वकिलका नजरमै आजको न्याय र न्यायालय
एउटाले धरौटी दिनुपर्छ भनेर बहस गर्छ
अर्काेले धरौटी दिनुहुन्न भनेर बहस गर्छ
किनभने
दिनुपर्छ भन्ने पनि वकिल
दिनुहुन्न भन्ने पनि वकिल ।
एउटाले धरौटीको प्रमाण पेश गर्छ
अर्काेले थुनाको प्रमाण पेश गर्छ
प्रमाण र कानुनको चर्चा चल्छ,
नजिर र सिद्धान्तको व्याख्या हुन्छ ।
किनभने त्यो अदालत हो ।
जति बहस गरेपनि
जति प्रमाण बुझाएपनि
जति नजिर उदारेपनि
जति सिद्धान्त सुनाएपनि
उस्ले आफ्नो निर्णय गर्छ,
कहिलेकहिं थुनालाई धरौटी भन्छ
कहिलेकहिं धरौटीलाई थुना दिन्छ
किनभने ऊ न्यायाधीश हो ।
अदालतले न्याय दिंदैन भनेर
अदालतले फैसला गर्दैन भनेर
सदनमा कुरा उठ्छ,
सडकमा चर्चा चल्छ
पत्रिकाका पन्ना भरिन्छ
सदनमा सोधिन्छ
तिमीलाई कालोलाई सेतो भन्न
अनि सेतोलाई कालो भन्न लाज लाग्दैन ?
फैसलाको आत्मालोचना गर्नु पर्दैन ?
सोध्न एकरत्ति पनि हिच्किचाउंदैन
किनभने त्यो नेता हो ।
एउटाले धरौटी दिन्न भन्छ
अर्काेले धरौटी दिन्छु भन्छ
तेश्रोले धरौटी दिन्छु भन्छ
अनि ऊ छुट्छ,
किनभने दिन्छु भन्ने पनि न्यायाधीश
दिन्न भन्ने पनि न्यायाधीश ।
एउटा न्यायाधीशले हुन्न भन्छ
अर्काे न्यायाधीशले हुन्छ भन्छ
हुन्न भन्ने पनि न्यायाधीश
हुन्छ भन्ने पनि न्यायाधीश
हुन्न र हुन्छ
हुन्छ र हुन्न,
जोर र विजोर
विजोर र जोर
आखिर जोर हुन्छ
किनभने
झोलामा न्यायाधीश चुन्ने र गोलामा न्याय छान्ने प्रथा जो चलेको छ ।
टिप्पणीहरू