युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्षको आह्वान

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्षको आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिन आह्वान गरेका छन् ।

दुबइमा हिजोदेखि सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई हिजो साँझ सम्बोधन गर्दै उनले नेपालमा लगानीका सम्भावना प्रशस्त रहेको उल्लेख गरे । उनले भने,‘ नेपाल लगानीको वातावरण बनेको छ । अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सिर्जना पनि भएको छ ।’

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रमा लगानीको आकर्षण रहेको उल्लेख गरे । आफ्नै आन्तरिक बजार तथा  भारत र बंगलादेशका क्षेत्रीय बजारमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालको भनाई छ ।

थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले बिलासी होटल तथा रिसोर्टहरूमा लगानी बढाएको जानकारी पनि दिए । अध्यक्ष ढकालले युएईका लगानीकर्ताहरूलाई होटल, केबुलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागिसमेत आग्रह गर्नुभयो ।

नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडीबुटीको विश्व बजारमा माग छ । कृषि प्रशोधनमा समेत लगानीका थप अवसर रहेकोतर्फ युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराइएको छ ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत नेपालमा लगानी गर्न सकिने नयाँ धारणा राखेका छन् ।

दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन र सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको नेपाल युएई बिजनेस फोरममा दुबै मुलुकका लगानीकर्ताहरूको उपस्थिति थियो ।
 

टिप्पणीहरू