एक रुपैयाँ उठाउँदै हिँड्नेको प्लेन उडाउने धोको
भनिन्छ, दृढ इच्छाशक्ति र आत्मबल भए लक्ष्यप्राप्तीमा धेरै बेर लाग्दैन । प्रयास गरिरहने र हार नखाने व्यक्तिले सफलताको शिखर चुम्छ नै । दुवै खुट्टा गुमाएकाले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर इतिहास रचेका छन् । कुहिनामुनि दुवै हात नभएकाले सरकारी सेवाको आडमा राष्ट्रको सेवा गरिरहेको उदाहरण पनि छ । अरुका लागि त्यस्तै नै एउटा उदाहरण बन्न चाहन्छन् दिपेन्द्र घिसिङ्ग । पाइलट बन्ने सपना देखेका दोलखाका दिपेन्द्रको ‘अध्ययनका लागि एक रुपैयाँ संकलन अभियान’ अहिले निकै नै चर्चामा छ ।
बैतेश्वर गाउँपालिकामा जन्मिएका उनले थालेको अभियान धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । गरिबीका कारण कक्षा १२ पछि कलेज भर्ना गर्न नसकेका उनले अभियानको तीन महिनामै ५७ लाख रुपैयाँ उठाएका छन् । उनी आफूलाई अभिभावकविहीन भन्छन् । सानैमा बुबाले आमालाई छाडेर अकै विवाह गरे । झण्डै ६ वर्षअघि आमाले पनि अर्को श्रीमान् रोजिन् । त्यसपछि उनले कहीँ–कतै गुहार्ने ठाउँ पाएनन् । जसोतसो मामाले पढाए । कक्षा १ देखि १० सम्म नियमित अध्ययन गरेका उनले आर्थिक कारणले कक्षा ११ को बीचमै पढाई छोड्नुपर्यो ।
कक्षा भर्ना भए तर शुल्क तिर्न नसकेपछि ‘ड्रप आउट’ गरे । कलेजले सम्पूर्ण शुल्क तिरे कक्षा ११ र १२ कै परीक्षाको निम्ति डाकेपछि उनले जसोतसो शुल्क तिरे । परीक्षा दिए र उत्तीर्ण पनि भए । त्यसपछि उनी शिक्षण पेशामा संलग्न भए ।
पाइलट बन्ने सोचका साथ मेहनतले पढेका उनी सहयोगका लागि सरकारको विभिन्न निकायमा धाए । स्थानीयदेखि संघसम्मका जनप्रतिनिधि गुहारे । तर, सबैले एउटा कानले सुन्ने र अर्को कानले उडाइदिए । सरकारबाट डाक्टर, इन्जिनियर पढ्ने विद्यार्थीले छात्रवृत्ति पाउने तर पाइलट पढ्न चाहनेका लागि छात्रवृत्ति दिने व्यवस्था नभएको जवाफ पाए ।
तर, उनी आफ्नो अठोटबाट पछि नहट्ने अडानमा बसे । सपना जसरी पनि पूरा गर्न लागेका उनले तीन महिनाअघि पत्रकार सम्मेलन गरेर एक रुपैयाँ संकलन अभियानको घोषणा गरे । भन्छन्, ‘पाइलट बन्ने मेरो सानैदेखिको सपना हो । त्यो सपना पूरा गर्छु भन्ने अठोट ममा छ । एउटा दुर्गम जिल्लाबाट आएको गरिब परिवारको सन्तानले ठूलो सपना देख्न सक्दैन भन्ने सोच बदल्न मैले यो अभियान थालेको हुँ । सपना देखेँ, मेहनत गरे सफल भइन्छ भन्ने उदाहरण बन्न चाहन्छु म । मैले सहयोगका लागि सबैतिर गुहारे । तीन वटै तहका सरकारमा आफ्नो समस्या राखे । तर, कतैबाट सुनुवाई भएन । त्यसपछि एक रुपैयाँ संकलन गर्ने अभियान थाले ।’
शुरुमा उनलाई एक रुपैयाँ उठाएर सपना पूरा गर्न सकिएला भन्ने डर थियो । हाल उनी आफ्नो लक्ष्य नजिकै पुगेका छन् । तीन महिनाको अवधिमा ५७ लाख रुपैयाँ संकलन गर्नु चानचुने कुरा होइन् । उनी एउटा कार्टुन बोकेर दिनभरि घर–घर, पसल–पसल पुग्छन् । उनलाई सबैले सक्दो सहयोग गरिरहेका छन् ।
गरिबका सन्तानले उच्च शिक्षा हासिल गर्न सक्दैन भन्ने भ्रम चिर्न पाइलट नै बनेर देखाउने उनी बताउँछन् । ‘गरिबको सन्तान सँधै खाडी नै जानुपर्छ भन्ने भ्रम हामीकहाँ छ । म यो भ्रम चिर्न चाहन्छु । आर्थिक अभावका कारण बीचमै पढाइ छोड्न लागेका विद्यार्थीलाई लक्ष्य हासिल गर्न म एउटा प्रेरणाको स्रोत बन्न सक्छु भन्ने लागेको छ । इच्छा भए, उपाय आफैं निस्किन्छ । आफ्नो लक्ष्यमा अडिग रह्यो भने सफलता धेरै टाढा छैन भनेर पाठ सिकाउनेछु’, उनले भने ।
कक्षा १२ सम्मका विद्यार्थीलाई पढाउँदै आएका उनी अहिले शिक्षण पेशा छाडेर पूर्ण रुपमा अभियानमा लागेका छन् । आफू पाइलट बनेपनि अन्य विद्यार्थीका लागि यो अभियान चलाइराख्ने उनी बताउँछन् । आफ्नो अभियान सरकारलाई दबाब दिन पनि भएको उनको जिकिर छ । सरकारले उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई शैक्षिक ऋण दिनुपर्नेमा उनको जोड छ ।
घिसिङ्गले सुनाए, ‘आर्थिक अवस्था कमजोर भएकाले बीचमै पढाइ छोड्नुपर्ने बाध्यता छ । सरकारले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई शैक्षिक ऋण दिनुपर्छ । विद्यार्थीले आफ्नो पढाइ सकेपछि कमाउँदै ऋण तिरिहाल्छन् । बाहिरी मुलुकमा सरकारले विद्यार्थीलाई शैक्षिक ऋण प्रवाह गर्छ । उनीहरुले पढेर आफ्नै देशको सेवा गर्छन् र त्यहाँको विकास भएको छ । हामीकहाँ बुबाआमासँग पढाउन सक्ने क्षमता हुँदैन् अनि पढाइ बीचमै छोडेर बाहिर जानुपर्छ ।’ पाइलट बनिसकेपछि पनि आफ्नो मासिक तलब गरिब विद्यार्थीको शिक्षामा लगानी गर्ने उनले बताए ।
टिप्पणीहरू