बा–आमाकोे बिछोड र हाम्रो बिजोग
नजाने जिन्दगीमा ठक्करका किस्सा कति खाइयो, कति खान बाँकी छ । बाल्यकालमै बुवाआमाको सम्बन्धविच्छेद हुँदा अभिभावकको माया–ममता र प्यार के हो थाहा पाइएन । बुबाले दोहोरो भूमिका निभाइरहनुभएको थियो । सौतेनी आमा भिœयाएपछि माया खट्कियो । तीन वर्षसम्म आमाको काखमा खेल्न पाएको थिएँ । तर, जुन कोखबाट जन्मेँ, जसको प्यारमा हुर्कें, उनैले अर्कैसँग बिहे गरेर बेवारिसे बनाइदिइन् । बुबा पनि कान्छी आमासँग रमाउन थाल्नुभयो । बाल्यकालभरि म भने केवल खानाकै पछाडि दौडन्थेँ । पापी पेट पाल्न दौडँदादौडँदै लुक्ला पुगेँ । चाँैरी चराउने काम गर्न थालेँ । उमेर बढ्दै थियो । हिमालमा ट्रेकिङ नजाने कमै होलान् । साथीभाइसँगको चिनजानपश्चात् उनीहरूसँगै ट्रेकिङ जान थालेँ ।
१३ वर्षको थिएँ । मलजलबिनाको बिरुवा बनेर हुर्किएँ । बुबाआमासँग मेरो रगतभन्दा अरू केही नाता छैन । अरूझैँ विद्यालय जान मन कहाँ नभएको हो र ! बालुवा चाल्ने, ढुंगा बोक्नेदेखि तराईमा एक वर्ष रिक्सा चलाएँ । सात वर्ष विदेशीको भारी बोकेँ । त्यसपछि पोर्टर, कुक हुँदै गाइडसम्म बनें । लाग्थ्यो, ‘पोर्टर’ लाई कसले चिन्ला र !’ तर होइन रहेछ । इमानदार भए जहाँ पनि ठाउँ पाइने रहेछ । विशेषगरी फ्रेञ्च पर्यटकसँग नजिक भएँ । उनीहरूसँगै फ्रान्स पुगेँ । सन् १९९० मा मेरो पहिलो हवाई विदेश यात्रा भयो ।
पाँच वर्ष उतै बिताएँ । र फ्रेञ्च भाषा बोल्न सक्ने भएँ । त्यहाँ पनि घाँस, दाउरा, खाना तयार गर्ने र गाईगोरु डुलाउने काम गरेँ । हुन त, मैले जानेको कामै यति हो । योभन्दा अरू सीप थिएन । नेपाल फर्किएर ६÷६ महिनाको अन्तरालमा माथिल्लो खुम्बुबाट तल्लो खुम्बु झरेजस्तै फ्रान्स जान थालें । यही क्रममा स्वदेशमै बसेर केही गर्ने सोच बनाएँ । बालबालिकाको शिक्षा क्षेत्रमा केही गर्ने आँट कसेँ । आफूले अक्षर चिन्न नपाए पनि मजस्ता खुम्बुका अपांग बालबच्चालाई शिक्षा दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि ट्रेकिङ जाँदाका दृश्य झलझली आँखामा नाच्न थाले । खुम्बुतिरका अपांग बालबच्चाको शारीरिक, मानसिक अवस्था सुधार्न गरिबीका कारण घरपरिवारले सक्ने अवस्था थिएन । ती बालबच्चा बेवारिसे लाशजस्ता देखिन्थे । यसर्थ ०६२ सालमा उनीहरूजस्तै अन्य अपांग बालबालिकाका लागि भनेर बाल अपांग टेवा संस्था सञ्चालनमा ल्याएँ ।
तर, कसैले समाजका लागि केही गर्न खोज्यो भने यहाँ खुट्टा तान्नेहरूको जहीँतहीँ घुइँचो लाग्ने रहेछ । त्यतिबेला साथीभाइसँग सहयोगको अपेक्षा गर्दा निराश बनाइदिए । कुरा सुन्न चाहेनन् । म उनीहरूलाई के नै भन्न सक्थेँ र ? आफ्नो लक्ष्यमा अडिग रहेँ । निराश भइनँ । जसोतसो संस्था सञ्चालन गरेँ । अहिले तिनै बालबालिकासँग सुख–दुःख साटिरहेको छु । शिक्षकबिना विद्यार्थी बन्न असम्भव छ । मैले जीवनमा पुस्तक समाएर लेख्ने, पढ्ने अवसर पाइनँ । तर, शिक्षक बन्न किताब नै पढेको मान्छे हुनुपर्दाेरहेछ भन्ने होइन रहेछ । अहिले उनीहरूको हातमा पुस्तक राख्दा लाग्छ, शिक्षक नभएर के भो त ! पढाउने र लेखाउने मौका पाएको छु । नयाँ जीवन दिएको छु । २० जना बालबालिकाको पालनपोषण र शिक्षादीक्षाको काम गरिरहेको छु । यहाँ भएका अपांग बालबालिकामध्ये कोही १२ पढ्दै छन्, कोही व्याचलर ।
अहिलेसम्म ४८ जनाले १२ पास गरेका छन् । १५ जनाले व्याचलर गरिसकेका छन् । दुई जनाले माष्टर्स गर्दै छन् । सबैभन्दा सानो २ कक्षामा पढ्दैछन् । उनीहरूको चेतना साधारण विद्यार्थीभन्दा कम छैन । सबै विद्यार्थीलाई उच्च तहसम्म अध्ययन गराउन नसके पनि आर्थिक स्थिति कमजोर भएकालाई विशेष प्राथमिकता दिएर अध्ययन÷अध्यापन गराइरहेका छन् । बूढानीलकण्ठ नगरपालिकास्थित आकाशेधारा र कपनमा चार रोपनी दुई आना जमिन भाडामा लिएर संस्था चलाएको छु । यो संस्थाको मासिक खर्च मात्र ३ लाख हाराहारी छ । दुई वटा इटालियन, एउटा कोरियन, फ्रान्सका केही व्यक्तिले धेरथोर सहयोग गर्छन् ।
केही मनकारीहरू बर्थडेको केक काटेर गर्ने फजुल खर्च बरु अपांग बालबालिकाका लागि दिऔं भन्दै चामल, तरकारी बोकेर आउँछन् । मेरो आफ्नै गार्मेन्ट फ्याक्ट्री छ । साँच्चै भन्ने हो भने, त्यसबाट आएको रकमले नै विद्यार्थीको (गाँस, बास र कपास) व्यवस्थापन भएको छ । गार्मेन्टमा पर्यटकका लागि चाहिने सामग्रीदेखि विभिन्न स्कूल तथा कलेजका पोशाक, झोलालगायत अन्य आवश्यक सामग्री उत्पादन गर्छाैं । फ्याक्ट्रीमा आठ जना महिला कार्यरत छन् । संस्थालाई अघि बढाउन कोरिया सामसल संस्थाको महत्वपूर्ण योगदान छ । यस अलावा कपडाका झोला जापान, अमेरिका र फ्रान्स पठाउने गरेका छौँ । म राम्रोसँग नेपाली, अंग्रेजी भाषा बोल्न र पढ्न सक्छु तर लेख्न जान्दिनँ । विशेष चाडपर्व दसैँ–तिहारको छुट्टीमा बुबाआमालाई भेट्न गाउँ पनि पठाइदिन्छु । बेलाबेला छोराछोरीलाई भेट्न अभिभावक आफैँ आउँछन् ।
संस्थाले अपांगहरूका लागि निःशुल्क ह्विलचेयर वितरण गर्दै आएको छ । कोभिडपछि मात्र झण्डै ९ सय थान ह्लिचेयर अपांगहरूलाई वितरण गरिसकिएको छ । अस्ति शनिवार र आइतवार कपिलवस्तुको ५ वटा नगरपालिका, एउटा गाउँपालिका गरी ६ वटा स्थानीय तहमा १२० थान ह्विलचियर बाँडिएको थियो– महिला मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यमा । यसका अलावा संस्थाले बिग्रिएका ह्विलचेयर निःशुल्क मर्मत गर्दै आएको छ । लक्ष्य छ, लुम्बिनी र कोशीमा ह्विलचेयर रिपेयर सेन्टर खोल्ने । यसका अलावा सार्वजनिक संरचना अपांगमैत्री हुनुपर्छ भन्ने आवाज पनि जोडतोडसाथ उठाउँदै आएको छु ।
– डेण्डी शेर्पा, संस्थापक अध्यक्ष बाल अपांग टेवा
टिप्पणीहरू