प्रेममा पागल नबनुन् कोही पनि
एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण धेरै चेली बर्बाद पनि भएका छन् । यस्तै बर्बादी भोगिरहेको नारी हुँ म पनि । कोही रहरले जन्मेका हुँदैनन् । र, उस्तै हो विवाह पनि ।
आँसुको आहालमा डुबुल्की मारिरहेको १७ वर्ष बित्यो । २९ मंसिर ०६३ मा थर बदलियो मीना सुनारबाट रिजालमा । हामी दुई अपरिचित थिएनौं, अप्रत्यासित विवाह भएको पनि होइन । उसको र मेरो घर सँगसँगै हो । म आठ कक्षामा पढ्दै गर्दा ऊ दशमा पढ्थ्यो । भन्थ्यो, ‘तैँले मसँग विवाह गरिनस् भने मर्दिन्छु’, विषले भरिएको बोतल देखाउँथ्यो । गाउँमै एक जना दाजुले प्रेममा धोखा पाएपछि आत्महत्या गरेका थिए, उसैको उदाहरण दिँदै भन्थ्यो, ‘तँैले मसँग प्रेम गरिनस् भने त्यसैगरी मर्छु म पनि’ । १६ वर्षकै उमेर, केही सीप लागेन । भागेर विवाह भयो ऊसँग ।
मेरो जिन्दगी बर्बाद बनाइदिने पुरुष हुन्, ज्ञानेन्द्रप्रसाद रिजाल । अन्तरजातीय विवाह घरबाट स्वीकृत नहुने भएपछि भाग्नुपरेको थियो । जुनी सँगै बिताउने कसम खाँदै भागेर पाल्पा पुग्यौं । त्यहीँको मन्दिरमा ज्ञानेन्द्रले सिउँदो रंङ्गाए तर आज त्यही एक धर्काे सिन्दूरका कारण मेरो सुकोमल जिन्दगी तहसनहस बन्न पुगेको छ । सिउँदोको एक चिम्टी सिन्दूर र गलामा पोते त यौन प्यास मेट्नका लागि मात्र रहेछ । विवाह भएको सात दिन नपुग्दै ‘घरमा आमाले विष खानुभएछ, सिकिस्त बिरामी हुनुहुन्छ, पुगेर आउँछु’ भनी ढाँटेर पाल्पाबाट हिँडे । तर, भारतको डिमापुर पुगेको चाल पाएँ, पछि माइतीबाट । केही समयपछि डिमापुरबाट फर्किएर विवाह दर्ता भयो । मेरो अंकल इण्डियन आर्मीमा हुनुहुन्थ्यो । उहाँले नै फेरि इण्डिया लिएर जानुभयो भर्ती गर्ने उद्देश्यले तर त्यहाँ पनि झगडा र हात हालाहाल गरेपछि काम पाउने कुरै भएन ।
फर्किएपछि मेरो ममीलाई पैसा खोजिदिनु, म विदेश जान्छु भन्न थाले । ममीले पैसा खोजिदिनुभयो । पैसा हात पारेको दुई महिनासम्म सम्पर्कविहीन । पछि थाहा लाग्यो, पोखरा मामाघरमा गएर बसेका रहेछन् । जब दमौलीमा गाडी एक्सिडेन्टमा परेर घाइते भएको थाहा पाइयो, तब मात्र पोखरा बसेको थाहा लागेको हो । थाहा पाएसँगै बुवा पुग्नुभएको थियो दुर्घटनास्थलमा । भनेछन्, ‘मैले मीनालाई धेरै दुःख दिएँ, अब दिन्न, पोखरामै ल्याएर राख्छु ।’ पाँच महिना सँगै रह्यौं, गर्भ बस्यो ।
पाखण्डीलाई जवानी चुस्न जात चाहिएन तर अहिले जात देखेर ममाथि यो विभेद र धोखा दिइरहेको छ ।
कोखमा बच्चा आएसँगै फालौं भने । मैले मानिन । नानी कोखमा आएको तीन महिना पनि भएको थिएन, कमाउनका लागि भनेर बम्बै गए । भनेका थिए, तिमी सुत्केरी हुँदा केही कमाएर ल्याउँछु अनि घर चलाउन अलि सहज होला । दुई जिउकी मान्छे, साथमा न कोही थियो न त पैसा नै । कहिले माइतीमा गएर खान्थें, कहिले भोकै बस्थें । न्वारान गर्दासमेत फर्किएर आएनन्, उनको घर परिवारका कोही आएनन् । छोरी जन्मिएको अढाई वर्षपछि बल्ल घर आए । तिनले ममाथि गरेको अत्याचार गाउँ, टोलभर सबैलाई थाहा थियो । माओवादीका केही नेता–कार्यकर्ताले उनको घरमा पुगेर हकारेलगत्तै आइपुगेका रहेछन् । समाजका अगाडि हात जोडेर भनेका थिए, आजदेखि तिम्रो बिचल्ली पार्दिन । अढाई वर्षपछि आउँदा कमाइ सात हजार थियो । तेह्र÷चौध महिनासम्म सम्पर्कविहीन मान्छे श्रीमती र छोरी चाहिएर होइन, पैसा चाहिएर आएका रहेछन् । बाबालाई एक लाख रूपैयाँ खोज्न लगाएर युएई पठाएँ ।
अबचाहिँ श्रीमान् सुध्रिएछन् भन्ने लाग्दै थियो । शुरुका दुई वर्षसम्म मासिक पाँच÷दश हजार हजारका दरले रकम पठाउँथे । दुई वर्षपछि ४५ दिनको बिदा लिएर घर आए । तारन्तार एउटी केटीको फोन आइरहन्थ्यो । को हो ? भनेर सोध्दा जवाफ आउँथ्यो– अफिसको स्टाफ । ल्यापटपमा त्यही केटीको फोटो देखें । मनमा चिसो पस्यो । रुँदै भनेँ– ‘तैँले जातकै कारण मलाई धोखा दिन लागेको होस् ।’ ४५ दिनपछि युएई गए । उताबाट फोन आउँदैनथ्यो । मैले फोन गर्दा उल्टै जवाफ आउँथ्यो, ‘तेरो जिन्दगी आफँंै बना, मबाट माया पाउँदिनस्, बेलैमा आफ्नो बाटो लाग् ।’ मैले छोरीको भविष्य हेरौं भनेर आग्रह गरेँ तर ‘तँैले मलाई बर्दघाट भुतामा आउन लायक पारिनस्, अब आउँदिन’ भने । त्यसपछि तीस हजार रुपैयाँ पठाएर मोबाइल स्वीच अफ ।
विवाहपूर्व नै थाहा थियो कि उनकी आमालाई हाम्रो सम्बन्ध । मैले भेटेरै भनेको थिएँ– आमा, ज्ञानेन्द्रले म तिमीबिना बाँच्न सक्दिन भन्छन्, हाम्रो जात मिल्दैन, छोरालाई सम्झाउनुहोस् न । आफ्नो छोरालाई सम्झाउन र बुझाउन नसक्ने उनको आमाले म सानो जातको भएकै कारण जहाँ भेट्यो त्यहीँ थुक्छिन् । ०७३ सालमा उनलाई दुबईबाट झिकाइयो । गाउँ समाजका अगाडि भने, ‘मैले मीनालाई धेरै सताएँ, दुःख पनि धेरै दिएँ, अबदेखि म हेर्छु, दुःख दिन्नँ ।’ उनले गरेको कागजमा आफूले मासिक ७० हजार कमाउँछु, चालिस हजार दिन्छु भनेका छन्् । म नवलपरासी फर्किएँ । उनले काठमाडौं जाऔं भने । बानी–व्यहोरा सबै चाल पाएकै थिएँ । त्यही कारण जान मानिनँ । भन्थे, ‘तँैले अब झन् धेरै दुःख पाउँछेस् । मैले यो केटीसँग विवाह गरेको छु भनेर केटीको फोटो देखाउँथे । छोरीलाई अनेक थरी भनेर सताउँदै गए । एक दिन इमोमा मैले गाली गरेँ । ‘म तेरो खेलौना हो ? जति बेला मन लाग्यो गर्ने ? बस्न छैन भने अलग–अलग हुँ’ भनेपछि ०७३ सालदेखि सम्पर्कमा छैनन् । सानो जातको भएकै कारण मैले यो घृणा सहनुपरेको हो । जब पति नै आफ्नो नभएपछि तिनका बुबाआमा, दाजुभाइ कसरी आफ्नो बन्लान् ? बनेनन् । ओरालो लागेको मृगलाई बाच्छाले खेदेझैं खेदे आफ्नै भाग्यले लखेट्यो ।
दुबईमा छँदै यतैबाट क्यानाडा जान्छु, सात लाख खोजिदेऊ भनेका थिए । कमाएर राख्न दिएको थियो नै कति र सात लाख दिन सक्नु ? यो बीस वर्षको अवधिमा बढी भए छोरी र मैले अढाई लाख खायौँ होला । अनेकन संघर्ष गरेर छोरी पढाइरहेको छु । सानो टेलर्स चलाएको छु । अरुको कपडा सिलाएर आफ्नो च्यातिएको जिन्दगी चलाइरहेको छु । छोरी दश कक्षामा पढ्छे ।
विवाहपूर्व सोचेकी थिएँ, यति धेरै माया गर्ने मान्छेसँग घरबार गर्न पाउँदा सुन्दर घरपरिवार होला । म पनि श्रीमान् र बच्चाको हात समाउँदै आउने–जाने गर्नेछु माइती । तर, सोचेजस्तो कहाँ हुनेरहेछ र जीवन ? शुरुवाती दिनदेखि नै उल्टो घुम्न थाल्यो चक्र । एउटै बिच्छ्यौनामा सुतेर पनि कोसौं टाढा रह्यो मन । लाग्थ्यो, एकदिन ढुंगा पनि रसाउनेछ तर सात लाख खोजेर दिन नसकेपछि झनै टाढिए ।
उनको व्यवहारका कारण छोरीलाई समेत प्रत्यक्ष असर परिरहेको छ । गाँस, बास कपास, छोरीको विवाह दान खर्च देऊ, अरु केही चाहिएन । दुःख र पीडा वा धोखा पाएको २÷४ वर्ष हैन । १७ वर्ष भइसक्यो । एक विवाहित नारी, त्यो पनि एक छोरी लिएर माइतमा बस्दा कति गाह्रो हुन्छ !
३५ वर्षको भएँ । यसअघि जे–जस्तो भए पनि छोरीको अनुहार हेरेर जिन्दगी बिताउँछु । सास रहुञ्जेल आस ! आफ्नो जिन्दगी बिग्रिए पनि जिन्दगीको खासै अर्थ थिएन । तर, आफ्नो त्यो नासोका निम्ति मैदानमा उत्रिएको छु । थाहा छैन न्याय पाउन कति वर्ष अझै कुर्नुपर्छ !
– मीना सुनार
टिप्पणीहरू