अपाङ्गमाथि यतिसम्म हुन थाल्यो अत्याचार

अपाङ्गमाथि यतिसम्म हुन थाल्यो अत्याचार

दुवै खुट्टा नभए पनि कुनै सपांगका भन्दा आँट र हिम्मत कमजोर छैनन् । तीन पाङ्ग्रे सवारीमा हुइँकिन्छन्, विदेशीसँग क्रिकेटमा भिड्न तम्सन्छन् । आफूजस्तै सयौं अपांगहरूको पीडामा मल्हम लगाइरहेका यी मनकारी हुन् –छुल्ठिम ‘ग्याल्जेन’ शेर्पा । लामाले जुराइदिएको नाम हो । साढे पाँच दशकअघि जन्मिए सोलुखुम्बुको थामेमा । त्यही ठाउँ विश्वविख्यात आरोहीहरू आप्पा शेर्पा र तेञ्जिङ नोर्गे शेर्पा । साढे दुई वर्षको छँदा पोलियोले सतायो । त्यसपछि उल्टो घुम्न थाल्यो जीवनचक्र । उपचारको खोजीमा ०२५ सालमै भित्रिए राजधानी तर व्यथा भएन २० को १९ । 

काठमाडौं क्षेत्रपाटीस्थित जेपी स्कूलबाट प्रारम्भ भयो ‘क ख रा’ । त्यो समयमा उनले खेपेका मानसिक प्रताडना बेहिसाब ! कसरी झेले होलान् ? साथीसंगीको दुर्वचन ? शारीरिक अक्षमताका कारण प्रायः सबै विद्यार्थीले गिज्याउँथे । नानाथरि भन्थे तर सहनुपर्ने । सहन्थें, एकातिर शारीरिक अपांगता, अर्काेतिर हिमालबाट झरेको मान्छे, समस्या थियो भाषामा । ‘भोटे भोटे..ओइ भोटे.!’ भन्दै पेल्थे । ८० को दशकमा त राजधानीका शौचालय अपांगमैत्री छन्, २० को दशकमा सबैभन्दा गाह्रो ट्वाइलेट जान हुन्थ्यो । यी तमाम पीडाको पहाड आफैँसँग बोकेर संघर्ष गर्न छाडेनन् । आत्मविश्वासका धनी थिए छुल्ठिम । स्वभाव कसैबाट हेपिने र चेपिने खालको थिएन । 

इख नभएको मान्छे र विष नभएको सर्पको केही काम छैन भन्छ दुनियाँ । प्रण गरे तुच्छ वचन बोल्ने र हेप्ने–चेप्ने साथीभाइको अगाडि केही गरेर देखाउने । उनी दिनरात पढाइमा केन्द्रित रहे । फलतः कक्षामा सदैव प्रथम । अक्षम भए पनि मानसिक रुपमा बलिया थिए । उनको आत्मबल र सफलताका कारण शिक्षक पग्लिए । हिजो घृणा गर्ने साथीहरू पनि नजिकिन थाले, माया दिन थाले । समयले यसरी कोल्टे फेर्‍यो दश कक्षासम्म कहिल्यै दोस्रो हुनु परेन अतिरिक्त क्रियाकलपामा पनि उनी अब्बल थिए । जोरपाटीको अपांग केन्द्रमा गएर तालिम लिए । यसले आत्मविश्वासको लेबल झनै चुलियो । आइरन गेट मानिने एसएलसी उत्तीर्ण गरेसँगै म्यानेज्मेन्टको विद्यार्थी बन्न पुगे । बिहान कलेज, दिउँसो ठमेलमा रहेका कपडा पसल धान्नु थियो । दैनिकी त्यही ढंगले चलिरहेकै थियो ।

अस्पतालको आम्दानी, एनजिओदेखि मुसलमानलाई नमाज पढ्न ठाउँ दिएबापत भाडा उठ्छ तर त्यो पैसा कहाँ जान्छ ?  

यसरी माष्टर्ससम्मको अध्ययन पूरा गरेका छन्, छुल्ठिमले । काकाले जागिर खान कर गरेका पनि हुन् तर मन त्यतातिर रमेन । त्यसपछि दुई दशक बढी व्यवसायमै होमिए । एक थाल भात दिनेभन्दा धेरै महत्वपूर्ण हुन्छ आत्मविश्वासले भरिदिने मान्छे । खगेन्द्र नवजीवन केन्द्रका संस्थापक खगेन्द्रबहादुर बस्नेतसँगको भेट र उनले दिएकै प्रेरणा आफ्ना लागि जिउने माध्यम बन्न पुगेको छुल्ठिम बताउँछन् । ०३५ सालमा भेट भएको वर्ष दिनपछि नै खगेन्द्रले धर्ती छाडे । अब उनले खगेन्द्रको जिम्मेवारी पनि आफ्नै काँधमा बोकेर हिँड्न थाले । खगेन्द्र नवजीवन केन्द्र राजनीति धेरै, आर्थिक अपारदर्शिताले बदनाम हुन थालेको छुल्ठिमको अनुभव छ । सरकारले केन्द्रलाई वार्षिक १ करोडभन्दा बढी रकम दिन्छ । यसका अलावा त्यहाँ २६ वटा सटर छन्, भित्र अस्पताल छ । अस्पतालको आम्दानी, एनजिओदेखि मुसलमानलाई नमाज पढ्न ठाउँ दिएबापत भाडा उठ्छ तर त्यो पैसा कहाँ जान्छ ? कुनै पारदर्शी हिसाब किताब छैन । 

सरकारी आँकडाअनुसार झण्डै ३ लाख नेपाली कुनै न कुनै हिसाबले अपांगताको शिकार भएका छन् । अपांग हुने रहर कसलाई हुन्छ र ? जानी–जानी को अपांग बनेको हुन्छ र ? के थाहा आजका सग्लो मान्छेलाई भोलि अपांग बन्नु पर्ने बाध्यता पनि हुनसक्छ । सबै जन्मजातै शारीरिक रुपले अपांग होइन्न । हिँड्दै जाँदा ठेस लाग्यो भनै भोलिपल्टैदेखि अपांग बन्न सक्छ मान्छे । ०७२ सालको भूकम्पपछि पूर्ण रुपमा सामाजिक काममा फर्किएका छन्, छुल्ठिम आफ्नो व्यापार–व्यवसाय छाडेर । उनकै नेतृत्वमा काठमाडौँको गोलढुंगामा अपांग सेवा केन्द्र खोलिएको छ । जहाँ ३२ जना अपांग बस्दै आएका छन् । सीप सिक्छन् । जीवन केन्द्र अर्काे सामाजिक केन्द्र स्थापना गरेका छन्, सम्भवतः यो विश्वकै पहिलो यस्तो संस्था हुनुपर्छ जहाँ अपांग भएका जोडीलाई रेखदेख र हेरचाह गरिन्छ । अहिले यो केन्द्रमा ७ परिवारका २६ जना बस्दछन् । सुन्दरीजलस्थित दृष्टिविहिन आमाघरमा ५० जना छन् । यसरी यी विभिन्न केन्द्रमा रहेका अपांग ४६ बालबच्चाको शिक्षा दीक्षाको अभिभारा आफ्नै काँधमा लिएर तिनलाई पढाइ, लेखाइको काम गरिरहेका छन् उनी । 

यसअघि शारीरिक रुपमा अपांगहरू सपांगभन्दा केही कुरामा कमजोर छैनन् भनेर देखाउन जन्माए ह्विलचियर क्रिकेट संघ ०७३ सालमा । संस्थाले ‘डोमेस्टिक’का अलावा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लियो । विश्वमा ह्विल चेयरमा बसेर क्रिकेट खेल्ने देशहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तान मात्र छन् । बंगलादेश र भारत क्रिकेटका ‘गुरु’ नै हुन् तर त्यहाँका खेलाडीलाई नेपालीले जितेर रेकर्ड ब्रेक गरेका छन् । ०७८ मा बंगलादेश र ०७९ मा भारत गएर नेपालका खेलाडीले ह्विलचियरमै क्रिकेट खेलेका हुन् । यो सफलता त सबैले देखे, तर कति पापड बेल्नुपर्‍यो ? क–कसको दुर्वचन सहनु प¥यो, त्योचाहिँ उनकै मनको कुनामा छ । १६ जना खेलाडीलाई सरकारले एक एक लाख दियो, त्यो एक लाख लिन उस्तै महाभारत । अपांगलाई एक लाख सहयोग दिन हिच्किचाउने सरकार, कर्पोरेट हाउसले हातखुट्टा सग्ला भएका खेलाडीका लागि आँखा चिम्लेर लाखौं सहयोग गरेको देखिएको छ । यस्तो देख्दा कहिलेकाहीँ रुन मन लाग्छ । सोध्न मन लाग्छ, सरकार के हामी यो देशका नागरिक होइनौँ ? 

लकडाउनको समय, धेरै अपांगको बिल्लीबाठ देखे । मन भत्भती पोल्यो । टाढा राहत केन्द्र भएका कारण त्यहाँ पुग्न नसक्ने, लाइनमा उभिन पनि नसक्ने अपांगको पीडालाई महसुस गरेर काठमाडौं, ललितपुर, भक्तपुर, चितवनसम्म पुगी झण्डै १२ सयलाई राहत बाँडे । सबैभन्दा दुर्दशा त कीर्तिपुर र सानोठिमीतिर देखेका छन् । सरकारले अवसर दियो । अवसरको सदुपयोग गर्दै अपांगहरूले पढे पनि, हातमा डिग्रीको सर्टिफिकेट छ तर रोजगारी छैन । ती फेरि सडकमै आइपुगेका छन्, कीर्तिपुरमा डेढ सय हाराहारी र सानोठिमीमा सयजति अपांगता भएका शैक्षिक बेरोजगार छन् । रोजगारी अभावमा उनीहरू कोही अगरबत्ती बेच्दै हिँड्छन्, कोही बाटोमा गीत गाएर त केही पशुपतितिर पुगेर मागी खान विवश छन् । यी पढेका युवा÷युवतीले लोकसेवादेखि शिक्षकसेवासम्म भिड्दा अधिकांशले लिखितमा नाम निकाल्ने गरेका भए पनि अन्तर्वार्तामा फालिदिने गरेको पीडा पोख्छन्, उनी । 

अपांगतामध्ये पनि सबैभन्दा बढी पीडामा रहेको देख्छन्, जलन (पोलेर अपांग भएका) हरू । समाजले बहिष्कार गर्ने, घरबेटीले तिम्रो अनुहार देखेरै मेरा छोराछोरी डराउँछन् भनी कोठै नदिने गरेको छुल्ठिमले पीडा सुनेका छन् । उमेरले साढे पाँच दशक नाघिसक्यो अझै अपांग भएका व्यक्तिहरूकै लागि केही गरेर देखाउने जोश   मरेको छैन । बूढापाका भन्छन् नि जीवनमा सबथोक खानु तर हरेश नखानु । उनले आजसम्म हरेश खाएका छैनन् ।
 

टिप्पणीहरू