चिठ्ठाः चमत्कार कि बहुआयामिक चिन्ता

चिठ्ठाः चमत्कार कि बहुआयामिक चिन्ता
सुन्नुहोस्

सरदर बेलायतीको दैनिकी चिठ्ठा किन्नु पनि हो । मैले पनि शुरुका केही समय बेला बखत एउटा चिठ्ठा किन्ने गरेको थिएँ । जम्मा एक पटक एक पाउण्डको दश पाउण्ड पाएको याद छ । एक जना ट्युनिशियन साथीसँग भने केही जना मिलेर २०० पाउण्डको एकै पटक चिठ्ठा किनेको तर जम्मा ३८ पाउण्ड फिर्ता आएको, त्यो पनि सबै किनेर शून्यमा चित्त बुझाएपछि त्यसउप्रान्त नकिन्ने सल्लाह गरेका थियौँ । अहिले रोल ओभर भएर ठूलो धनराशि भयो भने आक्कलझुक्कल किन्ने गरिन्छ । कहिलेकाँही यहाँका साथीहरूसँग कुरा हुँदा आफूलाई त टिकट नकिनेरै चिठ्ठा पर्छ कि जस्तो लाग्छ भनेर चित्त बुझाउने गरेको छु । 

साप्ताहिक रूपमा केही मानिस करोडपति बन्ने यी चिठ्ठाले सामूहिक रूपमा अत्यन्त महत्वपूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय परोपकारका काम पनि हुने गरेका छन् । झ्वाट्ट हेर्दा जुवाजस्तो देखिने चिठ्ठा विश्वका प्रायःजसो देशमा एउटा सामाजिक अर्थ संकलनको माध्यम बनेको छ । यसलाई नागरिकले आदतको रूपमा प्रयोग गर्ने हुँदा कतिपय अवस्थामा कुलतजस्तो देखिए पनि हुने खानेले भने परोपकारी कामको रूपमा स्वीकार गरेर प्रत्येक हप्ता निश्चित रकम छुट्याउने गर्छन् । तर, कम आम्दानी हुनेहरूलेचाहिँ छिटो धनी बन्न आफ्नो आम्दानीको ठूलो हिस्सा प्रयोग गर्ने भएको हुँदा यसलाई नकारात्मक रूपमा पनि व्याख्या गर्ने गरिन्छ । 

बेलायतमा राष्ट्रिय लोटरी सन् १९९४ को नोभेम्बर १९ देखि शुरु गरिएको थियो । यसलाई चलाउनको लागि सरकारले शुरुदेखि नै क्यामलोट समूहलाई अनुमति पत्र (लाइसेन्स) प्रदान गरेको हो । अहिले यो मुख्यतः लोट्टो बुधबार र शनिबार राष्ट्रिय रूपमा सञ्चालन हुने गर्छ । लोट्टोको अतिरिक्त थन्डरबल, युरोमिलियन्स, लोट्टो हटपिक्स, सेट फर लाइफलगायत लटरी खेल खेलिन्छन् । ४९ नम्बरसम्म भएको एउटा टिकटमा जसले ६ वटा नम्बर मिलाउँछ उसले पहिलो पुरस्कार पाउँछ । कथंकदाचित एकभन्दा बढीले मिलायो भने दामाशाही रूपमा वितरण गर्ने र कसैलाई पनि परेन भने नपरेसम्म थप हुँदै जाने गर्छ ।

कम संख्या मिलाउनेका लागि साना पुरस्कार पनि व्यवस्था गरिएका हुन्छन् । शुरुमा प्रतिटिकट एक पाउण्ड निर्धारण गरिएको थियो भने ५ अक्टोबर २०१३ देखि यसको मूल्य दोबर गरिएको थियो । संकलित रकमको ५० प्रतिशत विभिन्न खेलमा वितरण गरिन्छ भने २८ प्रतिशत स्वास्थ्य, शिक्षा, खेलकुद, कला र संस्कृति जगेर्नाजस्ता विभिन्न परियोजनामा लगानी गरिन्छ । लोटरी फण्ड अर्थात् बेलायती राष्ट्रिय चिठ्ठाको परोपकारी अभियानमार्फत अहिलेसम्म ६ लाख ७० हजारभन्दा बढी परियोजना सञ्चालन भइसकेका छन्् । 

देशैभरि चिठ्ठा बिक्री गर्नको लागि व्यापक रूपमा पसलहरूलाई विशेष अनुमति दिइएको हुन्छ । त्यस्ता पसलले पनि ५ प्रतिशत मुनाफा पाउने गर्छन् । बाँकी १७ प्रतिशत भने सञ्चालन गर्ने कम्पनी प्राइभेट भएकाले सम्पूर्ण खर्च कटाएर मुनाफा लिने गर्छ । टिकट किन्ने तर नतिजा नहेर्ने वा टिकट हराएको कारण पुरस्कार लिन नआउनेहरूको संख्या पनि अधिक हुने गर्छ । गत वर्ष मात्र यसरी दाबी नगरिएको सहित कूल रकम १८७७.३ मिलियन पाउण्ड राम्रो कामको कोषमा जम्मा भएको थियो । अहिलेसम्म नेशनल लोटरीले ९० बिलियन पाउण्ड पुरस्कार वितरण गरेकोमध्ये वर्षमा झण्डै २३५ जना अर्थात् ६८०० जनाभन्दा बढी मानिसलाई लखपति बनाइसकेको छ । स्थापनाकालदेखि अहिलेसम्म टिकट बेच्ने पसललाई मात्र ७.७ बिलियन पाउण्ड र राजश्वमा २०. ४ बिलियन पाउण्ड बुझाइसकेको छ।

क्यामलोट कम्पनीले सकेसम्म कम खर्च गर्ने नीति लिएको कारण खर्चमा चार प्रतिशत मात्र प्रयोग गरेको देखिन्छ । गत वर्ष झण्डै दुई तिहाइ, तीन करोड साठीलाख, युवाले कम्तीमा एक पटक चिठ्ठा खेलेका थिए । करिब एक करोड सत्तरी लाख मानिसले अनलाइनमार्फत खेल्ने गर्छन् । सम्भवतः यति धेरै सदस्य भएको यो नै अग्रणी अनलाइन कम्पनी हुन सक्छ । विश्व तथ्यांकअनुसार बेलायतको चिठ्ठा प्रणाली संसारकै सातौँ ठूलो मानिन्छ तापनि क्यामेलोट कम्पनीको धेरै मानिसको सहभागिता तर कम पैसा मात्र प्रयोग गरोस् भन्ने रणनीतिक सफलताको प्रमाणस्वरूप चिठ्ठामा खर्च गर्ने देशको सूचीमा भने बेलायत ६६ औं स्थानमा देखिन्छ । अमेरिका, चाइना, जापान, स्पेन, ब्राजिल अनि भारतमा विविध किसिमका बढी चिठ्ठा खेल्ने प्रचलन छ । 

त्यसो त संसारमा चिठ्ठाको इतिहास र विकासको क्रम पनि पौराणिक नै छ । अहिलेसम्म प्राप्त लिखित प्रमाणको आधारमा पहिलो पटक चीनमा हाङ राजवंशको पालामा इशापूर्व २०५–१८७ तिर सरकारले राज्यकोष निर्माण गर्ने क्रममा केनो भन्ने खेलबाट शुरु गरेको मानिन्छ । त्यस्तै, रोमन साम्राज्यको डिनर भोजमा मनोरञ्जनको रूपमा अतिथिहरूलाई टिकट बेचिने र तोकिएको आधारमा पुरस्कार वितरण गर्ने चलन थियो ।

युरोपेली देशले मध्ययुगमा सार्वजनिक परियोजनाका लागि लगानी गर्न चिठ्ठा प्रचलनमा ल्याइएको थियो । युरोपमा पहिलो पटक सन् १४४६ मा बेल्जियमको ब्रुजबाट चिठ्ठा शुरु भएको मानिन्छ । इंग्ल्याण्डमा रानी एलिजाबेथ प्रथमले सन् १५६९ देखि पूर्वाधार परियोजना विस्तारका लागि पहिलो पटक चिठ्ठालाई कानुनी मान्यता दिएकी थिइन् । अठारौँ शताब्दीमा अमेरिकाको विकास विस्तार सँगसँगै हार्बर्ड र एलमा चिठ्ठाबाट सरकारले उल्लेख्य अर्थ संकलन गरेको थियो । १९ औँ शताब्दीसम्म आइपुग्दा भने यसमा भ्रष्टाचार तथा आर्थिक घोटाला भएकाले विभिन्न देशमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आयो ।

२० औँ शताब्दीमा विश्वले खेप्नुपरेको दुई ठूला युद्धको कारण पुनर्निर्माण तथा अन्य काममा आमसहभागी गराउने एउटा उपायको रूपमा निश्चित मापदण्ड तोकेर धेरै देशले चिठ्ठा प्रणालीलाई पुनः प्रयोगमा ल्याएको देखिन्छ । अहिले लटरीले विश्वव्यापी रूपमा कानुनीकृत जुवाको सामान्य रूपमा मान्यता पाएको छ । यस्ता खेल परम्परागत नम्बर मिलाउने, स्क्य्राच कार्ड र इन्स्ट्यान्ट–विन खेलसहित विभिन्न ढाँचामा सरकार वा इजाजत पत्र प्राप्त निकायद्वारा सञ्चालित हुन्छन् ।

संकलित ठूलो हिस्सा कोषहरू प्रायः सार्वजनिक सेवा, परोपकारका काम र निर्दिष्ट उद्देश्य प्राप्तिको लागि प्रयोग गरिन्छ भने निश्चित व्यक्ति रातारात धनाढ्य पनि बनिरहेका हुन्छन् । अहिले बेलायतमा पिपुल्स पोस्ट कोड लोटरी पनि प्रख्यात हँुदै आएको छ । एकै ठाउँमा बस्ने जति सबैले दामासाहीमा पुरस्कार पाउने यस खेलमा सदस्य बन्न मासिक १२ पाउण्ड तिर्नुपर्ने हुन्छ । महिनाभरि खेलिने प्रत्येक खेलमा सहभागी हुने र जुन पोस्ट कोड छानियो त्यहाँ बसोबास गर्ने सदस्यलाई पुरस्कार दिने गरिन्छ । त्यस्तै स्वास्थ्य सेवाका लागि मात्र लक्ष्य गरेर शुरु गरेको चिठ्ठाले पनि बेलायतमा थुप्रै परोपकारी काम हुने गरेका छन् । 

परोपकार संस्थालाई चिठ्ठा खोल्न नेपाल सरकारले ००९ चैत ६ गते एक लालमोहोरमार्फत अनुमति दिएको थियो । पछि त्यसलाई व्यवस्थित गर्न चिठ्ठा ऐन २०२५ जारी भयो । यही कानुनअनुसार हामी केटाकेटी हँुदा नेपाल रेडक्रसले परोपकार चिठ्ठा खेलाउने गरेको र रत्नपार्कतिर माइकबाट प्रचार प्रसार गरेको सम्झना आउँछ । यस ऐनअनुसार पनि देशभरि चिठ्ठा खेलाउने अनुमति थिएन तर ०६६ सालमा गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐनमार्फत अधिराज्यभरि चिठ्ठा खेलाउन अनुमति लिन पाउने व्यवस्था गरिएको हो ।

नेपालमा विद्यमान कानुनअनुसार परोपकारी कामका लागि खेलिने चिठ्ठा बिक्री भएको टिकटको कम्तीमा ६० प्रतिशत पुरस्कार वितरण गर्नुपर्ने व्यवस्था छ । संघ÷संस्थाले अन्य प्रयोजनका लागि खेलाउनेमा भने पुरस्कार रकमको ७५ प्रतिशत जिन्सी सामग्री वितरण गर्नुपर्छ । चिठ्ठा बिक्री गर्दा नै टिकटको मूल्य, पुरस्कारको विवरण, खोलिने मिति तथा स्थान उल्लेख गर्नुपर्ने हुन्छ तर योजनाअनुसार टिकट बिक्री भएन भने पुरस्कार त्यहीअनुसार घटाएर वितरण गर्न भने सकिनेछ । सरकारी अनुमतिबिना अनधिकृत रूपमा कसैले चिठ्ठा खेलाएमा बिगो जफत गरी सोहीअनुसारको सजायँ वा ६ महिना कैद वा दुवै सजायँ हुन सक्छ । 

नेपाल सरकारले पनि वर्तमान ऐनलाई अलि परिमार्जन गरी निश्चित उद्देश्यसहित विश्वका बहुसंख्यक देशमा जस्तो यस प्रकारको राष्ट्रिय अभियान शुरु गर्नतिर ध्यान दिनुपर्छ । नागरिकको राष्ट्रिय परिचय पत्रसँग जोडेर एक जनाले एउटाबाहेक बढी टिकट लिन नपाउने व्यवस्था गर्न सकियो भने यसलाई दुव्र्यसनको रूपमा प्रयोग गर्न सक्ने छैनन् । शुरुमा मासिक एक सयको दरले टिकट निर्धारण गरेर करिब ५० लाख सहभागी गराउन सकियो भने ५० प्रतिशत २५ करोड पुरस्कार वितरण गर्न सकिन्छ । सय जनालाई दामासाहीले वितरण गर्ने हो भने पनि एक जनाको भागमा २५ लाख पर्न आउँछ ।

वर्ष दिनमा १२ सय जना लखपति हुन र त्यो रकमको सदुपयोग गर्न सकियो भने झन् राम्रो हुनेछ । यो संख्या र रकम बढाउन सकियो भने परोपकारी कामका लागि थप रकम संकलन हुनेछ । एक पटक पाएपछि अर्को पटक नपाउने भने पनि पुरस्कार पाएको रकमबाट निरन्तर टिकट खरिद गर्न कुनै समस्या पर्ने छैन । यसरी जम्मा गरिएको कोषबाट भने दिनानुदिनको कामभन्दा फरक विशेष दीर्घकालीन महत्व राख्ने योजना सञ्चालन गर्न सकिए यसको महत्व पनि बढ्दै जानेछ । सामूहिक संलग्नताले समृद्ध प्राप्तिमा सहज हुने विषयमा दुईमत छैन । 

टिप्पणीहरू