यस्ता राजा–रानी कहाँ पाउनु अन्त
कुनै पनि देशको शक्तिशाली पदमा पुगेका व्यक्तिहरू सकेसम्म लामो समय शत्ताको वरिपरि बसिरहन मन पराउँछन् । प्रजातान्त्रिक शासन प्रणालीबाट छानिएका नेता पनि यही शक्ति भोगका कारण निरंकुश व्यवस्था स्थापित गरेर सकेसम्म लामो समय टिकिरहन चाहन्छन् । राजतन्त्रमा त राजा वा रानीको मृत्यु नभएसम्म अर्को पुस्तामा शासन हस्तान्तरण हुनु त्यति सहज मानिँदैन ।
यही युगमा केही देशका राजा वा रानीले जीवित हुँदा नै गद्दी त्याग गरी सत्ता हस्तान्तरण गरेका केही उदाहरण पनि छन् । त्यसो त सत्ता प्राप्तिका लागि दरबारमा अनेक पाशविक घटना पनि भएका छन्।यही जनवरी १४ आइतबारको दिन डेनमार्कमा करिब ९०० वर्षको इतिहासमा पहिलो पटक रानीले जेठो छोरालाई श्रीपेच जिम्मा लगाएकी छन् । त्यो देशले ५५ वर्षीय राजा फ्रेडरिक दशौं पाएको छ भने रानी ५१ वर्षीय मेरी हुन् ।
मेरी अष्ट्रेलिया बसोबास सरेका स्कटिस बाबुआमाकी कान्छी छोरी हुन् । ताञ्जानियाको राजधानीमा जन्मिएकी मेरी अमेरिका, बेलायत, फ्रान्स हुँदै डेनमार्क पुगेकी थिइन् । तर, युवराजसँगको प्रेम भने स्पेनका राजकुमार फेलिपमार्फत सन् २००० मा अष्ट्रेलियामा सम्पन्न ओलम्पिक खेलका दौरान एक पबमा भेट भएपछि शुरु भएको थियो । विवाह सन् २००४ को मे १४ मा भएपछि मात्र मेरीले डेनमार्कको नागरिकता प्राप्त गरेकी हुन् । उनीहरूका १८ वर्षीय युवराज क्रिस्टियन, १६ वर्षीय राजकुमारी मार्गरेट र १२ वर्षीय जुम्ल्याहा दाजु–बहिनी छन् ।
८ सेप्टेम्बर २०२२ मा बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि डेनमार्ककी महारानी मार्गरेट दोस्रोले अप्रत्यासित रूपमा राज सिंहासन छाडेकी हुन् । केही महिनाअगाडि कम्मरसम्बन्धी रोगले ग्रसित भई अस्पताल पुगेर फर्केपछि परम्परागत रूपमा नयाँ वर्षको अघिल्लो दिन गरिने शाही संबोधनमार्फत् उनले जनवरी १४ का दिन शासन छाड्ने घोषणा गरेकी थिइन् । यो अस्वाभाविक घोषणाले सबैलाई आश्चर्यचकित तुल्याएको थियो । ८३ वर्षीय मार्गरेट करिब ९०० वर्षमा स्वेच्छाले राजगद्दी त्याग्ने पहिलो डेनिस राज्य प्रमुख बनेकि छन् । सन् १९४० मा उनी जन्मिँदा डेनिस संविधानअनुसार पुरुष मात्र राजा बन्न पाउने व्यवस्था थियो ।
तर, सन् १९५३ मा संसद्ले महिला पनि शासनको हकदार बन्न पाउने गरी उत्तराधिकारसम्बन्धी कानुन संशोधन गरेपछि बल्ल उनलाई रानी बन्ने बाटो खुल्यो । उजी पहिलो डेनिस महिला राष्ट्र प्रमुख बन्न सकिन् । त्यसो त उनी पछि लगातार दुई बहिनीको जन्म भएको कारण राज्यारोहण गर्ने छोरा नहुँदा कानुन संशोधन गर्नुपर्ने बाध्यता नै थियो । राजा फ्रेडरिक नवौंको सन् १९७२ जनवरी १४ मा मृत्यु भएपछि उनले शासन सम्हालेकी हुन् । उनकी आमा स्वीडेनकी राजकुमारी महारानी इन्ग्रिडको मृत्यु भने सन् २००० मा भएको थियो । बेलायतलगायत अन्य राजतन्त्रात्मक देशमा हुनेजस्तो औपचारिक राज्याभिषेक समारोह डेनमार्कमा गर्ने चलन छैन ।
रानी घोषणा हुनु अगाडि १९६७ को जुन १० मा उनको विवाह फ्रान्सको बोर्डो नजिकै जन्मिएका हेनरिकसँग भएको थियो । सायद बिदेशी नागरिक भएकै कारण हेनरिकलाई पनि बेलायतमा फिलिपलाई जस्तो जीवनभर राजा घोषणा गरिएन र राजकुमार मात्र भनियो । यस विषयमा हेनरिक त्यति खुशी थिएनन् तर राज्याभिषेक भएदेखि नै उनले पत्नीको शाही क्रियाकलापमा भने सक्रिय सहभागिता जनाएका थिए । बेला बखत त्यहाँको पत्रपत्रिकामा पनि उनलाई अपमान गरेर शाही रोलक्रममा समावेश नगरिएको खबर छापिने गरेको थियो । उनको मृत्यु ८३ वर्षको उमेरमा डिमेन्सिया रोग पत्ता लागेको एक वर्ष पछाडि सन् २०१८ मा भएको थियो । उनीहरूका दुई छोरा भए । सन् १९६८ मे २६ मा जेठो छोरा जन्मेको एक वर्षपछि नै जुन ७ मा कान्छो छोरा योआकिमको आगमन भएको थियो ।
ठीक ५२ वर्ष शासन चलाएको महारानीलाई डेनिस जनताले ठूली आमाको रूपमा सम्मान गर्दथे । संसारभरिका मानिसले पनि नराम्रो भनेनन् । फेसन तथा पुरातात्विक विषयमा उनलाई ज्यादै रुचि थियो । शासन छाड्ने बेला ७२ डेनिस र ८ विदेशी संघ संस्थाको संरक्षकको भूमिकामा थिइन् । उनी एक सिद्धहस्त पटकथा लेखक पनि हुन् ।सन् २०२२ मा मार्गरेथले आफ्ना छोरा राजकुमार योआकिमका चार छोराछोरीलाई शाही उपाधिबाट हटाउने निर्णय गर्दा भने केही विवादास्पद टिप्पणी सार्वजनिक भएका थिए ।
राजकुमार स्वयंले यो निर्णयबाट आफ्ना छोराछोरीमाथि अन्याय भएको भनेका थिए । सोही वर्ष क्रिशमस मनाउन जेठो छोरा सपरिवार अष्ट्रेलिया र कान्छा छोराको परिवार पनि विदेश जाने भएकाले रानी आफ्नी बहिनी र केही साथीसँग मात्र हुँदा दरबारभित्र ठूलो समस्या हुन सक्ने अनुमान थियो । महारानीले भने यस्तो निर्णय लिनु दुःखद हुँदाहुँदै पनि आफ्ना नाति–नातिनीले जीवनभर शाही दायित्व बहन नगरी सामान्य जीवन बिताउन सहज होस् भन्ने रहेको बताएकी थिइन् । दरबारियाको संख्या घटाएर राज्यको आर्थिक बचत गर्ने उद्देश्य पनि हुन सक्ने भएकाले यस विषयमा थप केही समस्या भने आएन ।
बेलायत र डेनमार्कको राजपरिवारबीच नाता सम्बन्ध छ । महारानी भिक्टोरिया र डेनमार्कका राजा क्रिश्चियन नवौं बीच नाताको आधारमा एलिजाबेथ र मार्गरेथ टाढाको दिदी–बहिनी हुन् । मार्गरेथ एलिजाबेथ द्वितीयाका स्वर्गीय पति राजकुमार फिलिपका नातेदार हुन् । बेलायतका राजा चाल्र्सका पिता फिलिपको जन्म ग्रिस र डेनमार्कको राजकुमारका रूपमा भएको थियो र उनको पुख्र्याैली नाता महारानी भिक्टोरिया र राजा क्रिश्चियन नवौंसँग पनि थियो ।डेनमार्क जस्तै केही देशमा युवालाई शासन चलाउन दिनुपर्छ भनेर आफू जीवित हुँदा नै शासन सुम्पेको घटना थुपै पाइन्छ । सन् २००० पछाडि गद्दी त्यागका केही उदाहरण यस्ता छन् ।
सन् १९६४ देखि लक्जम्बर्गमा शासन गर्ने राजा जिनले ७ अक्टोबर २००० मा जेठो छोरा हेनरीलाई शासन सुम्पेका थिए । उनको मृत्यु ९८ वर्षको उमेरमा सन् २०१९ मा भयो । छोरा हेनरी अहिले ६८ का छन् । त्यस्तै, कम्बोडियाका राजा नरोद्धम सिंहानुकले सन् २००४ मा ८२ वर्षको उमेरमा ५१ वर्षीय छोरा नरोदम सिहामोनीलाई शासन सुम्पिए । कुवेतका राजा साद अल–सलिम अल–सबाहले स्वास्थ्य स्थितिका कारण राजा भएको १० दिनपछाडि नै पदत्याग गरी भाइलाई शासन बुझाए । १६ वर्षकै उमेरमा भुटानको राजा भएका जिग्मे सिंघे वाङ्चुकले सन् २००६ को डिसेम्बर ९ मा २६ वर्षीय छोरा जिग्मेकेशर नाम्गेललाई शासन जिम्मा दिए ।
नेदरल्याण्ड्सकी महारानी बिट्रिक्सले सन् २०१३ मा ७५ वर्ष नपुग्दै ३३ वर्षको शासनकालपछि राजगद्दी त्याग्ने घोषणा गरेसँगै राजपरिवारले सन्यास लिने प्रवृत्तिमा वृद्धि भएको देखिन्छ । छोरा विलियम अलेक्जेन्डरलाई राजगद्दी सुम्पिने निर्णयबारे व्याख्या गर्दै उनले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने समय आएको बताएकी थिइन् । नेदरल्याण्ड्समा भने राज्य त्याग गर्नु एउटा परम्पराजस्तै बनेको छ । बिट्रिक्सकी आमा जुलियाना र हजुर आमा विल्हेल्मिना दुबैले शासन त्याग गरेका थिए ।
बिट्रिक्सले गद्दी त्यागेको तीन महिनापछि बेल्जियमका राजा अल्बर्ट द्वितीयले सिंहासन छोरा फिलिपलाई सुम्पने निर्णय गरे । ७९ वर्षका अल्बर्टले उमेर र स्वास्थ्यले आफूलाई सबै कर्तव्य पूरा गर्न नदिएको बताएका थिए । सन् १८३० मा बेल्जियम स्वतन्त्र भएदेखि स्वेच्छाले राजगद्दी त्याग्ने उनी पहिलो राजा हुन् ।कतारका शेख हमाद बिन खलिफा अल थानीले त ६१ वर्षको उमेरमा नै सन् २०१३ मा चौथो छोरालाई सत्ता हस्तान्तरण गरेर अवकाश लिए ।
स्पेनका राजा हुवाँ कार्लोसले पनि विभिन्न आरोप लाग्न थालेपछि सन् १९ जुन २०१४ मा राजगद्दी त्यागे । २२ नोभेम्बर १९७५ देखि शासन सञ्चालन गरेका कार्लोस एकताका यति प्रख्यात थिए कि त्यहाँका जनताले हामी राजावादी हैन कार्लोसवादी हौँसम्म भन्ने गर्थे । सन् २०१९ सम्म उनी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सक्रिय भए तर उनीमाथि पहिला भए÷गरेका अनेक गल्तीको निम्ति अभियोग लगाउनुपर्ने माग बढेपछि सन् २०२० अगस्त ३ देखि अबुधाबीमा निर्वासित जीवन बिताइरहेका छन् । सन् २०१९ मा जापानी सम्राट् अकिहितोले ८५ वर्षको उमेरमा राजगद्दी त्याग्ने निर्णय गरेका थिए । अहिले ९० वर्षको उमेरमा पनि सामान्य जीवन बिताइरहेका पूर्वराजाले युद्धद्वारा तहसनहस भएको जापानलाई विश्वमै एक समृद्ध देश बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
पहिला पहिला त राजाहरू स्वयं लडाइँमा जाने तथा स्वास्थ्य उपचारको अभावमा कम उमेरमै मृत्यु भै शासन हस्तान्तरण हुने चलन थियो । अहिले औषधि विज्ञानको विकासले सामान्य मानिसको समेत बाँच्ने उमेर उल्लेख्य रूपमा बढेको छ । त्यसमा पनि राजकीय जीवन र औषधोपचारले लामो समयसम्म बाँच्ने हुँदा उत्तराधिकारीले धेरै उमेरसम्म सत्ता पाउने आशमा अल्झिरहनुपर्ने हुन्छ । बेलायती महारानीको मृत्युपछि राजा बनेका चाल्र्सको उमेर नै ७४ वर्ष पुगिसकेको थियो ।
उनले आफू पछि राजा हुने छोरा विलियमलाई कति समय कुर्न लगाउने हुन् त्यो भने हेर्न बाँकी नै छ । अन्य व्यवस्थामा त अरुलाई छाड्नुपर्ने हुन्छ तर आफ्नै छोराछोरीलाई शासन सुम्पन पनि किन कन्ज्युस्याइँ गरिन्छ होला ! त्योचाहिँ उदेकलाग्दो छ । आफू जीवित हुँदा नै छोरा वा छोरीको राज्याभिषेक हेर्न पाउनु त झन् खुशीको विषय हुनुपर्ने हैन र !
टिप्पणीहरू