मेयर बालेनप्रति वडाध्यक्षहरुको आक्रोश : मनोमानी निर्णय स्वीकार्दैनौं

मेयर बालेनप्रति वडाध्यक्षहरुको आक्रोश : मनोमानी निर्णय स्वीकार्दैनौं
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र वडाध्यक्षहरुबीचको टकराव बढ्दै गएको छ । मेयरले मनोमानी गर्न थालेको जनाउँदै वडाध्यक्षहरुले कडा आपत्ति जनाएका छन् ।समितिमा कुनै छलफल नै नगरी आफूखुसी निर्णय गरी कार्यान्वयन गर्ने प्रवृत्ति महानगरमा मौलाएको उनीहरुको आरोप छ । 

महानगरले राजधानीका व्यापारिक केन्द्रका सडक किनारमा पार्किङ निषेध गरेको छ । पार्किङका कारण मुलुकको मुख्य व्यापारिक क्षेत्र न्यूरोड वरपर अस्तव्यस्त भएपछि महानगरले सडक किनारमा हुँदै आएको पार्किङमा रोक लगाएको जनाएको छ । पार्किङ निषेधको निर्णय मेयरको व्यक्तिगत भएको वडाध्यक्षहरु बताउँछन् । 

माघ ९ गतेदेखि न्यूरोड, धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको सडकमा पार्किङ प्रतिबन्ध छ । महानगर प्रहरी बलले त्यहाँ पार्किङ निषेधको बोर्डहरु राखेको छ भने नगरप्रहरी पार्किङ गर्न नदिन आफैं खटिएका छन् । 

महानगरले सुन्धारास्थित धराहरामा पार्किङको निःशुल्क व्यवस्था मिलाएको जनाएको छ । न्यूरोड आसपासका क्षेत्रमा पार्किङ हटाएपछि व्यापारीहरु रुष्ट भएका हुन् । पार्किङ हटाउँदा व्यापार घट्ने उनीहरुको भनाइ छ । बालेनको निर्णयपछि न्यूरोडको व्यापारमा ४० देखि ४५ प्रतिशत कमी आएको व्यापारीहरु बताउँछन् । 

उक्त निर्णय फिर्ताका लागि महानगरलाई दबाब दिन व्यापारीहरुले विरोध प्रदर्शनसमेत गरेका थिए । सटर बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिए । मेयरले गलत गरेको जनाउँदै वडाध्यक्षहरु समेत विरोधमा सहभागी बने । पार्किङको विषयलाई लिएर व्यवसायीहरुपछि हाल बालेन र वडाध्यक्षहरुबीच चर्काचर्की हुन थालेको छ । 

मेयरको मनलाग्दी निर्णय आफूहरुलाई अस्वीकार्य रहेको जनाउँदै वडाध्यक्षहरुले आक्रोश पोखेका छन् । वडा समितिमा छलफल नगरी पार्किङ हटाइएको वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन बताउँछन् । मेयरले वडाध्यक्षहरुको क्षेत्राधिकार निर्क्र्याल नगरेको उनको आरोप छ । पार्किङ मात्र नभई अन्य निर्णय गर्दापनि मनोमानी गरिएको उनी बताउँछन् । 

वडाध्यक्ष महर्जनले भने, ‘मेयरको मनोमानी एकदमै बढी भइसकेको छ । उहाँले हामी जनप्रतिनिधिलाई गन्दै गन्नुहुन्न । सबै काम मेयरले गर्ने हो भने हामी वडाध्यक्ष किन चाहियो ? वडाध्यक्षको निर्वाचन नै गराउनुपरेन । मेयरले पार्किङ हटाउने निर्णय गर्नुभयो, सबैले वडाध्यक्षहरुमाथि औंला उठाइरहनुभएको छ । वडाध्यक्षहरु मेयरको सामुन्ने निरीह भएकोसम्मका कुराहरु उठिरहेका छन् । तर, यो गलत हो । हामी मेयरको मनोमानीविरुद्ध कदम चाल्छौं ।’

साथै, उनले मेयरको काम गर्ने शैलीप्रति गम्भीर आपत्तिसमेत जनाए । स्थानीयसँग सरसल्लाह नगरिएको निर्णय मान्य नहुने उनको जिकिर छ । न्यूरोड आउनुपर्ने ग्राहकलाई पार्किङका लागि सुन्धारा वा अन्यत्र जाउ भन्नु अव्यवहारिक भएको उनको ठहर छ । अध्ययन र छलफल गरेर सबैलाई सहज हुने स्थानमा पार्किङको व्यवस्थापन गर्नुपर्नेमा उनी जोड दिन्छन् । कालोपत्रेमा सवारी साधन पार्क गर्न पाइँदैन भनेर महानगरले भ्रम छरिरहेको महर्जनको आरोप छ । 

भन्छन्, ‘महानगरले कालोपत्रेमा सवारी पार्क गर्न नमिल्ने भएकाले पनि त्यहाँ पार्किङ रोकेको बताएको छ । तर, विश्वका अधिकांश मुलुकमा कालोपत्रे मै पार्किङ गरिएको हुन्छ । मेन रोडमा हटाएपछि भित्री गल्लीमा गाडी पार्क गर्ने कार्य मौलाएको छ । पार्किङ हटाउँदा व्यवसायीहरुको बारेमा पनि सोच्नुपर्थ्यो । अहिले यहाँको व्यापार स्वाट्टै घटेको छ । पसलहरु पनि धमाधम खाली भइरहेका छन् । मेयर पनि स्थानीय, व्यापारीप्रति जिम्मेवार हुनुपर्ने होइन र ?’

यता, वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जन र वडा नम्बर २७ का वडाध्यक्ष योगेशकुमार खड्की पनि मेयरको कार्यशैलीप्रति असन्तुष्ट देखिन्छन् । २३ नम्बरका वडाध्यक्ष महर्जनले पार्किङ हटाउने निर्णय मेयरको स्वःइच्छा भएको बताए । नीतिगत रुपमा बैठकसमेत नबसेकाले सो निर्णयमा आफूले समर्थन र विरोध केही नजनाउने उनले सुनाए । ‘मेयरको निर्णयलाई म स्वःइच्छा भन्छु । न नीतिगत रुपमा बैठक बसेको छ न कुनै छलफल भएको छ । त्यसैले, त्यसमा मेरो विरोध र समर्थन केही पनि भन्नु छैन’, उनले भने । 

धराहरामा पार्किङ विवाद 

न्यूरोड आसपासका क्षेत्रमा पार्किङ निषेध गरेपछि महानगरले निर्माणाधीन धरहराको भूमिगत पार्किङ सञ्चालनमा ल्याएको छ । शुरुमा काठमाडौं टावरको बहुतले पार्किङलाई वैकल्पिक व्यवस्थापन भनिएको थियो । तर, व्यवसायीहरु आन्दोलित भएपछि महानगरले धराहराको भूमिगत पार्किङ खोलेको छ । 

अहिले सो क्षेत्रका सवारी साधन त्यहिँ पार्क हुने गरेको छ । शहरी विकास मन्त्रालयले धराहराको निर्माण कार्य पूर्णरुपमा सम्पन्न भइनसकेकाले पार्किङ रोक्न महानगरलाई पत्राचार गरेको थियो । सोही विषयलाई लिएर हाल महानगर र मन्त्रालयबीच आरोप प्रत्यारोप शुरु भएको छ । 

निर्माण कार्य सम्पन्न नभई भूमिगत पार्किङ सञ्चालन गर्दा निस्सासिएर मानवीय क्षति हुने सम्भावना देखिएको उल्लेख गर्दै मन्त्रालयले पत्रमार्फत निर्माणस्थलमा अनगिन्ती, अनाधिकृत व्यक्ति र सवारीसाधनको प्रवेशले सुरक्षामा थप चुनौती बढ्न जानेतर्फ सचेत गराएको छ । 

यता, शहरी विकासमन्त्री सीता गुरुङ्गले भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन् । निर्माण सम्पन्न नभई महानगरले जबरजस्ती रुपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन गरेकोे भनाइ छ । त्यस्तै, पार्किङमा जाँदा अक्सिजन नपुगेर मानवीय क्षति भएमा त्यसको जवाफदेही महानगर हुनुपर्ने उनले बताइन् । महानगरले मन्त्रालयसँग समन्वय र सम्पर्क पनि नगरेको मन्त्री गुरुङ्गको गुनासो छ । 

मेयर बालेनले धराहराको बेसमेन्टमा शुरु भएको निःशुल्क पार्किङ बन्द नगर्ने अडान लिएका छन् । सामाजिक सञ्जालमा लेखेका छन्, ‘सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन । महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौं ।’

साथै, उनले धरहरा उद्घाटन भएको दुई वर्ष नौ महिनापछि पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणीसमेत गरेका छन् । बालेनले महानगरलाई पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्न सरकारलाई सुझाएका छन् ।
 

टिप्पणीहरू