उत्तरको फोहोर सारेर दक्षिणतिर

उत्तरको फोहोर सारेर दक्षिणतिर
सुन्नुहोस्

सिसडोल, नुवाकोट–ककनीसँगैको एउटा गाउँ जुन १९ वर्षअगाडि २ वर्षका लागि काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनका लागि भाडामा लिइएको थियो । सुन्दर र हराभरा पर्यटकीय गन्तव्य ककनीको काखैमा भएको यो सिसडोल अहिले अत्यन्त पीडादायी र दुर्गन्धित अवस्था व्यहोरिरहेको छ ।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर, सूर्यविनायक, मध्यपुर ठिमीलगायत अधिकांश नगरपालिकाको अधिकांश स्थानको फोहोरमैला सिसडोल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा दुई दशकदेखि व्यवस्थापन गरिएको छ । डम्पिङ साइट र ल्याण्ड फिल साइटको रूपमा परिचय बनाएको यो ठाउँको विकल्प खोज्नु सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । 

पटक–पटक मेयर फोरममा यसबारे चर्चा हाल उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जनको टाउकोमा जिम्मेवारी आएको छ । महर्जनले टाउको दुखाइ शान्त गराउन ललितपुरको दक्षिणी भेग रोजेका छन् । शान्त कूटनीतिको सहारामा काम फत्ते गर्ने बानी परेका उनले महांकाल गाउँपालिकालाई फकाइरहेका छन् । वडा नं २ को मानिखेल र कोञ्ज्योसोम गाउँपालिकाको वडा नं १ चौघरेको सीमाक्षेत्रलाई आधार मानेर २०–३० वर्षका लागि फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ हुन सक्छ भन्नेसहित मेयर फोरममा समेत विकल्पको रूपमा खासखुस शुरु भइसकेको छ । 

महांकाललाई फकाउन त्यहाँका पूर्वाधार विकासमा उपत्यकाका महानगरपालिका र अन्य नगरपालिकाले व्यापक सहयोग जुटाइदिने बचनसमेत दिइएको बुझिएको छ । स्थानीयलाई रोजगारीको व्यवस्था गरिदिने, पूर्वाधार विकासमा पनि सघाउने भन्दै कुरा भइरहेको महांकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले निकटस्थहरूसँग स्विकारेका छन् । कुरा मिलाउन कांग्रेसका नेता ऋषि फुयाँल, कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेहरू लागेको बताइन्छ । 

ककनीको दुर्गति देख्दादेख्दै आफ्नो क्षेत्रमा यसरी फोहोरमैला थुपारियो भने नेताहरूलाई गाउँ छिर्न दिइन्न भन्दै स्थानीयले विरोधको संकेत गरिसकेका छन् । 
 

टिप्पणीहरू