मनी प्लान्ट हाँक्ने नया टोली तयार
'मनीप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड'को आज सम्पन्न १४ औं साधारणसभाले नयाँ सन्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ। साधारणसभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि हुनुहुन्थ्यो ।
अध्यक्ष सुदर्शन पराजुलीले राजिनामा दिएसँगै इन्द्रमणी पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ । सन्चालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष,उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा यामकुमार खड्का,धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा,हेलेन घिमिरे,शान्ता पाण्डे घिमिरे र कमल गिरी हुनुहुन्छ । लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा नीलमणि दाहाल सदस्य चयन हुनुभएको छ।
साधारणसभामा संस्थाको प्रतिवेदन,लेखा प्रतिवेदन,आयव्यय विवरण प्रस्तुत र पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो। साथै संस्था संबद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन-तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो। एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। लालिगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँटका बिद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।
अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो संचालक समितिलाई धन्यवाद दिंदै सहकारी क्षेत्रको संस्थागत चुनौतीबीच आफू संचालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्नसकिने बताउनुभयो। संस्थाको सेयर सदस्य संख्या एक हजार एक सय ८२ पुगेको र पछिल्लो आवको कुल वासलत एक अर्ब २१ करोड १७ लाख ३६ हजार आठसय ५२ रुपैयाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले जानकारी दिनुभयो।
टिप्पणीहरू