गाउँका दरबारमा अझै भाडाका तरबार

गाउँका दरबारमा अझै भाडाका तरबार

गाउँका सिंहदरबार भाडामा छन् । नागरिकका घरलाई सिंहदरबार बनाउने कसम खाएका स्थानीय सरकार भने निर्वाचनको साढे ६ वर्षसम्म पनि भाडामै बसिरहेका छन् । 

जनप्रतिनिधिले ५ वर्षे कार्यकाल पूरा गरेर दोस्रो निर्वाचन सम्पन्न भएको पनि १८ महिना पूरा भइसकेको छ । जिल्लाका १३ वटा पालिकामध्ये ६ वटाले अस्थायी प्रशासनिक भवनबाट सेवा दिइरहेका छन् । त्यसमध्ये २ वटा पालिका भाडाको घरबाट सञ्चालित छन् । काभ्रेको विकट क्षेत्रमा पर्ने खानीखोला र बेथानचोक गाउँपालिकाले भाडाको घरबाट नागरिकलाई सेवा दिइरहेका छन् । यस्तै, विकट महाभारत, चौरीदेउराली र रोशी गाउँपालिकाले अस्थायी रूपमा खडा गरिएका कार्यालयबाट सेवा दिइरहेका छन् भने भुम्लु गाउँपालिका वडा कार्यालयमा खुम्चिन बाध्य छ छ । 

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले मात्रै आफ्नै स्थायी प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेका छन् । १३ स्थानीय तहका १ सय ३५ वडा मध्ये ११ वटा वडा कार्यालय अझैसम्म पनि भाडाका घरबाट सञ्चालित छन् । राज्य पुनःसंरचनापछि ८२ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न÷निर्माणाधीन छन् । ४२ वटा वडा कार्यालयले भने साविकका भवनलाई व्यवस्थापन गरेर सेवा दिँदै आइरहेका छन् । खानीखोला गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन । गाउँपालिकाले वर्षमा १० लाखभन्दा बढी भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको उपाध्यक्ष दोर्जेमान जिम्बाले जानकारी दिए । उनका अनुसार सामुदायिक भवनबाट केही सेवा प्रवाह गरिरहे पनि सबै शाखा भाडाकै घरबाट सञ्चालन भइरहेको छ । वडा नम्बर १, २, ६ र ७ को कार्यालय पनि भाडाकै घरमा छ । वडा नम्बर ३, ४ र ५ मा भने नयाँ भवन निर्माण भइसकेको छ । 

खानीखोला गाउँपालिकाको छिमेकी पालिका महाभारतले भने पालिकाको अस्थायी भवनमार्फत सेवा दिइरहेको छ । पालिकाको स्थायी भवन निर्माण क्रममा रहेको गाउँपालिकाका सूचना अधिकारी दिनेश बस्नेतले जानकारी दिए । पालिकाका ८ वटै वडाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको छ । विकट भएर पनि महाभारत गाउँपालिकामा पूर्वाधार सम्पन्न हुँदै गएको छ । बेथानचोक गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै वडा कार्यालय भवन सुविधा सम्पन्न बनाइसक्दा पनि पालिकाको स्थायी प्रशासनिक भवनको भने अझै टुंगो लगाउन सकेको छैन । जग्गा खोज्ने विषयमा कुरा नमिल्दा भवन निर्माण शुरु हुन नसकेको उपाध्यक्ष तारा राना तिमल्सिनाले बताइन् । पालिकाको आफ्नै भवन नहुँदा वार्षिक ५ लाखभन्दा बढी घर भाडामा खर्च हुँदै आएको छ । 

चाैँरीदेउराली गाउँपालिकाले पनि प्रशासनिक भवन निर्माण गरेको छैन । पुरानै भवनलाई व्यवस्थापन गरेर अस्थायी रूपमा कार्यालय सञ्चालन गरिएको छ । नयाँ भवन निर्माण गर्ने योजना रहेको उपाध्यक्ष शेरबहादुर लामाले बताए । भुम्लु गाउँपालिकाले पनि अझै आफ्नो प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । जग्गा प्राप्तिको प्रक्रियामा आफूहरू रहेको उनको भनाइ छ । 

रोशी गाउँपालिकाको आफ्नै स्थायी प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । फागुन/चैतदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको उपाध्यक्ष मिमबहादुर वाइबाले बताए । पालिकाअन्तर्गत १२ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा उपलब्ध गराइरहेका छन् । तेमाल गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको छ । मण्डनदेउपुर नगरपालिकाले भर्खरै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ । नगरपालिकाले झण्डै २४ करोड रुपैयाँ लागतमा निर्मित नयाँ भवनबाट सेवा प्रवाह थालेको हो ।

शहरी क्षेत्रमा पर्ने धुलिखेल, बनेपा पनौती नगरपालिकाको भने आफ्नै प्रशासनिक भवन छन् । यद्यपि, वडा कार्यालय भवन अझै व्यवस्थित भइसकेका छैनन् । बनेपा नगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १२ र १४ को मात्रै नयाँ भवन बनेको छ ।

यस्तै, धुलिखेल नगरपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन भए पनि ४ वटा वडा कार्यालय भाडाको घरबाट सञ्चालन भइरहेका छन् । वडा नम्बर ३, ७, ८ र ९ ले भाडाको घरबाट सेवा दिइरहेका छन् । वडा नम्बर १ को मात्रै नयाँ वडा कार्यालय भवन निर्माण भएको छ । 

नमोबुद्ध नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ भने वडा नम्बर १ को भवन निर्माण अन्तिम चरणमा पुगेको उप–प्रमुख रत्नबहादुर लामाले जानकारी दिए ।

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू