धर्मको आवरणमा धर्मगुरुद्धारा अपराध

धर्मको आवरणमा धर्मगुरुद्धारा अपराध

धर्म विश्वास हो । विश्वमा अनेकन धर्महरु स्थापित भएका छन् । नेपालमा पनि विभिन्न धर्म मान्ने गरिएको छ । धर्मप्रति सबैको आस्था हुन्छ । जुनसुकै धर्म मानेपनि सबैको मूल्यमान्यता एउटै जस्तो छ । हरेक धर्मले सिकाउने कुरा एउटै छः सत्यता, नैतिकता, इमान्दारिता र अनुशासन ।  

तर, पछिल्लो समय धर्म व्यापार बन्दै गएको छ । पैसाबिना धर्म हुँदैन भन्ने मानसिकताले समाज ग्रस्त छ । धर्मको नाममा ‘ठग’ हरुको कमाउधन्दा चलेको छ । धर्मको बर्को ओढेर सोझासाझीलाई लुटी खाने प्रवृत्ति मौलाएको छ । धर्मको पसल खोलेर ठगीसँगै यौन शोषणजस्ता जघन्य अपराध गरेको आरोप धर्मगुरुहरुमाथि लाग्दै आएको छ । 

धार्मिक संस्थाका हर्ताकर्ताहरुले आफ्नो आश्रममा बसेका महिलामाथि गिद्देनजर लगाउँदा उनीहरु पतन हुँदै गएका छन् । धर्मको आडमा भएका अपराधहरु एकपछि अर्को गर्दै बाहिरिरहेको छ । तर, धर्ममाथि आँखा चिम्लेर विश्वास गर्ने क्रम नरोकिँदा धर्मगुरुहरुको लुटको धन्दा चलिरहेकै छ । धर्मगुरुहरुले धर्मको नाममा अन्धा भक्तहरुलाई चंगुलमा पारेर उनीहरुबाट फाइदा लिइरहेका छन् ।  

मन्दिरका पुजारी, गुम्बाका रिम्बोर्छे, चर्चका पास्टरलगायतका धर्मगुरु विभिन्न काण्डमा मुछिएका छन् । भक्तहरुले आफूमाथि गरेको विश्वासको उनीहरुले नाजायज फाइदा उठाउने गरेका छ । विवादास्पद ‘तपस्वी’ एवम् बौद्ध धर्मका गुरु रामबहादुर बम्जन गत पुस २४ गते पक्राउ परे । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाट समातेको हो । 

आश्रममा बस्ने आनीलाई यौन शोषण गरेको र चार जना अनुयायी बेपत्ता पारेको आरोप लागेको उनीविरुद्ध २०७६ माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । त्यसपछि फरार भएका उनलाई खोज्न सीआईबीले ‘अपरेशन ब्लू’ चलायो । सीआईबीको लामो प्रयासपछि समातिएका उनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ, विभिन्न १७ वटा मुलुकका ३० लाख ९२ हजार ४०४ रकम फेला परेको थियो । 

त्यस्तै, विभिन्न मोडलका मोटरसाइकल र स्कुटी, ल्यापटप, मोबाइल, गाडी पनि बरामद गरिएको थियो । उनले ‘ल्याण्ड क्रुजर जेटएक्स’ गाडी किन्नका लागि धुम्बाराहीस्थित युनाइटेड टेड्रर्स साइन्डिकेट प्रालिमा तीन करोड रुपैयाँ भुक्तानी गरेकोसमेत खुलेको थियो । उनी पक्राउ परेपछि पूर्वराज्यमन्त्री यशोदा लामालगायत सीआईबी पुगेका थिए । 

आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउने दोलखाका पुरुषोत्तम काफ्ले गत असारमा पक्राउ परे । काठमाडौंको गौशालामा आश्रम बनाएर बसेका उनीमाथि ठगी र यौनशोषणको आरोप लागेको थियो । महिलालाई घरबाट विद्रोह गर्न आह्वान गरेर प्रवचन दिने काफ्लेले नारी उत्थानका लागि भनेर भक्तजनहरुबाट करोडौं रुपैयाँ उठाएका थिए । 

त्यसपछि फरार रहेका उनलाई सीआईबीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याएको हो । अर्का विवादित धर्मगुरु हुन् सिद्धबाबा भनिने कृष्णबहादुर गिरी । कथित हिन्दू धर्मगुरु ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ बलात्कारको आरोपमा अस्पतालबाटै पक्राउ परेका थिए । सुनसरीको चतराधाममा आश्रम सञ्चालन गर्दै आएका उनीमाथि एक महिला अनुयायीले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । 

गैरकानुनी रुपमा दोहोरो नागरिकता लिएको आरोपसमेत लागेका उनी त्यसपछि समातिए । सुनसरी जिल्ला अदालतले मागेको धरौटी बुझाएर उनी छुटेपछि मुद्दा उच्च अदालत, विराटनगरमा पुगेको थियो । उच्चले जिल्लाको आदेश बदर गरेपछि उनी भारत भागेका हुन् । ललितपुरस्थित आशा विश्वासी चर्चका पास्टर विश्वास भनिने धुव्रबाबा जोशी अनुयायीलाई बलात्कार गरेको आरोपमा २०७६ सालमा पक्राउ परे । 

पास्टरसँग शारीरिक सम्बन्ध राखेमा परमेश्वरले पापबाट मुक्ति दिलाउने भ्रम छरेर एक युवतीलाई पटक–पटक करणी गरेको आरोप उनीमाथि लागेको थियो । दक्षिणकालीमा रहेको आफ्नो गुम्बामा झारफुक गर्न आएकी युवतीमाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका रिम्बोर्छे छुल्ठिम दोर्जे योञ्जन टुल्कू लामाले बलात्कार गरेको ठहर भएको थियो ।

उपचार गर्ने नाममा २०६६ सालमा पहिलोपटक र त्यसपछि २०७३ सालसम्म शारीरिक–मानसिक यातना दिएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् । उनलाई उच्च अदालत, पाटनले सात वर्ष कैद र पीडितलाई पीडकबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । यस्ता कुकृत्र्य गर्ने अन्य थुप्रै धर्मगुरु छन् । उनीहरुलाई राजनीतिक दललगायत मुलुकका उच्च पदस्थहरुले नै संरक्षण गर्ने गरेको आरोप लाग्दै आएको छ । 

ढोङ्गीहरुले आफूलाई सिद्धबाबा र बुद्धजस्तो नाम दिएर समस्या समाधान गरिदिने, रोग ठिक पारिदिने भन्दै आपराधिक क्रियाकलाप गर्दै आएका छन् । धर्मगुरुहरुले धर्मलाई ब्रह्मलुट गर्ने माध्यम बनाएको अर्को उदाहरण हो, भक्तपुरको सिर्जनानगरस्थित रहेको ‘दैवी स्थान सत्या शक्ति माता’ । ती कथित माताको कालो कर्तुत तीन वर्षअघि छताछुल्ल भएको थियो । 

भव्य आलिशान घरमा सञ्चालित ठगीधन्दाबारे सप्रमाण समाचारहरु प्रकाशित हुँदासमेत भक्तहरुले अन्धाधुन्ध विश्वास गरिरहेका छन् । एक जना सञ्चारकर्मीले उनको भण्डाफोर गरेपछि केही समय त्यहाँ भक्तजनहरु जान छोडेका थिए । अहिले पुनः भक्तजनहरुको भीड लाग्न थालेको छ । सर्वसाधारणहरु गुरु भनाउँदाहरुको धरातल नहेरी हावाको भरमा उनीहरुको पछाडि लागेका छन् । 

जसले गर्दा पीडित बन्नेको संख्या बढिरहेको छ । आस्तिक सर्वसाधारणको आस्थासँग धर्मगुरुहरुले खेलिरहेका छन् भने उनीहरुले पनि खेल्न दिएका छन् । धार्मिक संस्थामा चलाइएको ठगीधन्दामा सरोकारवाला निकायको ध्यान जान जरुरी भएको नागरिक अगुवाहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल धर्मको नाममा अपराधजन्य कार्य बढेको स्वीकार्छन् । 

उनले धर्मको नाममा लुट्ने, ठग्ने वा अन्य गैरकानुनी कार्य गर्नेलाई कानुनको दायरामा ल्याउने बताए । उनले भने,‘हो, पछिल्लो समय यस्ता घटना बढेका छन् । धर्मको आडमा अपराध गर्नेहरुलाई कारबाही हुन्छ । उजुरी परेपछि मात्र हामीले कारबाही गर्ने हो । धर्मको नाममा भएका केही अपराधिक क्रियाकलापमाथि अध्ययन गरिएको छ । सबैको अध्ययन गरिसकेपछि मात्र यस्ता घटना बढ्नुको ठोस निष्कर्ष निस्किन्छ ।’

अधिवक्ता विष्णु तिमिल्सिना धर्मको नाममा भित्रिएको विकृति रोक्न राज्य संयन्त्र सचेत हुनुपर्ने बताउँछन् । धर्मगुरुहरुले सबैतिरबाट नैराश्य भएका व्यक्तिहरुलाई फसाउने गरेको उनको बुझाइ छ । 

‘सबैतिरबाट हार खाएपछि मान्छेले भगवान खोज्छ । उसले आत्मसन्तुष्टि खोज्छ । जसको फाइदा धर्मगुरुहरुले उठाउँदै आएका छन् । धर्मगुरुहरु आश्वासन बाँड्छन्, उनीहरु पत्याउँछन् । धर्मको नाममा खुल्लम्खुल्ला ठगी भइरहेको छ, राज्य संयन्त्रले केही गर्न सकेको छैन’, उनले भने । 

विज्ञानको युगमा आएर पनि धर्मको पछाडि सर्वसाधारण अन्धाधुन्ध भएर लाग्नुमा सरकारको कमजोरी भएको उनी बताउँछन् । राज्य संयन्त्रमाथि आम नागरिकले विश्वास गर्न नसक्दा यस्तो अवस्था निम्तिएको तिमिल्सिनाको भनाइ छ ।

टिप्पणीहरू