सबका माग पुर्‍याऊ, व्यवस्था जोगाऊ

सबका माग पुर्‍याऊ, व्यवस्था जोगाऊ
सुन्नुहोस्

देशले न कारबाहीको मार्गबाट मात्र लय समाउन सक्छ न निरपेक्ष निर्माणबाट । इतिहासमा भए गरेका कमी कमजोरीलाई सच्याउँदै वर्तमानमा निर्मित कार्य मात्र झन् सुन्दर हुन्छन् । एमालेले सत्ताको वागडोर सम्हाल्दा निर्माणमा मात्र जोड दिएको थियो ।

अहिलेको अवस्था, व्यवस्थाअनुसार मिलेको छैन । तर, यही सन्तुलनमा अवस्था झन् खराब हुने र व्यवस्था बाँचिरहने कुरा निश्चित छ । जनता दुवै बदल्न चाहन्छन् । एमाले अवस्थामा क्रमिक सुधार ल्याएर व्यवस्थालाई अग्रगमनतर्फ बदल्न चाहन्छ । सत्ता गठबन्धन सरकार जोगाउने उपाय खोज्नै हैरान छ । भीड भने मूल प्रवाहमा रहेका दलले आफैँ व्यवस्था ल्याए, आफैँ बिगारे भन्दै उनीहरूलाई ठीक गर्न व्यवस्था नै फाल्नुपर्छ भन्ने ठाउँमा पुगेको देखिन्छ । यही अवस्थामा कसैको पनि कुरा पूरा हुने सम्भावना छैन । कसैको पनि एक्लो बलमा अहिलेको व्यवस्था नआएकाले पनि यो परिस्थिति सिर्जना भएको हो । व्यवस्था नै जानेगरी कसैले पनि अझै भूल गरेका छैनन् ।

राजाले नपत्याए पनि राजतन्त्रको पक्षमा मात्र उभिने ठाउँमा राप्रपा पुग्यो भने, हिन्दुराज्यको एक सूत्रीय मागमा कांग्रेस उभियो भने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको गलत मुद्दा पास गर्ने बाटोमा माओवादी पुगेर सफल भयो भने, संघीयता र गणतन्त्रसँगै अगाडि जान सक्दैनन् भन्ने अनि संघीयता बचाउन सक्ने स्रोत जुटाउन नसक्ने ठाउँमा एमाले पुग्यो भने त्यही बाटोबाट मात्र यो व्यवस्था जान्छ । सबैका माग अलिअलि पूरा हुने अवस्था रहुञ्जेल यो व्यवस्था रहिरहन्छ । वर्तमान सन्तुलनमा कुनै पनि शक्ति समूहको माग पूरा नहुने अवस्था सिर्जना भएपछि जसले थाम्छु भने पनि यो व्यवस्था थामिँदैन । यो व्यवस्था जोगाइराख्नुपर्ने बाध्यकारी अवस्थामा अहिले कोही छ भने एमाले छ ।

वर्तमान संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य व्यवस्थामा पुग्न योजस्तो सजिलो र सहज बाटो उसका लागि अर्को छैन । उसको मार्गदर्शक सिद्धान्त जबजले पनि अवस्था सुधारबाट व्यवस्था परिवर्तन गर्ने भनेको छ । यसका लागि नीतिले बाँधिएको, लडेर आर्जेको र गरेर देखाएको पंक्ति पनि एमाले मात्रै हो । यो मुद्दामा जनतामा एकाकार कोही छ भने एमाले मात्रै छ । व्यवस्था ल्याउनमा लडे पनि माओवादी नीतिले बाँधिएको छैन, हाल बिग्रिएको जम्मै माओवादीले गर्दा हो । विकृति, विसंगतिको स्रोत र पोको माओवादीसँगै छ । यो आरोप होइन तथ्यको वकालत हो ।

यो मामलामा छलफलको हिस्सा कांग्रेसलाई दिने ठाउँ नै छैन । सिलसिलाले देशका स्रोत साधन विदेशीलाई सुम्पने कर्तव्य मात्र कांग्रेसको हो क्यारे भन्ने देखाउँछ । यो व्यवस्था ल्याउनमा कांग्रेसको योगदान हो मा हो थप्नेबाहेक अरु देख्नु देशमाथि अपराध साँध्नुसरह हो । उसको निजी नीति, योगदान र गरी कमाईले यही भन्छ । कांग्रेसलाई भोट दिएर जनता आफैँ हारिरहेका छन् आज ।

आधुनिक नेपालमा राजा पृथ्वीनारायण शाह (वि.सं. १८१६–१८३३) को उदय गोर्खा राज्यको विस्तार भनौं या नेपाल एकीकरणको नवीनतम मुद्दाबाट भयो र राजकाजको रोलक्रम वंशमा गयो । त्यसको अन्त २०५८ जेठ १९ को भयावह दरबार हत्याकाण्डबाट भयो । नेपालमा बाटो उही तर फरक गतिमा उदाएर शासनको बागडोर परिवारमा जाने बनाएका जंगबहादुर राना (वि.सं. १९०३–१९३३) को विरासत पनि शान्तिपूर्ण तरिकाले विसर्जन भएन । तिकडम्, छलछाम दाउपेच, हत्या, हिंसा, लुटपाट, आतंक, व्यक्ति मारकाट एवं सम्पत्ति कब्जाको उही बाटो हुँदै अनेक पटक शासन सम्हाल्ने ठाउँमा पुगेका प्रचण्डको पतन झनै भयावह, आतंकमय र त्रासदीपूर्ण हुने देखिन्छ ।

नेपालमा अनपेक्षित रूपमा शक्तिमा उदाएका तीन पात्र राजा पृथ्वीनारायण शाह, जंगबहादुर राना, र प्रचण्ड नै हुन् । जीवनको उत्तरार्धमा प्रचण्डले भोगेको पुत्र र पत्नी वियोग शाह र रानाकै नियति हो । राजतन्त्रलाई संस्थागत गर्ने भूमिका शाहको भए पनि निरंकुशताको जननी राना नै हुन् भने प्रचण्ड नेपालमा देखिएका एक मात्र र पहिलो तानाशाह हुन् । टिकेका प्रथा र चलेका व्यवस्थाको भोग गर्नेमा सबैभन्दा लामो समय ३३ वर्ष, उनकै बितेको छ । २०४३ देखि आजपर्यन्त पार्टीमा अध्यक्ष भइरहने उनी एक्ला हुन् । 

चाहे, बाथ पार्टीबाट उदाएका इराकी तानाशाह सद्दाम हुसैन, १९७९ देखि २००३ सम्म, अल–फतहको बलमा तानाशाहमा परिणत लिबियाली नेता गद्दाफी, १९६९ देखि २०११ सम्म, अरब सोसलिष्टको चाहनाविपरीत तानाशाह बनेका इजिप्टका होस्नी मुवारक, १९८१ देखि २०११ सम्म हुन् वा संस्थापक भएर पनि नाजी पार्टीले बचाउन नसक्नुमा जर्मन हिटलर १९३३ देखि १९४५ सम्म, को तानाशाही प्रवृत्ति नै थियो । लोकप्रिय इस्लामिक रिपब्लिकन पार्टीको जगमा पिता हफेज अल–असदको विरासत निरन्तरताले, २००० मा उदाएका सिरियाका तत्कालीन राष्ट्रपति बासर अल असद पनि २०११ को ‘अरब स्प्रिङ’ मा पतन भए । 

१९८९ मा सरकारमा आएका स्लोबोदान मिलोसेभिच अन्ततः अप्रिल २००१ मा अन्तर्राष्ट्रिय अदालतबाट अपराधीका रूपमा घोषित भएपछि अगस्त २००१ मा कैदी भए र अक्टोबर २००६ मा जेलमै मृत्यु भयो । जेल नजाँदै उनले ठूलो पश्चाताप र चरम आर्थिक संकट भोग्नुपरेको थियो । १९६७ देखि १९९८ सम्म इण्डोनेशियामा अधिकार जमाएका सुहार्तोले करिब ३२ वर्षपछि १९९८ मा त्यागपत्र दिए । सुहार्तोको ‘गोल्कार’ पार्टीसमेत २००८ मा पश्चातापले उनको हृदयाघात हुँदासम्म पतनको अन्तिम वायुप्राण लिइरहेको थियो ।

प्रचण्डलाई गतिशील भनी आत्मरति लिए पनि धेरैले उनलाई राजनीतिक वेश्यावृत्ति, भँडुवा र भगौडा प्रवृत्तिका पात्रको रूपमा संस्थागत गरेका छन् । सहकर्मी र अग्रजहरूको थोबडामा सेक्टर काण्डको बारुदी धुवाँ फ्याँकेर पार्टी हत्याएका प्रचण्डको एकसरो जिन्दगानीमा धेरै रूप छन् । सेक्टर काण्डबाट उनी मूलतः पृथ्वीनारायण शाहको रूपमा उदाए भने, २०५२ फागुन १ मा प्राप्त रूप जंगबहादुर रानाको हो । १२ बुँदे दिल्ली सम्झौता गर्दा केही हितैषीले प्रचण्डलाई बुद्धको शेष शिक्षा पढेछन् कि ? भन्ने लख काटेका थिए । प्रचण्डले अब प्राप्त गर्न बाँकी रूप भनेको जिसस क्राइष्टको हो ।

व्यक्तिपिच्छे राज्य बाँड्ने, राजाको सम्पत्ति खोसेर भाग लगाउने, नपढी मालिक, प्रशासक हुन पाइने र त्यसका लागि बन्दुक उठाएर सकभर मार्नुपर्ने नसके मर्न पनि तयार हुनुपर्नेलगायत कैयन झुटा आश्वासन बाँडेर निर्धा र निमुखाको प्राण खोस्ने वितण्डा थालिएको दिन कसैका लागि पनि उत्सवको दिन हुन सक्दैन । त्यो त लुट्नलाई सत्तामा जान भेउ नपाएकाले शक्ति आर्जन गर्न अपनाएको चोर बाटो थियो । र, सार्वभौम यो झुटको निम्ति कतै पनि र कुनै पनि मञ्चमा न प्रायश्चित गरिएको छ न उपादेयता नै प्रष्ट्याइएको छ । यसो हो भने कोत पर्व, अलौ पर्व, भण्डारखाल पर्व, नारायणहिटी दरबार पर्वलगायत सबै पर्वको बिदा दिनु–लिनुपर्ने हुन्छ । सर्वोच्चको अवज्ञा हुनेगरी कानुनी राज्यको धज्जी उड्नेगरी माओवादीले जितेका एकाध स्थानीय तहमा फागुन १ गते जो बिदा दिने निर्णय गरियो, त्यो अज्ञानताको उपच हो । उनीहरूका यस्तै बहुलठ्ठीपना र मुर्खताले नै भविष्यमा यो व्यवस्थामाथि खतरा आइलाग्ने सम्भावना छ ।

देशले गणतन्त्र तथा संविधान दिवसलाई पर्वको रूपमा स्वीकार गरिसकेपछि त्यो मुनिका तपशीलमा अल्झिरहनु आवश्यक होइन । फेरि माओवादीले थालेको अभियानले देशमा गणतन्त्र आएको पनि होइन । उनीहरूको अभियानको बिसर्जन चुनवाङ बैठक हुँदै १२ बुँदे दिल्ली समझदारीले प्रतिस्थापन गरेसँगै भएको हो । फागुन १ गते थालिएको अभियानको जीवन्त औचित्यता एवं जीवित मर्म कतै पनि भेटिँदैन ।

टिप्पणीहरू