पाँच पोईकी जोई कुना पसी रोई

पाँच पोईकी जोई कुना पसी रोई
सुन्नुहोस्

शहर, जहाँ मान्छेका मन छिनभरमै बदलिन्छ । समय कहाँ पुग्यो भने, मनभन्दा प्रेमको नाता छिटोछिटो बदलिने ! शहरिया पुरुष त खराब थिए नै ! अब महिला नै ‘प्रेमी’ मात्रै हैन, दिनदिनै, छिनछिनैसम्म ‘पति’ फेर्न माहिर भए ! शहरबाट यो ‘फेसन’ अहिले गाउँमा सरेको छ ।

ओखलढुंगाबाट निर्वाचित माननीय रामहरि खतिवडाको निर्वाचन क्षेत्र मानेभञ्ज्याङकी एक महिलाले हो, पति नै लूगा फेरेझैं बदलेकी । उनले यसरी एक, दुई होइन अहिलेसम्म पाँच पति फेरिसकिन् । प्रसंग हो, मीना पाण्डवको । उनी खतिवडाको निर्वाचन क्षेत्रकी मतदाता । आजभन्दा तीन दशकअघि जब २० वर्षकी थिइन्, पहिलो वैवाहिक नाता जोडिन् ।

आजजस्तो टिकटक, फेसबुक, भाइबर, इमोको जमाना थिएन । लमी लगाएर, मागेरै गरिएको विवाह थियो । जनयुद्धको त्रासदीपूर्ण दिनमा घरकी जेठी बुहारी भएर उनी भित्रिइन् । जसै मीना भित्र्याएर उनका सासू ससुराले र सोचेका थिए, घरमा लक्ष्मी भित्रिइन् अब हाम्रा दुःखका दिन गए । तर सासू ससुराको खुसीको आयू लामो रहेन । केही समयमा उधुम तरिकाले सासू, ससुरा र श्रीमान्लाई सहयोग गरिन् । घाँसपात, मेलापात सबै सम्हाल्थिन् ।

भन्छन् नि, एकपछि दुई हुन गाह्रो । दुईपछि तीन र घीन उस्तै हुन्छ, शर्म लाग्दैन ।

घरपरिवारको उनीप्रति कुनै गुनासो थिएन, गुनासो पोख्ने ठाउँ दिएकी पनि थिइनन् । आर्थिक रुपमा सामान्य हैसियत रहेको उक्त परिवार टिकेको थियो इमानमा । त्यही कारण समाजले परिवारलाई हेर्ने दृष्टिकोण नै फरक थियो । चार देवर, तिनका शिक्षा–दीक्षादेखि अभिभावकत्व निर्वाह गर्नुपर्ने जिम्मेवारी थियो पतिको काँधमा । विवाह भएको वर्ष दिनमै छोरी जन्माइन् । खाने मुख थपिए, आम्दानी थपिएन । 

देवरहरू पढ्दै थिए । माइलो नौमा, अन्य चार भाइको विवाहलगायत कर्म बाँकी थियो । जिउनीका लागि थोरै जमिन थियो । सन्तान बढे भनेर जमिनले उब्जनी बढाउने भएन नै ! देशमा रोजगारीको समस्या थियो । पतिले दलाललाई दाम बुझाएर परिवारको जीवनस्तर उकास्ने सपना बुने । उनी मलेसिया गए, मासिक ४० हजार कमाउन । अरबको चर्काे गर्मीमा साबेल र बेल्चा हानेर उनी आफ्नो र परिवारको जीवनस्तरका खातिर । तर, सोचेझैं जिन्दगी कहाँ चल्यो र ! श्रीमान् दुई वर्षदेखि खाडीतिर भासिएका छन्, यता पत्नी दुई जिउकी भइन् । 

साइँलो देवरसँग हिमचिम भयो । र, पेटभित्र ‘पापको बिरुवा’ हुर्कंदै गयो । एक कान, दुई कान हुँदै ‘मैदान’ परदेशमा खबर पुग्यो । मीना घर समाजमा तिरस्कृत भइन् । पहिलो छोरीलाई घरमै छाडेर रातारात गाउँबाट भागिन्, काठमाडौं । पाँच भाइमध्ये सबैभन्दा खाइलाग्दो ज्यान थियो साइँलाको । अध्ययनमा अब्बल, टाठो बाठो पनि उस्तै ! लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन भनझैँ हविगत भयो साइलोको । माध्यमिक तहमा अध्ययनरत उनी क्षणिक मनोरञ्जनका कारण गाउँघर नै छाड्ने स्थितिमा पुगे । आमासमानकी भाउजूलाई पत्नी स्वीकारेर गाउँबाट पलायन भए ।

तर, कहाँ प्रिय छ र यो राजधानी खाल्डो । जोरपाटीमा डेरा लिए । काम थाले मूलपानीतिरकै एउटा फ्याक्ट्रीमा । दोस्रो श्रीमान् (देवर) बाट १८ महिनाको फरकमा दुई सन्तान जन्माइन् । पाँच वर्ष विदेश बसेर जेठो श्रीमान् जन्मघर फर्किए । उनको खुसी लुटिएको थियो, आफ्नै भाइ र श्रीमतीबाट । फर्किएपछि अंशबण्डा भयो । गाउँमा मन रम्न सकेन, छोरी च्यापेर धरान झरे । अहिले पनि धरानतिरै होटल थापेर जीविका चलाइरहेका छन् । कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएझैं भयो साइलाको जोडीलाई । जेठो दाजु अंश लिएर धरान झरेपछि मानेभञ्ज्याङमै सानो घर बनाएर त्यतै रम्दै थिए । भन्छन् नि, एकपछि दुई हुन गाह्रो । दुईपछि तीन र घीन उस्तै हुन्छ, शर्म लाग्दैन । साइँलो काठमाडौंबाट गाउँ फर्किएको केही वर्ष नबित्दै मीनाले तेस्रो केटा रोजिन् । भर्खर विदेशबाट फर्किएको केटा । मनग्यै पैसा भएको । त्यसैले उनलाई लठ्यायो ।

सञ्जोग कस्तो भने, तेस्रो लोग्नेको गाउँ उतै मानेभञ्याङ ! पहिलो र दोस्रो पतिको घरबाट नयाँ पतिको घर पुग्न जम्मा पाँच मिनेटको बाटो । घरको बीचमा एउटा डाँडो नहुँदो हो त साइँलो पत्नीलाई अर्कैले स्याहारेको हेर्दै बस्नुपथ्र्यो । तेस्रो पति मीनभन्दा १० वर्षले कान्छा । तिनीबाट पनि एक सन्तान जन्माइन् । मीनालाई यतिले पनि पुगेन । फेरि रुम्जाटारतिरकै एक जना राई थरका केटासँग एक वर्ष बिताइन् । पछि कुरा मिलेन र फेरि मानेभञ्ज्याङस्थित तेस्रोको घर फर्किइन् । त्यहाँ पनि पुराना पतिले स्वीकारेनन् र त्यहीँका एकजना अधबैंशेलाई पाँचौं पति बनाइन्, उनको घरमा सौता लाग्न पुगिन् । फेरि अर्को सन्तान जन्माइन् । ‘उमर पचपन, दिल बचनपन’ भनेजस्तो, उनले फेरि अर्कोलाई पति बनाउने हुन् कि हैनन्, हेर्न बाँकी छ । 

उनी पाँच पति, सात सन्तानले भरिपूर्ण भइन् । कान्छोबाट जन्मिएको छोरा निकै बाठा छन् । बाँकी ६ छोरी छन् । पहिलो छोरी धरानमा बाबासँगै । यसरी जवानीमा केटाहरू फेर्दै हिँडेकी उनलाई अहिले आफू बिग्रिएकोमा पछुतो लाग्छ । भन्छिन्, ‘पश्चात्तापको रापले भत्भती पोल्छ ।’ विगतमा आफूले हिँडेको बाटोप्रति थकथकी लागेको सुनाउँछिन् । चिन्ता छ, भोलि आफ्नै सन्तानले उनैले हिँडेको बाटो त नहिँड्लान् ! उनीहरू भोलि आफूजस्तै भए भने र उनीहरूको लोग्नेले तेरो आमा ‘पाँच पोइले’ भन्दै गलहत्याइदेलान् कि भन्ने चिन्ता छ । ‘त्यस्ती आमाकी छोरी के गतिली हुन्छेस्’ भनेर डस्छन् भन्ने चिन्ता पोख्छिन् ।

हिजो आफूले हिँडेको बाटोप्रति प्रायश्चित र पश्चत्ताप गर्छिन्, आफैँले आफूलाई धिक्कार्छिन् । रमाइलो कुराचाहिँ, उनका दुईबाहेक अन्य तीनै श्रीमान् अहिले पनि त्यही गाउँमै छन् । मीनाको धोखाधडी पछि जेठा श्रीमान् दश वर्षअघि नै धरान झरे, माथि उक्लिने मन गरेनन् । श्रीमती बित्नेबित्तिकै पुरुषहरू श्रीमती ल्याउन हतार गर्छन् भन्ने आरोप पनि लाग्छ । तर, पत्नीले छाडेको तेह्र वर्ष बितिसक्दासमेत उनले अर्की ल्याएनन् । जिन्दगीको पहिलो चोटले नै उनलाई थला पा¥यो ।

चौथो श्रीमान् सदरमुकामतिर छन् । बाँकी तीनै जना मानेभञ्ज्याङमै । कसैको घर तलतिर, मास्तिर † पूर्वपतिसँग भेटघाट मात्र होइन अर्मपर्म पनि चल्छ अहिले । यौवन र धनलाई बसमा राख्न नसक्दा धेरैका घरबार बिग्रिएका छन्, राजाहरू रंकमा परिणत भएका छन् । 

दिव्य रुम्दाली, ओखलढुंगा


 

टिप्पणीहरू