दुई तारे जर्नेलको सरुवा,को कता ?

दुई तारे जर्नेलको सरुवा,को कता ?

नेपाली सेनाका दुई तारे जर्नेल (उपरथी) हरुको सरुवा भएको छ । सात जना उपरथीको सरुवा नियुक्ति तथा अतिरिक्त कार्य काज नियुक्ति गरिएको हो । सरुवाको पहिलो नम्बरमा मध्यपूर्वी पृतना हेडक्वार्टरका उपरथी प्रेमध्वज अधिकारी रहेका छन् । 

ब्याच नम्बर १७६२ भएका उनको युध्दकार्य विभागको विभागीय प्रमुखमा पदस्थापन भएको छ । उपरथी दिपककुमार बानियाँ कार्यरथी विभाग पुगेका छन् । उनले कार्यरथीसँगै अतिरिक्त निमित्त निरीक्षणाधिकृतको समेत जिम्मेवारी सम्हाल्ने छन् । ब्याच नम्बर १७७० भएका उनी पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए । 

सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयको महानिर्देशकमा विजय थापा आएका छन् । सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट सरुवा भएका उनको ब्याच नम्बर १७७५ रहेको छ । उपरथी सुदर्शन सिलवाल मध्यपूर्वी पृतना हेडक्वार्टर गएका छन् । ब्याच नम्बर १८१० भएका उनी सैनिक ईन्टेलिजेन्स महानिर्देशनालयबाट सरुवा भएर त्यता पुगेका हुन् । 

सुदूरपश्चिम पृतना हेडक्वार्टरको कार्यभार गणेशकुमार श्रेष्ठले सम्हाल्ने भएका छन् । कार्यरथी विभागबाट त्यता गएका उनको ब्याच नम्बर १९३० हो । त्यसैगरी, १६८२ नम्बरको ब्याच भएका उपरथी योगराज शर्मा रथी अशोक सिग्देलको ठाउँमा आएका छन् । निरीक्षणाधिकृत विभाग (आफ्नो कार्यको अतिरिक्त निमित्त विभागीय प्रमुख,युद्धकार्य विभाग र निमित्त विभागीय प्रमुख, प्रबन्धरथी विभागको समेत कार्य गर्ने गरी) मा कार्यरत उनलाई व्यवस्था, नीति तथा योजना विभाग पठाइएको हो । 

त्यस्तै, उपरथी शर्मा युद्धकार्य विभागको विभागीय प्रमुख र प्रबन्धरथी विभागबाट अतिरिक्त कार्य काज फिर्ता भएका छन् । ब्याच नम्बर १७६० भएका उपरथी सागरबहादुर थापाले प्रबन्धरथी विभागको समेत कार्यभार सम्हाल्नुपर्ने भएको छ । उपत्यका पृतना हेडक्वार्टरमा कार्यरत उनलाई आफ्नो कार्यको अतिरिक्त प्रबन्धरथी विभागको निमित्त विभागीय प्रमुखमा नियुक्ति गरिएको हो । 

सात जना महासेनानी तितरवितर 

सेनाले दुई तारे जर्नेलसँगै सात जना महासेनानीको पनि सरुवा गरेको छ । महासेनानी अन्जनकेशर खत्री र जयन्द्र केसी सैनिक ईन्टेलिजेन्स निर्देशनालय पुगेका छन् । ब्याच नम्बर २५९५ भएका खत्री वीरेन्द्र अस्पताल र ब्याच नम्बर २८४५ भएका केसी प्रबन्धरथी विभागमा कार्यरत थिए । उपत्यका पृतना हेडक्वार्टरमा महासेनानी वीरेन्द्र मल्ल ठकुरी आएका छन् । 

नम्बर ६ बाहिनी अड्डाबाट उनको त्यता सरुवा नियुक्ति भएको हो । ठकुरीको ब्याच नम्बर २६०६ रहेको छ । नम्बर ९ बाहिनी अड्डाका महासेनानी ब्याच नम्बर २७६८ भएका दिवशदेव खड्काको सरुवा वीरेन्द्र अस्पतालमा भएको छ । महासेनानी सुरेन्द्र सापकोटा सैनिक सामग्री उत्पादन निर्देशनालय पुगेका छन् । ब्याच नम्बर २७७९ भएका उनी उत्तरपश्चिम पृतना हेडक्वार्टरबाट सरुवा भएर त्यता गएका हुन् । 

नम्बर १८ बाहिनी अड्डाका महासेनानी डम्बरबहादुर आलेमगर मध्यपश्चिम पृतना हेडक्वार्टर गएका छन् । यता, प्रबन्धरथी विभागमा महासेनानी भोला पाण्डे आएका छन् । ब्याच नम्बर २७८४ भएका उनी मध्यपृतना हेडक्वार्टरमा कार्यरत थिए ।
 

टिप्पणीहरू