के हुन्थ्यो सुभाष नबितेको र विद्या खुलेको भए...

के हुन्थ्यो सुभाष नबितेको र विद्या खुलेको भए...

एमालेभित्र हुर्किंदै गएको एउटा ‘दुःख’ छ, नयाँखाले गुटबन्दीको । तिनै ‘दुःख’ भित्र पनि अनेकन ‘उपकथा’ गाँसिँदै छन् । 

अध्यक्ष केपी ओलीको चाहनामुताविक बागमतीपछि कोशी प्रदेशले मात्रै अध्यक्ष पायो । त्यो पनि अर्को पक्ष कमजोर नै भएर हैन, केही प्राविधिक उल्झन मिलाउन नसक्दा । त्यसमध्ये कोशी प्रदेशका बलिया दावेदार मानिने विनोद ढकालको पराजयसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङको देहान्तको दुःखद् साइनो छ । त्यसो त सिंगो एमालेभित्र विकास भइरहेको अहिलेको प्रतिस्पर्धा पार्टीभित्र एकल नायकत्वविरुद्ध र अध्यक्ष ओलीको आदेश–निर्देशविपरीत पनि पार्टी चल्छ भन्ने कुरा स्थापित गराउने सन्दर्भसँग गाँसिएको छ ।

सुवासले समन्वयकारी तवरबाट जसरी पार्टीले बिराएका थुप्रै राजनीतिक र संवैधानिक विषयलाई ठीक बाटोमा ल्याउने गरी भित्री तयारी गर्दै थिए, त्यसका पक्षधरमध्ये हुन्, विनोद ढकालहरू । भित्री रूपमा पार्टी सही दिशामा जाओस्, छोडेर गएका मान्छेहरू फिर्ता होउन् र एमालेको विरासत पुरानै ठाउँमा रहोस् भन्ने सदाशयतापूर्ण परिचालनमा सुवास भित्रभित्रै लाग्दा विनोदहरू विभिन्न प्रदेशको नेतृत्व गर्न तम्सिएका थिए । विशेषतः विनोदकै पराजयचाहिँ सुवासको निधनबाट प्रत्यक्षतः प्रभावित भयो । सुवास भएको भए विनोदलाई इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुमको मत सर्लक्क पर्ने थियो । विनोदप्रति पूर्वराष्ट्रपति विद्या भण्डारीको पूर्णतः सहानुभूति हुँदाहुँदै पनि उहाँ खुल्ने र मत प्रभावित पार्ने स्थिति थिएन ।

सुवास हुँदा खुलेर सहयोग गर्न सक्ने वसन्त नेम्वाङलाई नैतिक संकट परेको थियो, बालकोटबाट छिनछिनमा आउने फोनका कारण । यद्यपि, मोरङकी शिवमाया तुम्बाहाङफेदेखि ताप्लेजुङका क्षितिज थेवेसम्मका ‘लिम्बू’ ले सुवास सम्झिएरै विनोदलाई भित्री रूपमा साथ त दिए । तर, खुल्न नसक्दा विनोदलाई घाटा भयो । भन्न मिल्ने जति र सोधेकाजतिलाई विद्याले पनि विनोदकै नाम लिनुभएको थियो । त्यसैले उनले जति भोट पाए, त्यसलाई पनि धेरै मान्नुपर्ने हुन्छ । 

व्यक्तिगत रूपमा राम्रो सम्बन्ध नहुँदा पनि शेरधन राईले विनोदका लागि भोट मागेजस्तो गरे । शेरधन र विनोदबीचको तिक्तता अखिलकालकै हो । यी दुबैको पहाड घर भोजपुर । शेरधन विनोदभन्दा निकै नै जुनियर । तर, अखिलमा शेरधन पहिला केन्द्रीय सदस्य भइदिए । विनोद पञ्चायतकालमै विद्युत प्राधिकरणको जागिर छोडेर राजनीतिमा पूर्णकालीन भएका । विनोद अखिलमा केन्द्रीय अध्यक्षको उम्मेदवार हुँदा शेरधनले साथ दिएनन् । यही ‘जुनियर–सिनियर’ को लफडा अहिलेसम्म कायम थियो ।

तर, यसचोटि विद्याका कारण शेरधन उनीविरुद्ध लागेनन् । बरु, मोरङमा विनोदकै कारण राजनीतिमा अगाडि बढेका क्षेत्र नं. १ का सांसद ऋषि पोखरेल, खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतहरूले उनलाई साथ दिएनन् । प्रदेशभित्रका ५० केन्द्रीय सदस्यमध्ये आधा पनि उनको पक्षमा भएनन् । अर्थात्, जति मत ल्याए कि सुवासले निधनअघि भन्न भ्याएका र विद्याले सदाशयता देखाएका कारण आएको त्यहाँका एमाले नेताको भनाइ छ । प्रदेश अधिवेशनकै मेसोमा मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् बिस्तार गरे । विनोदतिर भएका केही मान्छेलाई मन्त्री बनाएर अर्को पक्षमा लाग्न उनले सरकारको विस्तारबाट खेलेको चर्चा छ । 

भनिन्छ, पछिल्ला दिनमा सुवास नेम्वाङप्रति अध्यक्ष ओलीको राम्रो व्यवहार थिएन । राष्ट्रपतिमा पनि हार्ने भएपछि मात्रै अगाडि सारिएको भन्नेमा सुवासको असन्तुष्टि थियो । त्यसमाथि पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएन । ०७६–०७७ सालमा तत्कालीन नेकपा विवाद उत्कर्षमा पुगेको बेला सुवासलाई प्रधानमन्त्री बनाएर जाऔं भन्दा पनि ओलीले मान्नुभएन । पछिल्लो समय ‘पार्टीभित्र यिनले बसिखान दिएनन्, षड्यन्त्र गर्न थाले’ भनी ओलीले बोल्न थाल्नुभएको थियो । 

एमालेभित्र ‘संस्थापक’ भएर हावी हुन बानी परेको एउटा टोलीले ओलीलाई छाड्न सकेको छैन, खुलेर साथ दिन पनि सकेको छैन । कतिपय प्रदेश अधिवेशन र विभिन्न गतिविधिमा महासचिव शंकर पोखरेलले आफ्नै ढंगबाट मानिसहरू अगाडि बढाउने काम गरिरहेको सूचना ओलीलाई छ । उदाहरणका लागि, उहाँको चाहनाविपरितका गुलाबजंग शाहलाई त्यहाँसम्म पु¥याएको शंकरले हो भन्ने उहाँलाई राम्रोसँग थाहा छ । तर, देखिने र सुनिने गरी शंकरलाई केही भन्नु प्रत्युत्पादक हुने ठानेर चूप लाग्नुभएको छ । बागमती प्रदेशको अध्यक्षका उम्मेदवार कृष्णप्रसाद दाहाललाई गोकुल बाँस्कोटाहरूले नबोकेको भए त्यत्रो मत आउने थिएन । समयमा चुनाव गराइएको भए उनले जित्ने नै थिए । तर, अन्तिम–अन्तिमतिर पुग्दा दाहालपक्षीय प्रतिनिधि लाखापाखा भए । त्यसबेला गोकुलहरूले उठाउने बेलामा कृष्ण दाहाललाई जति बोके, पछि त्यसो गरेनन् । फलतः उनले चुनाव हारे । 

पार्टीभित्र चलेको चुनावी अप्ठेरोका बीचमा ओलीले सरकारविरोधी र पूर्वराष्ट्रपति पक्षको एउटा ‘फण्डा’ झिक्नुभयो । ‘पूर्वराष्ट्रपतिहरू तातो पानी खाएर बस्या’छन् कि, के खाएर बसेका छन् ? यस्तो दुःखको बेला खोई ख्याल गरेको ? खोई हेरेको ?‘ भन्दै उहाँले व्यंग्य गर्नुभएको हो कि सहानुभूति प्रकट गर्नुभएको हो, बुझ्न गाह्रो थियो । तर, कतिपय एमालेहरूले ओलीले विद्याकै चिन्ता गर्नुभयो भनी बुझे । कतिपयले त्यो व्यंग्य थियो पनि भन्ठाने । 
 

टिप्पणीहरू