न परम विश्वास, न चरम घात

न परम विश्वास, न चरम घात
सुन्नुहोस्

माघ ११ गते राष्ट्रिय सभाका निम्ति १९ सिटको निर्वाचन भएर त्यसै दिन नतिजा पनि सार्वजनिक भयो । कोशी प्रदेशबाहेकमा अपेक्षाअनुसार नै गठबन्धनका उम्मेदवारहरू विजयी भए । कोशीमा महिलातर्फ एमाले उम्मेदवार आइन् । फागुन २१ पछि राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र पहिलो दल हुँदैछ । माओवादीसँग १७, दोस्रो स्थानमा नेपाली कांग्रेसको १६, नेकपा एमालेको १०, एकीकृत समाजवादीको ८, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद हुनेछन् । राष्ट्रपतिबाट मनोनीत ३ सदस्य छन् । रिक्त हुने एक स्थानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल आउने सत्तागठबन्धनको सहमति छ ।

संविधानको धारा ८६ उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र पद रिक्त हुनुभन्दा ३५ दिन पहिले काम सक्नुपर्ने कानुनी व्यवस्थाअनुसार ११ गते निर्वाचन भएको हो । फागुन २० गते राष्ट्रिय सभाबाट विदा हुने सांसदहरूमा एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नौजना छन् । त्यस्तै कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जनाको पदावधि सकिँदै छ । पदावधि सकिन लागेकामा एमाले प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल छन् । त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव घर जाँदै छन् । 

माओवादी केन्द्रबाट बिना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चपाईं, सिंहबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव छन् । स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ । प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिन्छ । त्यसैगरी निर्वाचित हुने हो । माघ ११ गते कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको माओवादीको बुझाइ छ । सशस्त्र युद्धका क्रममा एक हात गुमाएकी ओलखढुंगाकी चम्पादेवी कार्कीलाई माओवादीले उठाएको थियो  । उनले जित्नेमा माओवादी करिब ढुक्क थियो  । बरु कांग्रेस उम्मेदवार कृष्ण सिटौलालाई शेखर कोइराला समूहबाट असहयोग हुन सक्ने अनुमान थियो  । तर, परिणाम त्यस्तो आएन  । सिटौला विजयी भए, कार्की पराजित भइन् । सिटौलाले ५ हजार २ सय ९२ मतभार ल्याएर निर्वाचित हुँदा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मतभार मात्रै पाइन्  । एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मत ल्याएर निर्वाचित भइन्  । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन सम्वादमा दुखेसो पोखे । देउवाले शेखर कोइराला पक्षको असहयोगका कारण कार्की पराजित भएको छोटो जवाफ दिए ।

२ वर्षअघि समेत यसरी नै घात भएका थियाे ।

स्थानीय तह प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य राजनीतिक दलका कार्यकर्ता हुन् । गोप्य मतदान भए पनि उनीहरूको मत पार्टीले भनेको व्यक्ति बाहेकमा जाँदैन भन्ने बुझाइ छ । तीनैमध्ये ३ जना प्रदेशसभा सदस्य र १३ जना स्थानीय तहका जनप्रतिनिधिले गठबन्धनकी उम्मेदवार कार्कीलाई भोट नदिई एमाले उम्मेदवारलाई जिताए । उनीहरूको मत तोकिएको ठाउँमा नगएकै कारण यसलाई फ्लोर क्रस पनि भनियो ।

माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जसपा लगायतबाट इमान्दारीपूर्वक मत खसे पनि कांग्रेसका जनप्रतिनिधि इमान्दार नभएपछि माओवादी आक्रोशित भएको हो । त्यसो त २ वर्षअघि समेत यही प्रदेशमा यसरी नै घात भएको थियो । यतिमात्र होइन यो गठबन्धनमा माओवादीले कोशी प्रदेशमा घाटै घाटा व्यहोरिरहेको छ । एमालेसँग गठबन्धन हुँदा सभामुख पाएको उसले मुख्यमन्त्रीका रूपमा कार्यकाल बाँड्ने सहमति गरेको थियो । तर जसै गठबन्धन भत्कियो, नयाँ मुख्यमन्त्री पद कांग्रेसको पोल्टामा परेन मात्र भएको सभामुख पद पनि तिलाञ्जली दिनुप¥यो । मुख्यमन्त्री नियुक्त कांग्रेसका उद्धव थापाले विश्वासको मत पाउन र सरकारको नेतृत्वलाई निरन्तरता दिन सकेनन् ।

बिग्रिइरहेको हिसाबका बीचमा फेरि माओवादीले मुख्यमन्त्री ताकिरहेकै थियो, पर्खिइरहेकै थियो । तर एमालेको सहयोगमा कांग्रेसको शेखर कोइराला समूहले केदार कार्कीलाई मुख्यमन्त्री बनाइदिएपछि माओवादी पुनः घाटामा गयो । यतिबेला राष्ट्रियसभाको सिटसमेत कांग्रेसकै कारण गुमाउनुप¥यो । कोशी प्रदेशमा कांग्रेसले लत्याइरहेको राजनीतिक इमान्दारिताको मूल्य कसरी चुकाउने हो त्यो अनुमान गर्न कठिन छ । तर राजनीतिक रूपमा घातमाथि घाटा व्यहोरिरहेको माओवादीको कोशी प्रदेश भने आक्रामक देखिएको छ । 

५९ सीट रहेको राष्ट्रियसभामा अध्यक्षका लागि ३० सांसद चाहिन्छ । जसमा माओवादी, समाजवादी, जसपा र जनमोर्चा मिले ३० संख्या पुग्छ । जुन अध्यक्ष लिन पर्याप्त छ । त्यो अवस्थामा एक सीट रहेको लोसपाले पनि सहयोग गर्न सक्छ । यो चर्चा अहिले चुनावमा हारेको तोडको ताजा प्रतिक्रिया मात्रै पनि हुन सक्छ । किनकि प्रचण्ड सिटौला नै राष्ट्रिय सभा अध्यक्ष हुँदा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहज हुने ठान्छन् । माओवादीले कांग्रेससँग गठबन्धन गरेर अहिले जति लाभ लिइरहेको छ, गठबन्धन फेर्दा त्यत्ति पनि लाभ लिन नसक्ने हुनसक्छ । घुक्र्याइबाट लाभ भइरहने अवस्थासम्म माओवादीले त्यसै गरिरहने हो ।
 

टिप्पणीहरू