै कार्ड आउने र छपाइ थालिने उनले जानकारी दिए । 

‘विभागले अहिले आकस्मिकबाहेकको छपाइ रोकेको छ । थप कार्ड खरिदका लागि प्रक्रिया अघि बढिसकेको छ । कार्ड आउनेबित्तिकै छपाइ थाल्छौं’, उनले भने । 

नियमित रुपमा हुने छपाइ रोकिएपछि विभागलाई चाप परेको छ । छाप्नुपर्ने लाइसेन्सको संख्या बढिरहेको छ । पहिलो चरणमा ६ लाख कार्ड आउन लागेको विभागले जनाएको छ । 

चालकलाई सहज बनाउन भनि शुरु गरिएको स्मार्ट लाइसेन्सबारे सेवाग्राहीहरुको व्यापक गुनासो छ । कहिले मेसिन बिग्रिएर त कहिले कार्ड सकिएर सेवाग्राहीले दुःख पाउँदै आएका छन् । 

स्मार्ट लाइसेन्स लागू गरेको लामो समय बितिसक्दासमेत सरकारले सेवालाई प्रभावकारी बनाउन नसकेको सेवाग्राहीहरुको गुनासो छ ।

टिप्पणीहरू