ठूलो ज्यान, विश्व बैंकको पैसा सक्नेतिर ध्यान

ठूलो ज्यान, विश्व बैंकको पैसा सक्नेतिर ध्यान

देउवा परिवारलाई रिझाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हर्ताकर्ता बनेका मोहन बस्नेतले मनपरी गर्दा सबैतिर भद्रगोल भएको छ । शुरुवाती भाषणहरूमा ‘म स्वास्थ्य सेवा निःशुल्क गर्छु’ भनेर नथाक्ने मोहनले अहिले यसको उच्चारण नै गर्न छाडेका छन् ।

अस्पतालहरूले शैया निःशुल्क गरेको एक दुई महिना प्रचार पनि गराए तर अहिले सबै अस्पतालको बजेट समयमा निकासा नहुँदा यो प्रसंग एकादेशको कहानी बनेको छ । मन्त्रालयले निःशुल्क शैयाको रकम नपठाउँदा दैनिक अस्पताल सञ्चालनमै कठिनाइ भएको छ । त्यसैले होला, अहिले निःशुल्क स्वास्थ्यको कुरा छाडेर मेडिकल हब बनाउने नारा दिन थालेका छन् । यस क्रममा अप्रत्यक्ष रूपमा नर्सिङ कलेज र मेडिकल कलेज सञ्चालकको स्वार्थलाई बढी प्राथमिकतामा राखेका मन्त्रालयका उच्चाधिकारीले नबुझ्ने कुरै भएन । 

विश्व बैंकबाट आउने पाँच अर्ब रुपैयाँबाट छिटो सामान खरिद गर्ने कार्यमा उनी लागिरहेकै छन् । मन्त्रीले भनेको जे पनि खुरुक्क मान्न तयार नभएकाले डा. सर्वेश शर्मा खेदिएर वीर अस्पताल पुगेका छन् । उनको ठाउँमा अर्थोपेडिक सर्जन डा. श्रवणकुमार थापालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । डा. श्रवणलाई यथाशीघ्र सामान खरिद प्रक्रिया अघि बढाउने निर्देशन प्राप्त भइसकेको छ । 

डा. संगीता मिश्र, डा. सुरेन्द्र चौरसिया, डा. श्रवण थापाको टिमले खरिदको काम गरिरहेको छ । कमिसन बढी आउने मेडिकल उपकरण खरिद गर्ने उनीहरूको मुख्य अभिप्राय हो । विभागमार्फत हुने यस्ता खरिद कार्यमा संगीतालाई प्रशासनका उपसचिव भवनाथ खतिवडा र प्रमुख लेखा नियन्त्रक भुवन काफ्लेले तनमनले सहयोग गरिरहेका छन् ।

भुवनले लाभ संकलन गर्ने जिम्मा लेखापाल तिलक ढकाललाई दिएको चर्चा चलिरहेकै छ । संगीता आफ्नै हुतीले भने विभाग भित्र रहेका करार कर्मचारी हटाउने, एक शाखाबाट अर्को शाखामा सरुवा गर्ने बाहेकका केही काम गर्न नसक्ने भनी चिनिएकी छन् । अहिले मन्त्रीले सबै निर्देशक, प्रमुखहरूलाई आफ्ना मानिस करारमा राख्न दिनहुँ दबाव दिने गरेका छन् ।

मुख्य दायित्वतर्फ पटक्कै ध्यान नदिने तर उद्घाटन र शिलान्यास अनि सभासमारोहमा झुम्मिएर सस्तो लोकप्रियताको लागि मरिहत्ते गर्ने मन्त्रीको चिनारी बनिसकेको छ । 

 

टिप्पणीहरू