अमेरिकी एकमात्र त्यस्ता राष्ट्रपतिको प्रेमपूर्ण अन्तर्कथा
फ्रान्कलिन डेलानो रुजबेल्ट अमेरिकाका ती व्यक्ति हुन् जो शारीरिक असक्तताको बावजुद लगातार चारपटक निर्वाचित भए । राष्ट्रपतिको पदमा ४ कार्यकाल बिताउने उनी पहिलो र अन्तिम व्यक्ति हुन्, अन्तिम यसकारण कि त्यहाँको वर्तमान संविधानअनुरूप कुनै पनि ब्यक्ति बढीमा २ पटक मात्र सो पदमा बस्न पाउँछन् ।
रुजबेल्ट कलेजमा दोस्रो वर्षका छात्र थिए, उनको भेट एलिस सोहियरसित भयो । रूजबेल्टले मन पराउन थाले तर एलिसले टेरिनन् । पहिलो असफल प्रेमबाट निरास उनको भेट नाताले बहिनी पर्ने र बाल्यकालदेखि परिचित अन्ना इलेनोरसित भयो । अन्ना रुजबेल्टका काका पर्ने थियोडोर रुजबेल्टको भतिजी थिइन् । थियोडोर त्यो बेला राष्ट्रपति थिए । रुजबेल्ट अब अन्नासित प्रेम गर्न थाले र सन् १९०३ मा बिहेको प्रस्ताव राखे । अन्ना त राजी थिइन् तर आफ्नै आमा सारा तगारो बन्न पुगिन् । आमालाई मनाउन २ वर्ष लाग्यो । अन्त्यमा सन् १९०५ मा बिहे भयो । अन्नाका बाबु इलियोट रुजबेल्टको निधन भइसकेको थियो । त्यसैले कन्यादान राष्ट्रपति थियोडोरले नै गरे ।
रुजबेल्ट सामाजिक कार्यमा व्यस्त हुन्थे जबकि इलेनोर सार्वजनिक जीवनलाई मन पराउँदिन थिइन् । यौनको मामिलामा पनि निष्क्रिय हुन्थिन्, उता रुजबेल्ट भने अलि बढी नै यौन खोज्ने खालका थिए । यो कुरोमा शुरुदेखि नै पतिपत्नीबीच मतभेद रह्यो, यसको बाबजुद रुजबेल्टले इलेनोरलाई १० वर्षको दौरान ६ छोराछोरीको आमा बनाइदिए । अझ शुरुको ५ वर्षमै ४ सन्तान जन्माइदिए । त्यसैले जब सन् १९१६ मा इलेनोर छैठौं पटक सुत्केरी भइन् आइन्दा सँगै नसुत्ने निर्णय सुनाइन् । र, सन्तानको रेखदेख गर्न लुसी पेग मर्सरलाई सेवामा लगाइन् । रुजबेल्ट र लुसीबीचको प्रेम सम्बन्ध यहींबाट शुरु भएको विवरण गतांकमा उल्लेख भइसकेको छ ।
लुसीले अर्कै पुरुषसित बिहे गरेपछि पनि रुजबेल्टसित सम्बन्ध टुटेको थिएन अझ उनकै लोग्ने विन्थ्रोप रुदरफोर्डले दुवै प्रेमीप्रेमिकालाई नजिक ल्याउन सहयोग गर्दै गए । सन् १९२० मा रुजबेल्ट राष्ट्रपतिको चुनावी अभियानमा सरिक भए र त्यसपछि न्युयोर्क फर्केर वकालतको काम गर्न थाले । सन् १९२१ मा बिदा मनाउन कैम्पबैलो जाँदा एक्कासी बिरामी परे । विषम ज्वरो आउने, आन्द्रा र मुत्राशयमा शिथिलता आउने, स्तब्ध बन्ने, अतिसंवेदनशील बन्नेजस्ता लक्षण देखा परे । हुँदाहुँदा स्थायी तवरमै पक्षघातको शिकार बने । यस्तो अवस्थामा पनि इलेनोर संवेदनशील बन्न चाहिनन् । बिरामी लोग्नेको सेवार्थ नर्सको व्यवस्था गरिदिएर आफू जिम्मेवारीबाट हटिन् । यसको लाभ लुसीले उठाइन् । उनका लोग्ने रुदरफोर्डले १४ कोठायुक्त नयाँ भवन नै बनाइदिए, जहाँ सबैखाले सुविधा थियो । रुजबेल्टलाई त्यहीँ बोलाएर बस्ने व्यवस्था मिलाइदिए ।
यसले स्वाभाविक रूपमा रुजबेल्ट र लुसीको सम्बन्ध झन् प्रगाढ बनायो । उनीहरूको मिलन बेरोकटोक हुन थाल्यो । कम्मरमुनिको भाग चल्न छाडेपछि रुजबेल्ट ह्विलचेयरमा ओहोरदोहोर गर्थे । आमा साराले राजनीति छाड्न निकै दबाब दिइन् तर उनले मानेनन् । राष्ट्रपति पदको उम्मेदवारीमा दाबी गरिसकेका रुजबेल्ट एकाएक यो स्थितिमा पुगेपछि विपक्षी रिपब्लिकन पार्टीका नेताहरूले पनि सन्तोषको सास फेरे तर रुजबेल्टले हार खाएनन् । लाठीको सहारा लिएर, खुट्टा र नितम्बमा ब्रेसिज लगाएर टाउको अलि घुमाउँदै अलि परसम्म हिँड्न सिके । उनी जसरी पनि जनतालाई ह्विलचेयर बिना हिँड्न नसक्ने भनेर देखाउन चाहँदैनथे । मिडियालाई ‘अक्षम छैन म’ भन्दै हिँड्थे ।
बिकलांगताको बाबजुद डेमोक्रेटिक पार्टीले उनलाई न्युयोर्कको गभर्नरमा चुनाव लड्न उक्सायो किनभने बलियो उम्मेदवारको रूपमा देखा परेका अल्बर्ट ओटिंगरलाई उनले मात्र हराउन सक्छन् भन्ने दललाई लागेको थियो । नभन्दै रुजबेल्टले जिते । यसरी सन् १९२८ मा न्युयोर्कको गभर्नर बने । सन् १९३२ मा राष्ट्रपति निर्वाचित भएपछिको शपथग्रहण समारोहमा लुसीलाई निमन्त्रणा मात्र दिएनन्, लिन गुप्तचर विभागको गाडी नै पठाइदिए । समारोहमा राष्ट्रपतिको ठीक अघिल्लो पंक्तिमा बसाले । प्रथम श्रीमतीको रूपमा कार्यक्रममा सहभागी इलेनोर लुसीलाई त्यहाँ बसेको देखेर तीनछक्क परिन् तर लोग्नेलाई गुनासो पोख्ने अधिकार गुमाइसकेकी थिइन् । रुजबेल्ट लगातार चारपटक उक्त पदमा निर्वाचित भए र प्रत्येक शपथग्रहणमा लुसीको स्थान त्यहीँ रह्यो ।
रुजबेल्ट समय–समयमा लुसीलाई वासिङटन बोलाउँथे । उनलाई लिन गुप्तचर सेवाको गाडी जान्थ्यो । उनी गाडीकोे लस्करबीच लिमोजिन कारमा हुन्थिन् । कारबाट उत्रनासाथ राष्ट्रपतिको गाडी चढ्थिन् । लुसी गाडीभित्र बसिसकेपछि रुजबेल्टले बटन दबाउँथे र बीचको पर्दा बन्द हुन्थ्यो । त्यसपछि दुवैजना हात समातेर गफ गर्थे । सफरमा हिँड्थे । त्यसबेलासम्म रुजबेल्टको उमेर ५० र लुसीको ४० नाघिसकेको थियो तर आपसी प्रेममा अलिकति पनि शिथिलता आएको थिएन । उता, इलेनोरले मात्र दुवैको प्रेमलाई तिरस्कार गर्ने गरेकी थिइन् जबकि छोराछोरीले आफ्ना पिता र लुसीको सम्बन्धको महत्वलाई राम्रोसित बुझेर सहयोगीसमेत बनेका थिए । द्वितीय विश्वयुद्धको दौरान प्रायः समय इलेनोर वासि¨टन बाहिर बसिन् । राष्ट्रपति भवनमा पुग्ने पाहुनालाई सत्कार गर्ने सम्पूर्ण जिम्मेवारी छोरी अन्नाले सम्हाल्न थालिन् । उनले समय–समयमा लुसीलाई त्यहीँ बोलाउँथिन् र कार्यक्रममा सहभागी गराउँथिन् । रुजबेल्ट र इलेनोरका छोरा इलिएट भन्थे, ‘थाकेको बूढो पुरुष र उमेर गैसक्दा पनि उत्तिकै सुन्दरी ती महिला (लुसी) घण्टौँ सँगै बसेर गफिन्थे, थकाइ मार्थे । मेरी आमाले २५ वर्षअघि पिताको कोमल भावनामा ठेस पु¥याएकी थिइन् । त्यसबाट हृदय छियाछिया भएका पिताले लुसीसितको सामीप्यमा मन हल्का पार्थे ।’
लुसीका लोग्ने रुदरफोर्डको निधन ८३ वर्षको उमेरमा सन् १९४४ मा भयो । सोही वर्ष सम्पन्न चुनावी अभियानको सिलसिलामा लुसीलाई भेट्न रुजबेल्ट ट्रांक्विलिटी पुगे र सन् १९४५ को जनवरीमा चौथो कार्यकालका लागि शपथग्रहण गरे । त्यसबेलासम्ममा स्वास्थ्य निकै कमजोर बनिसकेको थियो । चिकित्सकहरूले धेरै दौडधुप नगर्न भनेको भन्यै गरेपछि विश्राम गर्न वार्मस्प्रिङ्स गए । लुसीलाई पनि त्यतै बोलाए । अप्रिल १२ को दिन लुसी कोठाभित्र पस्दा रुजबेल्ट कुर्सीमा थिए । उठ्न खोजे तर सकेनन् । लुसीलाई हेरेर पहिलो पटक देखेको भावमा मुसुक्क हाँसे । त्यो समय उनी निकै चिन्ताग्रस्तजस्तो देखिन्थे । बिहानदेखि नै निकै टाउको दुखिराखेको थियो तर लुसीलाई समीप पाएर दुखाइ छुमन्तर भयो । ठीक त्यसैबेला फोटोग्राफर कोठाभित्र पसे र फटाफट फोटो खिच्न थाले । रुजबेल्टले लुसीको पनि फोटो खिच्न लगाए । ५३ वर्षीया अपार सौन्दर्यकी खानी लुसी राष्ट्रपतिको यो कुरो सुनेर लजाइन् ।
फोटोग्राफर हिँडेपछि दुबै जना निकैबेर गफमा मस्त भए । एकछिनपछि खाना आइपुग्यो । खाना खाइसकेपछि पनि रुजबेल्ट कुर्सीबाट उठेनन् । अगाडि टेबुलमा सरकारी फाइल थिए । बेलाबेला लुसीलाई हेरिरहेका आँखा ती फाइलतर्फ जान्थ्यो । ठीक त्यसैबेला एक्कासी बायाँ हातले टाउको सुम्सुम्याउन थाले । टाउको एकातर्फ ढल्यो, आफँैले पुनः सिधा पारे र निधार सुम्सुम्याए । सानो स्वरमा टाउको निकै दुख्न थाल्यो भने । लगत्तै निधार सुम्सुम्याइराखेको हात तल झ¥यो । लुसीले के हुन लागिरहेको छ, ठम्याउनै सकिनन् र हड्बडाइन् । लगत्तै रुजबेल्टको होश आयो, कुर्सीमा सिधा परेर बसे । लुसीलाई हेर्न थालेको एकैछिनमै फेरि बायाँतर्फ शरीर झुक्यो । बेहोश भए । राष्ट्रपतिका सहायकले तुरन्त शयनकक्षमा लागे । लुसी पछिपछि गइन् । डाक्टर आइपुगे, उपस्थित सबैको अनुहार मलिन बन्यो । त्यसैबेला लुसीकी साथी सुमोटौफले चिच्याउँदै भनिन्, ‘तिमी यहाँबाट भागिहाल ।’
के भयो र के हुन गइरहेको छ भनेर सोच्नै नसकिराखेकी लुसीले रुजबेल्टका सचिव ग्रेस टुल्लीतर्फ हेरिन् । ग्रेसले पनि उनलाई जान इशारा गरिन् । लुसी लामो लामो पाइला चाल्दै आफ्नो निवासतर्फ लागिन् । उता, डाक्टरले रुजबेल्ट मरिसकेको घोषणा गरिदिए । उनको आँखामा लुसीको तस्बिर थियो । डाक्टरले रुजबेल्टको आँखा बन्द गरिदिए । निवासतर्फ जाँदै गरेकी लुसीले बाटैमा गाडीको रेडियोमार्फत रुजबेल्टको निधनको खबर सुनिन् र क्वाँक्वाँ रुन थालिन् । पागल जस्तै बनिन् । पादरीले फोनैबाट सम्झाउने निकै प्रयास गरे तर उनी बारम्बार एउटै कुरो बोल्दै थिइन्, ‘मेरो सबै कुरो समाप्त भयो, सबै । म अभागीले उनको अन्तिम संस्कारमा पनि भाग लिन नपाउने भएँ ।’
रुँदारुँदा लुसीको अवस्था नाजुक बन्न पुग्यो । बिरामी नै भइन् । सन् १९४७ मा बहिनी भ्वैलेटाले आत्महत्या गरिन् भने सोही साल आमा मिमीको पनि मृत्यु भयो । यी सबै घटनाले उनको स्वास्थ्यमा झन् नराम्रो असर पा¥यो । रुजबेल्ट मरेको ३ वर्षपछि सन् १९४८ को जुलाईमा उनले पनि देह त्यागिन् । त्यतिबेला ५७ वर्षकी थिइन् । लुसीकी छोरी बारबराको रुजबेल्ट धर्मपिता बनेका थिए । उनले धेरैपछि थाहा पाइन् कि रुजबेल्ट उनको धर्मपिता हैन, आफ्नै पिता रहेछन् । रुजबेल्टकी पत्नी इलेनोरको निधन भने सन् १९६२ मा मात्र भयो । उनले सन् १९५२ को मार्चमा नेपाल भ्रमण गरेकी थिइन् ।
टिप्पणीहरू