चौरासीको चौरासी

चौरासीको चौरासी

केपी ओलीको मध्य पहाड भ्रमणले एमाले जागरण भन्दा डोनाल्ड ट्रम्पको चुनाव र्यालीको झल्को दियो। ट्रम्पले बाढी पीडित अमेरिकीलाई शौचालयमा प्रयोग हुने कागजको डल्लो फ्याँकेर राहत दिएका थिए।

केपी ओलीले त्यही शैलीमा मध्य पहाडका जनतालाई सुन्तला बाँडेर भिडिओ भाईरल तुल्याए। एक ठाउँमा काठको पारम्परिक रोटे पींग समेत चढ्नै आँटेका थिए, राधिका "आमा" शाक्यले रोकिन्। राजमार्ग विवाद परेको अर्को ठाउँका जनता कार्यकर्ता ओलीलाई आफ्नो ब्यथा सुनाउन फूलमाला र स्वागतद्वार बनाएर कुर्दै थिए। तर ओलीको काफिलाले भोटको राजनीतिमा विवादित त्यो ठाऊँलाई छिर्के हानेर अर्कै ठाउँमा मुकाम बनायो।                       

हठ्धर्मिताको सीमा छुने आत्मबलका धनी र ईखले ओतप्रोत राजनीतिका यी निर्वस्त्र खेलाडी अहिले तिल्मिलाएका छन्। रबि लामीछानेलाई गृह मन्त्रीको कुर्सीमा थचारेर गृह सचिवलाई बालकोटमा हाजिर गराउन्जेल ओलीको आँखामा रंगीन सपना नाच्दैथियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्रचण्ड चोला बिसाएर दौरा सुरुवालमा बालकोट बार्दलीबाट पहाडिया राष्ट्रवादलाई सलामी चढाईसकेको अवस्था थियो। गरीब, निमुखा, शोषित सिमान्तिकृत समुदायको हितमा लाग्दालाग्दै बर्ग परिवर्तन गरेका नामका कम्युनिष्ट खस आर्य नेताहरु पारम्परिक सामन्तवादको ग्रास ग्रहणमा परिसकेका थिए। 

चौरासीको अवस्था के हुन्छ ? मताकांक्षी मात्र होईन, मतदाता समेत रनभुल्लमा छन्। आर्थिक अपचलनजन्य काण्डहरु हरेक दिन सतहमा प्रकट हुनु नयाँ नियमितता भएको छ। लाञ्छनाको जगमा टेकेर सत्ताको आकाशमा उड्ने महत्वाकांक्षा सहित एउटा वा एक भन्दा बढीको भुईंफुट्टा जमात मुख बाएर राज्यकोषको स्वाद लिन आतुर छ। लिंग नछुट्टिएको, बैचारिक रुपले अन्यौलग्रस्त एउटा कथित नयाँ दल चौरासीमा देशको भान्छा आफूले चलाउने उत्कट अभिलाषाका साथ चुनावी मैदानमा दुषित बिउ छर्न लागिपरेको छ। तेत्तिस बर्ष देखि अग्रगामी छलांग र समाजवादी राज्यको दुहाई दिने कथित परिवर्तनकामी दलहरु परिवारवाद र नवपुंजीवादी दलालका खेतालामा रुपान्तरित भएका छन्। यो अवस्थामा जनताको आशामाथि लागेको कालो बादलमा रंगीन तर नक्कली आशा छर्दै उदाएका नयाँ दलका नेताहरु पुरानै दलका नेताहरुका नयाँ संस्करणमा अनुवाद हुँदैछन्। 

ती बाबुराम, यी प्रचण्ड र देउवा ! 

नेपाली राजनीतिमा एकपटक आक्रामक रुपले उदाएका पात्र थिए डाक्टर बाबुराम भट्टराई। पुल पुलेसा, बाटा घाटा र भवन बनाउने सीपका धनी बाबुराम पहिलो संबिधान सभालाई भग्नावशेष तुल्याउने घटनाका कारक बने। उनको नैतिक स्वीकारोक्ति कतिले सम्झिएका छन्, थाहा छैन। उनले सार्वजनिक रुपमै बोलेको कुरा हो, "नेपालको राजनीतिको साँचो हाम्रो होईन, अर्कैको हातमा रहेछ।"  पक्कै पनि उनको ईशारा भारत, चीन, युरोप र अमेरिकाको भूराजनीतिक स्वार्थ तिर थियो। बिशेषत: उनको जोड भारत तिर थियो। भारत रक्षित हुँदाहुँदै पनि उनको यो सार्वजनिक स्पष्टोक्तिले बाबुरामको राजनीतिक जीवन समाप्त तुल्यायो। 

प्रचण्डले यसबाट गतिलो शिक्षा लिएका छन्। त्यसैले आफ्नो पछिल्लो भारत भ्रमणमा उनले "भारतलाई असहज हुने" ठानेर नेपाल र भारतका बौद्दिक व्यक्तित्व समूह (ईपीजी)ले दुई देश बीचको पारम्परिक समस्या सम्बोधन गर्दै सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन गर्ने गराउने कुरामा वास्तै गरेनन्। जनयुद्द कालका एघार बर्ष मध्ये नौ बर्ष भारतको नोएडामा बसेर गुलियो आईसक्रीम खाएको नुनीलो भक्ति प्रदर्शन स्वाभाविक थियो। यतिले नपुगेर उज्जैनको मन्दिरमा गेरु बस्त्र ओढेर प्रकट हुनु उनको अर्को बाध्यता थियो। उनले त्यतिबेला नेपालको राष्ट्रिय स्वार्थमा चूँ बोलेनन्। तर भारतका हिन्दु प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी बर्षको चुनावमा पोष्टर हुन स्वीकार गरे। प्रचण्ड अपवाद होईनन्। 

आफ्नो स्वार्थमा असर पर्ने अवस्थामा नेपालको भूराजनीतिक बाध्यताका बारेमा जनता सामू खुला छलफल गर्ने साहस नेपालका कुनै राजनीतिक दलका नेतामा छैन। ज्योतिषले गरेको "सात पटक प्रधानमन्त्री हुने" भविष्यवाणीलाई आशीर्वादका रुपमा ग्रहण गरेका शेर बहादुर देउवा त्यसलाई फलिभूत तुल्याउन जुनसुकै सम्झौता गर्न तयार छन्। उनको पेटिकोट मोहले मुलुकलाई कहिले चरम दक्षिणपन्थी दरवार त कहिले चरम बामपन्थी माओवादीको ध्रुवबीच चाकाचुली खेलाएको दशकौं बित्यो। 

निराशाजनक यथास्थितिमा उच्छवासको स्वास फेरिरहेका जनताबीच एक चम्किलो भ्रम बनेर उदाएका रास्वपा नेता झनै अपवाद होईनन्। विवादास्पद बिगत, छलपूर्ण वर्तमान र गन्तव्यहीन भविष्यको यात्रामा हाँकिएका रवि लामिछाने सुशासनका पर्यायका रुपमा प्रकट हुनु आफैमा उदेकलाग्दो परिस्थिति हो। तर गणतन्त्र अघि शेरबहादुर देउवा, केपी ओली र माधवकुमार नेपाल र गणतन्त्र पछि पुष्पकमल दाहालहरुले देखाएको निर्लज्ज नाटकबाट आजित जनताले रवि लामिछाने नामका एक अल्पशिक्षित र अहंकारी नटुवालाई आँखा चिम्लेर पत्याईदिएको अवस्था छ। उन्मादी भीडको मानसिकतामा विवेकको कुनै स्थान हुँदैन। उसलाई गाली गलौज मन पर्छ। भीडलाई नेता र नेतृत्वको ओज वा क्षमताको पहिचान पनि हुँदैन। रवि लामिछाने भीडको यही चरित्रको फाईदा उठाएर निशुल्क उडानमा रमाएका एक कुहीराको काग हुन्। उनी पछारिएको दिन उनलाई भन्दा जनतालाई पीडा हुनेछ। 

लामिछाने खतरनाक छन् 

राजनीति पेशा होईन सेवा हो। यसमा ठूलो स्वर र भावनात्मक मोलमोलाई भन्दा नैतिक चरित्रको वजन बढी हुनेगर्छ। नेपालमा राजनीति पेसा होईन, सस्तो सामुहिक गुण्डागर्दीमा रुपान्तरित भएको छ। को हुन् रवि लामिछाने? काभ्रेको मण्डन देउपुरको एक मण्डले परिवारमा जन्मेका लामिछाने अमेरिका हुँदा "राजा आऊ ,देश बचाउ" समूहमा लागेका लोकगायक प्रेमराजा महतको अभिभावकत्वमा हुर्किएका पाउरोटी पोल्ने कर्मी थिए। उनलाई राजनीतिमा लाग्छु भन्ने कल्पना थिएन। अमेरिकी नागरिकता लिएपछि उनको आफ्नै खालको पखेटा पलायो। घर किने। चारोटा पाउरोटी पसलको प्रबन्धक भए। भाँडा माज्न आउने कागज बिहीन मेक्सीकन तरुनीहरुलाई गिजोल्न थाले। ग्राहकसंग पैसा उठाउने एक नेपाली अभिनेत्री संग सुत्न थाले। आफैले जागिर दिएको मेक्सिकन युवती गर्भ बोकेर घरमा बिलौना गर्न आएपछि दुई छोरीकी आमा भैसकेकी श्रीमती लामिछाने  बिष्फोट भईन्। कलह शुरु भयो। लामीछानेको ब्यापार ओरालो लाग्यो।

मुद्दा मामिला हुन थाले। घर बन्धकीमा पर्यो। उनी अमेरिकाबाट भागेर नेपाल आए। त्यस अघिनै गौतम बुद्द नेपालमा जन्मिएको स्थापित मान्यतालाई दोहोर्याउने अर्थहीन तर लामो अन्तर्वार्ता शृंखला प्रसारण गरेर उनले "रेकर्ड" बनाएका थिए। उनलाई नेपाल टेलिभिजनमा "सिधा कुरा प्रधानमन्त्री संग" कार्यक्रम चलाउने अवसर मिल्यो। त्यो खुस्किएपछि उनले "सिधा कुरा जनतासंग" चलाए। गाली गलौजको जगमा कलाविहीन शुन्य बौद्दिकताको कार्यक्रम चलाएर लोकप्रीय भए। अमेरिकाबाट श्रीमतीले पोल खोलिदिने धम्की दिईन्। श्रीमतीले नेपालका अखबारसंग कुरा गर्नु अघिनै "हो मेरो एक बिदेशी युवतीबाट एउटा सन्तान छ" भन्दै फेसबुकमा लेखेर श्रीमतीबाट हुनसक्ने सम्भावित आक्रमणलाई परास्त गर्ने चेष्टा गरे। 

रवि लामिछानेका नेपालका सहयोगीहरु न्यूज ट्वेण्टीफ़ोरमा आउने उनको बमबारी कार्यक्रमको आडमा उठ्तिपुठ्तिको धन्धा गर्न थालिसकेका थिए। शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणले यसको पर्दाफास गर्यो। तर प्रमाणको अभावमा उनीमाथी आर्थिक पक्षमा कारवाही हुन सकेन। उनका हरेक काला आम्दानी निर्मलराज पौडेलको वेलकम बिज्ञापन सेवाले सेतो तुल्याउने क्रम जारी रह्यो। अमेरिकी नागरिकता बोकेर नेपालमा बिना श्रम ईजाजत काम गरेको अर्को मुद्दा ब्युँझियो। उनले नागरिकता बिषयमा ढांटे। प्रेस काउन्सील र सुचना विभागमा दर्ता हुन गरेको आग्रहलाई उनले अहंकारपूर्ण जवाफ दिए -"म पत्रकार होईन। त्यहाँ दर्ता हुनुभन्दा जुत्ता पालीस गर्छु।"  रविको सुशासनका नारा बुझ्न यत्ति पर्याप्त थियो। तर जनताले बुझेनन्। 

"टुंडीखेलमा नेताहरुलाई उडेर घुमेर नाकको डांडी भाँच्चिनेगरी लात हान्ने" शैलीका उनका प्रस्तुतिबाट क्रुद्द अर्का दम्भी नेता केपी ओलीको सरकारले उनलाई पुडासैनीको अन्तिम भिडिओको आधारमा आत्महत्या दुरुत्साहनको मुद्दा लगाइदियो। ओलीको बुद्दीले यहीं मात खायो। लामिछाने जेल के परेका थिए, उनका ससुरा उद्दव पौडेलले आफ्ना राप्रपाका सहकर्मी बिक्रम पाण्डेको पैसा र पहुँचको भरमा चितवनमा राजावादी र अन्य तमासेको जुलुस निकालेर देखाइदिए। रविको पक्षमा माहोल बन्यो। मुद्दा बलियो थिएन, सरकार गल्यो। रवि नेता भए। 

रविले आफ्नै टेलिभिजनमा काम गरेर आफूले भन्दा बढी नाम र दाम कमाएको न्यूज २४ का संचालकलाई मन परेन। संचालकहरु माथि सरकारको दवाव पनि थियो। टेलिभिजनले उनलाई निकाल्यो। ग्यालेक्सी टेलिभिजन र सहकारीमा बचत गर्ने श्रमजीवीको पसीनाको दोहनको प्रारम्भ बिन्दू यही भयो। बलेको आगो ताप्न खप्पीस बिजयकुमार र राजेश हमाल रविको दायाँ खडा भए। सहकारीको पैसा अपचलन गर्दै कमाउने ग्यालेक्सी टिभीका संचालक जीबी राईको आँखाले त्यसपछि रंगीन सपना देख्न थाल्यो। रबि लामिछाने प्रमुख कार्यकारी अधिकृतका रुपमा शुरुमा महिनाको चार लाख, पछि आठ लाख तलब खान थाले। करोडौंको गाडी चढे। लामिछानेकै नाममा बिभिन्न सहकारीबाट करोडौं ऋण निकालियो। तर उनको अहिलेको सफलताको मूल्य ती सहकारीमा दुखजिलो गरी बचत गर्ने गरीब जनताका स्वास्थ्य र शिक्षाको अवसरको लूट हो भन्ने कुरा उनले आत्मसात गरेनन्। लाज पचाएर भने, "मलाई थाहै भएन।" 

गणतन्त्र र संघीयताका कारण परम्परावादी शक्ति कुपित छन्। नयाँ पद्दतिका संवाहकहरु आफै कुशासन र भ्रष्टाचार र कुशासनका ज्यामी भएका छन्। यसमा भने परम्परावादी शक्तिहरु खुशी छन्। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका केपी ओली र माओवादीका पुष्पकमल दाहालले सुशासनको बाटो कहिल्यै नफर्किने गरी पुल पुलेसो डढाईसके। यो पनि पुनारुथानवादीहरुको जीत हो। उनीहरु आफ्नो स्वार्थ बिपरित अर्को देशभक्त ईमान्दार र साहसी नेताको उदय भएको देख्न चाहंदैनन्। भारत नेपालमा  संधै आन्तरिक किचलोको आकांक्षी हो। रवि लामिछाने यी सबै स्वार्थ समूहका लागि उपयुक्त पात्र हुन्।  

मिसन चौरासीको हौवा 

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका बारेमा कुनै निष्ठापूर्ण धारणा सार्वजनिक गर्न अक्षम रवि लामिछानेको रास्वपा अन्य पुराना दलहरु भन्दा अग्रगामी देखिने कुनै आधार खडा भैसकेको छैन। भ्रष्टाचार र सुशासनको दुहाई दिने यो पार्टीका नेता आफैँ सार्वजनिक वित्तीय नियमावली बिरुद्द अवैध आर्जन गरेको आरोप खेप्दैछन्। एनसेल खरीद बिक्री प्रकरणमा प्रधानमन्त्री दाहालले मुखै खोलेर भने, "एन्सेलका नयाँ मालिकले कांग्रेसका शेरबहादुर देउवा र एमालेका केपी ओलीलाई सिंगापुरमा सेवा गरेका छन्।

उ संग मेरो मात्र सम्बन्ध होईन।" रविको रास्वपाले नेपालमा बिदेशी लगानीलाई दीर्घकालीन असर पार्ने यो घटनाका बारेमा एक शब्द बोलेन। तर बुटवल नारायणघाट सडक मर्मतको नारा दिएर पदयात्रामा हिंड्यो। सांसद भए लगत्तै जसरी उनी चितवनका काठ गोदाममा छापा मार्न हिंडेका थिए, अहिले पनि उनको दृष्टिकोण संघीय सांसदका रुपमा स्पष्ट छैन। उनलाई संविधानका मर्मका बारेमा कुनै ज्ञान छैन। आर्थिक नियमावलीका बारेमा उनलाई थाहै छैन। तर चौरासीको चुनावपछि "देश चलाउने" हुटहुटी छ। 

तर के चौरासी रवि लामिछानेको महत्वाकाँक्षालाई मलजल गर्ने गरी आउला? शंका छ। राजावादीहरु चौरासीको चुनाव नहोस भन्ने सपना देख्दैछन्। उनीहरु राष्ट्रियताको नारा संगसंगै आफ्नो अभिष्ट पुरा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सिमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथाको कृपाका आकाँक्षी देखिन्छन्। भारतीय कृपाको सपना देख्ने लाममा रवि लामिछाने पनि पछाडि परेनन्। मोदीका सहोदर भाई प्रल्हाद मोदी गत बर्ष नेपाल आउँदा होटल हिमालयमा चुपचाप फूलको गुच्छा लिएर पुगेका लामिछानेले बन्द कोठामा के के मन्त्रणा गरे? यो कुरा उनले जनतालाई मात्र होईन, आफ्नै पार्टीका केन्द्रीय सदस्यहरुसंग पनि साझा गर्न आवश्यक ठानेनन्।

जलेश्वर बैठकमा शेर बहादुर देउवाले नेविसंघका पदाधिकारी नियुक्त गरेको शैलीमा पार्टी बिधान संशोधन गरेर आफ्ना मान्छे भर्ती गरे। बोल्न चाहनेलाई दुई मिनेट पनि समय दिएनन्। पार्टी सभापतिको कथित लोकप्रीय छायाँमा छेलिएका अन्य युवा नेताहरु मौन रहे। रास्वपा नयाँ उदाएको युवाहरुको दल भन्नु केवल आवरण मात्रै हो र यो मौकापरस्त  दलका धूर्त सभापति सत्तामा पुग्न जोसुकैसंग सम्झौता गर्न तयार पुराना नेताका नयाँ संस्करण हुन् भन्ने कुरा स्पष्ट छ। तर पछौतेपनाले ग्रस्त समाजका सदस्यहरु आँखा खुला भएर्रा पनि देख्दैनन् भने यो बिडम्बना हो। यसको मूल्य लामीछाने होईन, समाजले नै चुकाउनेछ।  

यो यही नेपाल हो, जहाँ दोश्रो जनअन्दोलनको प्रतिकार गर्न प्रत्यक्ष भूमिका खेल्ने राजावादी कमल थापा आन्दोलन पछि पटक पटक सत्तामा पुगे। लोकमान सिंह कार्की जस्ता तत्कालीन मुख्य सचिव र दुर्दान्त दरवारिया हुकुमप्रमांगी भ्रष्ट प्रशासक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख भएर देखाए। रातारात सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी आफ्नो पद कायमै राखेर देशको कार्यकारी प्रमुख भएर चुनावी सरकार चलाए। यी सबै घटनामा बिदेशीको प्रत्यक्ष हात थियो। नेपाली नेताहरुको नीरिह अनुहार जनताले देखे तर बिर्सिए। चौरासीको चुनाव पनि यस्तै अप्रत्याशित नीरिहताको शिकार हुने सम्भावना बलियो हुँदैछ। राजावादीले चाहेकै यही हो। 

पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र माधव नेपालको राजनीति अब डांडा काट्ने तर्खरमा छ। बिस्तारै रवि लामीछाने, राजेन्द्र लिङ्ग्देन, रबिन्द्र मिश्र, स्वर्णीम वाग्लेहरुको प्रतिगामी गठबन्धनको माहौल बन्दा आश्चर्य हुनेछैन। त्यतिबेला जनताले युवा नेताका रुपमा स्थापित गरेका रास्वपाका मनिष झा देखि सुमना श्रेष्ठ सम्म केवल फड्के किनाराका साक्षीमा सिमित हुनेछन्। देश युवा नेताका नाममा चल्नेछ। तर देश चलाउने युवा नेताहरुले देश कसले चलायो, चलाउंदैछ वा चलाउनेछ भन्ने कुराको भेउ नै पाउने छैनन्।

ज्ञानेन्द्र शाहले नेपाल कसले चलाएको छ भन्ने कुरा माघ १९ को सैनिक कू गरिसकेपछि बुझे। गिरिजाप्रसाद कोईरालाले टनकपुर सन्धीपछि पाठ पढे। मनमोहन अधिकारी केही बुझ्नै नपाई पदमुक्त भए। शेरबहादुर देउवाले सबै बुझेर जसो गर्दा आफ्नो भलो हुन्छ त्यसै गरे। प्रचण्डलाई यो कुरा बुझ्न तत्कालीन प्रधान सेनापति रुक्मागाद कटुवाल संग निहुँ खोज्नुपर्यो। त्यसपछि उनलाई गेरु बस्त्र धारण गर्न कुनै संकोच भएन। ओलीले चुच्चे नक्सा देखाएर नेपालीलाई प्रभावित गर्न के खोजेका थिए, रअ प्रमुख सामन्त गोयलले मध्यरातमा एउटा कक्षा लिएपछि उनको होस् ठेगानामा आयो। 

रवि लामिछाने वा उनीसंग सोहोरिएर सत्तामा पुग्ने कसैले पनि कुरा बुझ्नु र नबुझ्नुको कुनै अर्थ छैन। भुक्ने कुकुरले टोक्दैन। काखे कुकुरले हरिण मार्दैन। यीनीहरु मुर्जा फुस्केका तोप मात्रै हुन्। पड्किन्छन्, तर तारोमा हान्दैनन्। चौरासीको सपना देखिरहेका रंगीन आँखाहरु निराशाको बादलले ढाकिनेछन्। 


 

टिप्पणीहरू