के क्यामरुनको पुनः सत्ता यात्राले सुनकलाई बचाउला ?

के क्यामरुनको पुनः सत्ता यात्राले सुनकलाई बचाउला ?

डेभिड क्यामरुन पार्टी नेतृत्वको लागि तयार हुँदा केवल ३९ वर्षका थिए । त्यतिबेला हामी कुमारी रेष्टुरेन्ट चलाइरहेका थियौं । हाम्रोमा प्रायः आइरहने कन्जरभेटिभ पार्टीमा सक्रिय रुपमा लागेको एक परिवार पनि थियो ।

बाजेदेखि नातिसम्म अनि कहिलेकाँही स्थानीय साथीहरु हाम्रोमा जम्मा हुने, खाना खाने र राजनीतिक छलफल गर्दथे । म त्यतिबेला लेबोर पार्टीको सदस्य थिएँ । कुरै कुरामा देशले अब परिवर्तन चाहेको र त्यसको नेतृत्व क्यामरुनले गर्ने छन् भनेर सुनाए । डेभिस जस्तो परिपक्व र पूराना नेतालाई कसरी पराजित गर्लान् र भनेर मैले पनि त्यसो भए यदि क्यामरुन दलको नेता भयो भने म पनि तिमीहरुको पार्टीको सदस्य बन्छु भनेँ ।

नभन्दै केही हप्तापछि त्यो परिवार खुशियाली मनाउन हाम्रो रेष्टुरेन्टमा नै आयो । मैले आफ्नो वाचा पूरा गरेको प्रमाण देखाइदिएँ । पार्टीको  सिद्धान्तभन्दा  पनि आफूले बोलेको कुरा पूरा गर्नु मेरो त्यति बेलाको प्राथमिकता थियो । आफू प्रत्यक्ष राजनीतिमा सहभागी नभएपपछि यो विषय त्यति गम्भीर हुने पनि भएन । त्यस पछाडि भएको निर्वाचनमा बाहेक अहिलेसम्म मैले कन्जरभेटिभलाई मत दिएको छैन । लेबोर पार्टीको पनि सदस्यता नवीकरण गरेको छैन तर अहिलेसम्म पनि दुवै पार्टीका इमेलहरु भने आइरहन्छन् ।

लिज ट्रसको पालामा केही हप्ता गृहमन्त्री बनेका सुलेला ब्राभम्यानलाई दोश्रो पटक ऋषि सुनाकले पनि सोही जिम्मेवारी दिए । त्यतिबेला नै यो निर्णय गलत थियो भन्ने आवाज नउठेको भने होइन । तर मौका दिनु पर्छ भनेर बचाव गर्नेहरुले सफलता पाएको ठानियो ।

आप्रवासी समस्या समाधान गर्ने क्रममा उनले व्यक्त गरेका कतिपय विषय राजनीतिक वृत्तमा पटक पटक विवादमा पर्यो । पछिल्लो पटक प्यालेस्टाइन समर्थकहरुको प्रदर्शनमा रोक नलगाएको कारण प्रहरीहरु एकाङ्की भएको उल्लेख गर्दै उनले लामो लेख छपाइन् ।

त्यसलाई आधार बनाएर केही दंगा भएपछि ऋषिले गृहमन्त्री नहटाई सुखै पाएनन् । तर उनले मन्त्रीपरिषद्मा पूर्व प्रधानमन्त्री डेभिस क्यामरुनलाई सहभागी बनाउँछन् भन्ने लख समेत कसैले काट्न भ्याएका थिएनन् । त्यसो त विकसित देशमा कोही नेता एक पटक उच्व पदमा पुगेपछि अन्य राजनीतिक पद बहन नगर्ने मात्र होइन, सक्रिय राजनीतिमा समेत नरहने चलन छ ।

बेलायत यस विषयमा झन् बढी प्रख्यात मानिन्थ्यो । नेपाली नेताहरुलाई पदलोलुप भए, यहाँको जस्तो हुनुपर्छ भनेर धेरैले लेख्ने र भन्ने गरेका पनि थिए । नोभेम्बर १३ मा ऋषि सुनकले मन्त्रिमण्डल हेरफेर गर्दा यो मान्यतालाई करिब ५० वर्ष पछाडि छाडेर आफू बलियो अनि सफल हुने सपना बुनेका छन् ।

पूर्व विदेश मन्त्रीलाई गृह मन्त्रालयको जिम्मा लगाएर प्रधानमन्त्रीबाट राजीनामा दिएको सात वर्ष चार महिना पछाडि डेभिड क्यामरुनलाई फेरि सुनकले १० डाउनिङ्ग स्ट्रिटमा बेरोकटोक प्रवेश गराएका हुन् ।

सन् १९६६ मा लण्डनमा उच्च–मध्यम–वर्गीय परिवारमा जन्मेका क्यामरुनले हेदरडाउन स्कुल, त्यसपछि इटन कलेज र ब्रासेनोज कलेज, अक्सफोर्डमा शिक्षा हासिल गरेका थिए । सन् १९८८ देखि १९९३ सम्म उनले कन्जरभेटिभ पार्टीको अनुसन्धान विभागमा काम गर्दै प्रधानमन्त्री जोन मेजरलाई सहयोग गरेका थिए । कार्लटन सञ्चार कम्पनीमा काम गर्न उनले केही समयको लागि सन् १९९४ देखि राजनीति छाडेका थिए । सन् २००१ मा उनी सांसद बनेपछि कन्जरभेटिभ नेता माइकल हवार्डको नेतृत्वमा विपक्षी छायामन्त्रीको रुपमा काम गरे । सन् २००५ मा हावर्डको उत्तराधिकारी बनेका थिए ।

क्यामरुन कन्जरभेटिभ पार्टीलाई पुनः ब्रान्ड गरेर सन् २०१० को निर्वाचनमा पहिलो ठूलो दल बनाउन सफल भएका थिए । आफूले मात्र सरकार बनाउन आवश्यक सांसदहरु जिताउन नसके पनि उनले दोस्रो र तेस्रो ठूलो दललाई सहकार्य गर्नबाट रोकेर तेस्रो ठूलो पार्टीसँग मिलिजुली सरकार बनाउन सफल भएका थिए ।

त्यस पछाडिको निर्वाचनमा भने एकल बहुमत प्राप्त गरेर सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे । हुनत उनी सन् १९९७ को निर्वाचनमा पनि सहभागी हुन् खोजेका थिए तर उम्मेदवार छनौट प्रक्रियामा रेल ढिलाई भएको कारण सरिक हुन् सकेनन् । रेलका कारण उनले त्यो मौका गुमाउनु परेको थियो ।

त्यसपछि फरक फरक क्षेत्रको लागि उम्मेदवार छनौट हुने कोशिसका बाबजुद अन्तत विट्नि, अक्सफोर्ड शायरको लागि टिकट पक्का भयो । अन्तिमसम्म त्यहाँबाट नै विजयी हुँदै आएका हुन् । प्रधानमन्त्रीबाट बिदाइ लिएपछि भने माथिल्लो संसद सदस्य अर्थात् लर्ड बनेका थिए । सोही आधारमा उनी अहिले पुनः मन्त्री बन्न पाउने अवस्थामा रहेका हुन् ।

प्रधानमन्त्री भइसकेका नेताहरु पुनः मन्त्रीको जिम्मेपवारीमा फर्केको नदेखेको कारण हामीलाई त्यस्तो हुन् जस्तो लाग्नु स्वभाविक नै हो । तर बेलायतको राजनीतिक इतिहास हेर्दा १८ औं शताब्दीदेखि हालसम्म अरूको नेतृत्वमा बनेका सरका अन्तर्गत विभिन्न जिम्मेवारी लिने पूर्व प्रधानमन्त्रीहरुको संख्या उल्लेख्य नै पाइन्छ । तीमध्ये केही भने निकै छोटो समयकोलागि मात्र प्रधानमन्त्री बनेको कारण पनि त्यसो भएको हुनुपर्छ । तर पछिल्लो ५० वर्षदेखि भने यो परम्परामा पूर्ण रोक लागेको थियो ।

पछिल्लो पटक सन् १९६३ मा तीन सय ६२ दिन सरकार प्रमुख भएका एलेस डग्लस होमले १९७० देखि १९७४ सम्म एडवार्ड हिथको विदेशमन्त्रीको रुपमा काम गरे । नेभिल च्याम्बर्लिन चर्चिलको विदेशमन्त्री बनेका थिए तर एक महिनामा नै उनको मृत्यु भएको थियो ।

त्यस्तै १९३१ मा स्त्यान्ली बाल्डविन पनि रामसे म्याकडोनाल्डको राष्ट्रिय सरकारमा सहभागी भएका थिए । सन् १९०३ देखि ५ सम्म प्रधानमन्त्री बनेका आर्थुर जेम्स बालफोर पहिलो विश्वयुद्धताका मिलिजुली सरकारमा विदेशमन्त्री बनेका थिए भने १९२० देखि २९ सम्म राज्य परिषद्का प्रमुखको रुपमा काम गर्न भ्याएका थिए ।

सन् २०१५ को आम चुनावमा कन्जरभेटिभ पार्टीलाई एकल बहुमत प्राप्त भएपछि चुनावको क्रममा उठेको स्वतन्त्र बेलायतको नारालाई क्यामरुन सँधैको निम्ति रोक्ने योजनामा लाग्न थाले । युरोपियन युनियनबाट बाहिर आएपछि बेलायतको भविष्य डावाँडोल हुने कुरामा बिश्वस्त रहेका क्यामरुन चुनाव मार्फत् उक्त समस्यालाई सदाको लागि हल गर्न चाहन्थे । उनले आफु कुनै पनि हालतमा पराजित नहुने अधिक आत्मविश्वाशका साथ जनमतसंग्रहमा होमिए । वास्तवमा त्यति छिटो निर्णय गर्न आवश्यक पनि थिएन ।

तर, आप्रवासीहरुकै अत्यधिक समर्थनको कारण झिनो मतले ब्रेक्जिट हुनुपर्ने भयो र नैतिकताको आधारमा उनले राजिनामा दिए । पहिलो पाँच वर्ष मिलिजुली सरकार भएकाले एकल बहुमत दिँदा पनि पार्टीले सही र सफल नेतृत्व पाउन सकेन । उनले पूर्णकाल चलाउन पाएको भए अहिले अर्को एक जना प्रधानमन्त्री मात्रै थपिने थिए । तर यसबीच चार जना प्रधानमन्त्री बनेका छन् ।

देश चलाउनेभन्दा पार्टीको नेता को कसरी छानिने भन्ने विषयमा नै बढी समय खेर गएको छ । नेतृत्वमा परिपक्वता भएन भने के हुन्छ ? र जनताले त्यसको भार कसरी व्यहोर्नुपर्छ भन्ने प्रत्यक्ष अनुभव अहिले बेलायतमा सबैले गरेका छन् ।

हालसालैका उप निर्वाचन र मत सर्वेक्षणहरुबाट अब लेबोर पार्टीको सरकार बन्ने पक्कापक्की देखिन्छ । आफ्नो धमिलिएको छबिलाई कसरी धोइपखाली गर्न सकिन्छ र पुनः कसरी सरकार चलाउन पाइन्छ भन्ने ऋषि सुनाकको अन्तिम प्रयासको रुपमा अहिलेको मन्त्रिपरिषद हेरफेरलाई लिन थालिएको छ ।

क्यामरुनले भने केही विषयमा असहमति रहेपनि यस्तो प्रतिकूल समयमा देशको नेतृत्व गर्ने ऋषिलाई साथ सहयोग दिएर समृद्ध र सुरक्षित बेलायत बनाउने महान् उद्देश्यका साथ आफू पुनः राजनीतिमा फर्किएको औचित्य साबित गर्न लागेका छन् । विभिन्न कोणबाट क्यामरुनलाई एक सक्षम राजनीतिज्ञ मानिए पनि युरोपियन युनियनको निर्णय र त्यसको सर्वत्र परेको असरले भने उनीमाथि सँधै प्रश्न चिन्ह खडा हुने निश्चित छ ।

युरोपभित्रको राजनीति र देशभित्रको नैराश्यतालाई बुझ्न नसक्नु क्यामरुनको ठूलो गल्ती थियो भनिन्छ । यसका साथै पछिल्लो केही समयदेखि बेलायती राजनीति अति नै आलाकाँचा नेताहरुको हातमा परेको थियो । अब क्यामरुन जस्ता परिपक्व व्यक्ति ऋषिको वरपर हुनुलाई एकथरिले यसलाई आशाको दियोको रुपमा लिएका छन् ।

त्यति मात्र होइन अनुदारवादी पार्टी पंक्तिबाट आफुलाई उदारवादीहरु  नजिक उभ्याउन खोज्नु सुनकको बुद्धिमतापूर्ण निर्णय प्रमाणित हुन पनि सक्छ । क्यामरुनको पालामा नजिकबाट काम गरेका राजनीतिक सल्लाहकार लौरा त्रोटलाइ अर्थ मन्त्रालय चलाउन सहायकको भूमिका दिनु तथा उक्त भूमिका निर्वाह गर्दै आएका भिक्टोरिया आत्किन्सलाई निकै महत्वको स्वास्थ्य मन्त्रालय जिम्मा लगाउनु पनि ऋषिको परिपक्वता हो भनिएको छ । क्रम भंगसहितको क्यामरुनको पुनः सत्ता यात्राले बेलायतको राजनीतिमा के कस्तो असर पर्ने हो त्यो हेर्न भने आगामी निर्वाचनसम्म कुर्नुपर्ने नै हुन्छ ।  

नेप्लिज क्याटरिङ्ग एसोसियसनले स्लाओको रेष्टुरेन्टमा आयोजना गरेको अधिवेशनमा स्थानीय सहित केही सांसदहरु सहभागी भएका थिए । हामीमध्ये धेरैले मन्तव्य राख्ने क्रममा नेपालमा बेलायती राजा रानीहरुको समेत पटक पटक भ्रमण भइसकेको तर दुई सय वर्षको सम्बन्ध भएर पनि हालसम्म कुनै प्रधानमन्त्री नेपाल नपुगेको गुनासोसहित क्यामरुनले नेपाल भ्रमण गर्नुपर्ने माग उठाएका थियौं ।  यसबारे उपस्थितमध्ये एक लेबोर पार्टीका स्थानीय सांसद फिओनाले पत्राचार नै गरेका रहेछन् । त्यसको जवाफमा क्यामरुनले आफूलाई नेपाल र नेपालीप्रति अति श्रद्धा रहेको तर अहिले निर्र्वाचनको तयारी र व्यस्तताको कारण निकट भविष्यमा अवश्य पनि नेपाल भ्रमण गर्ने वाचासहितको पत्र नै पठाइएको रहेछ ।

त्यसको एकप्रति नै मलाई दिइएको थियो । शायद त्यो अझ पनि मसँग कहिँ कतै हुनुपर्छ । शारीरिक रुपमा कमजोर क्यामरुन दम्पत्तिका छोरा इभानको विशेष स्याहारसुसार गर्ने एक महिला गीता लामा सन् २००९ मा इभानको मृत्युपछि पनि उनीहरुसँग नै थिइन् । पछि उनले बेलायती नागरिकता प्राप्त गर्ने बेलामा कतै प्रधानमन्त्री परिवारले प्रभाव त पारेका थिएनन् भन्नेबारे छापामासमेत निकै प्रचार भएको थियो ।

गीतासँगको लामो सम्बन्धले गर्दा पनि क्यामरुन परिवार नेपासँग नजिक भएको हुनुपर्छ । तर दोस्रो पटक प्रधानमन्त्री हुँदा पूर्ण समय बिताउन नपाएको कारण उनको नेपाल जाने योजना सफल हुन सकेन । प्रधानमन्त्रीको हैसियतमा नभए पनि अब निकट भविष्यमा विदेशमन्त्रीको रुपमा देश विदेश जाने क्रममा उनको नेपाल भ्रमण हुनसक्ने सम्भावना भने बढेको छ ।

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका लेखक विविध विषयमा कलम चलाउँछन् ।)

टिप्पणीहरू