साना हतियारको बिगबिगी, सुरक्षामा चुनौती

साना हतियारको बिगबिगी, सुरक्षामा चुनौती
सुन्नुहोस्

गत माघ २९ गते सल्यानमा एक युवक भरुवा बन्दुकसहित समातिए । कुमाख गाउँपालिका–१ का २६ वर्षीय धनराज कामी एकनाले भरुवा बन्दुकसहित समातिए । 

अस्थायी प्रहरी पोष्ट नेटाबजारबाट खटिएको टोलीले उनको घर खोजतलास गर्ने क्रममा भरुवा बन्दुक र त्यसमा प्रयोग गरिने विभिन्न सामग्री फेला पारेको थियो । टोलीले एक थान एकनाले भरुवा बन्दुक, पाँच राउण्ड गोली, नौं थान फलामका छर्रा र ११ थान केप बरामद गरेको जानकारी दिइएको थियो । 

आपसी विवादमा गत माघ १८ गते पाँचथरको फिदिम नगरपालिका–११ फलाँटे, तिरुवाखाल बस्ने ५३ वर्षीय मेघराज आङ्बोलाई स्थानीय भीम भन्ने भोगेन्द्र घिमिरेले भरुवा बन्दुकबाट प्रहार गरे । फेमे खोलामा अवस्थित जलविद्युत आयोजनामा काम गर्दै आएका उनलाई ड्युटीमा जाने क्रममा घिमिरेले गोली हानेका थिए । 

अछामको मंगलसेना नगरपालिका–१२ ठाँटीखादका ३१ वर्षे टंकबहादुर शाही गत माघ ११ गते एक थान भरुवा बन्दुकसहित पक्राउ परे । उनलाई प्रहरीले बन्दुक बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । उता, पूर्वी रुकुममा फागुन १ गते चार थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको जानकारी दिएको छ । 

ईलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको टोलीले भूमे गाउँपालिका–३ मोरावाङ जंगलस्थित ओढारबाट पातले छोपेर राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारिएको हो ।

सिरहाको औरही गाउँपालिका–४, कमलपुर बस्ने २० वर्षीय सरोजकुमार यादवलाई गत माघ २७ गते कटुवा पेस्तोलसहित प्रहरीले नियन्त्रणमा लियो ।  स्थानीय संजितकुमार यादवसँग सरोजको विवाद भएको खबर पाएपछि वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले उनको घर खोजतलास गर्ने क्रममा पेस्तोल फेला परेको थियो । 

यसअघि गत माघ २० गते सुनसरीमा पनि कटुवा पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका थिए । हरिनारा गाउँपालिका–१, हर्षाही बस्ने ४० वर्षीय किसान यादव समातिएका हुन् । 

आफ्ना दुई वटा भैंसी चोरेको भन्दै भोक्राहा नर्सिङ गाउँपालिका–४ लबटोलिया बस्ने जुगेश्वर यादवले उनीविरुद्ध उजुरी दिएका थिए । सोही क्रममा अनुसन्धानका लागि गएको प्रहरी टोलीले उनको घर खोजतलास गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एक थान गोलीको खोका फेला पारेको हो । 

यसबाट पछिल्लो समय मुलुकभर साना हतियारको बिगबिगी बढेको देखिन्छ । यसले सुरक्षामा समेत गम्भीर चुनौती थपेको छ । घरायसी वा सामान्य विवाद, लेनदेन अथवा आवेगमा आएर हतियारको दुरुपयोग गरेर अरुमाथि आक्रमण गर्ने वा हत्या समेत गर्ने गरेको पाइएको छ । 

कतिपय ठाउँमा दिनदहाडै हतियार देखाएर चोरी, डकैती वा लुट्ने गरेको घटना पनि थुप्रै भएका छन् । यता, सुरक्षा निकायकै कर्मचारीले समेत हतियारको दुरुपयोग गरेको पाइएको छ । 

गत बिहीबार दाङको घोराहीमा एक जना प्रहरी सहायक हवल्दारले श्रीमतीको गोली हानेर हत्या गरे । सहायक हवल्दार यामबहादुर झाँक्रीले प्रहरीमा कार्यरत श्रीमती धनमाया थापामगरको गोली हानेर हत्या गरेका हुन् । 

गोली प्रहरीबाट गम्भीर घाइते उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा ज्यान गएको थियो । सुर्खेतको पञ्चापुरी नगरपालिका–९ विद्यापुर घर भई हाल दाङको घोराहीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत थापामगर घोराही उपमहानगरपालिका–१४, दामोदर चोकमा ड्युटीमा खटिएकी थिइन् । 

नेपाल प्रहरी आवासीय माविमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्युठानका झाँक्रीले ड्युटीमै रहेको अवस्थामा श्रीमतीलाई गोली हानेका हुुन् । 

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपीको बडीगार्ड हुन् । एसएसपीको बडीगार्ड भएकाले प्राप्त गरेको पेस्तोल बोकेर दाङ पुगेका उनले ड्युटीमा रहेकी श्रीमतीमाथि तीन राउण्ड गोली प्रहार गरेका थिए । 

उनीहरुबीच केही महिनायता मनमुटाव देखिएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक थापामगरले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकाले वैवाहिक सम्बन्धमा खटपट भएकै कारण झाँकीले यो कदम चालेको प्रहरीको भनाई छ । 

यता, झाँक्री चार दिनदेखि भैपरी आउने बिदा लिएर घरमै बसेका थिए । यसले हतियार दुरुपयोगको प्रश्न समेत उठेको छ । छुट्टीमा घर जाने प्रहरीलाई हतियार बोक्ने छुट किन दिइयो ? 

साना हतियार भण्डार हुनु सुरक्षाको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । यस्ता हतियार देखाएर अपराधिक गतिविधि गर्न सहज हुन्छ । त्यस्तै, लुकाएर हिँड्न पनि सजिलो हुने हुँदा अवैध वा गैरकानूनी काम गर्नेहरुको संख्या बढ्दो छ । 

नौ महिनामा सयभन्दा बढी हतियार बरामद

नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म एक सय १६ वटा हतियार बरामद भएका छन् । ती हतियारसहित प्रहरीले एक सय ३४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
 
त्यस्तै, पछिल्लो चार वर्षमा एक हजार एक सय ३१ वटा हतियार प्रहरीले बरामद गरेको छ । ती हतियारसहित एक हजार तीन सय ३५ जना पनि पक्रेको तथ्याङ्कमा उल्लेख छ । 

गत वर्ष दुई सय २४ वटा हतियारसहित दुई सय ८२ जना पक्राउ परेका थिए । त्यसको अघिल्लो वर्ष २०७८÷०७९ मा प्रहरीले साढे दुई सय हतियारसहित दुई सय ९९ जनालाई नियन्त्रणमा लिएको थियो । 

आर्थिक वर्ष २०७७÷०७८ मा तीन सय ७३ वटा हतियार प्रहरीले बरामद गरेको देखिन्छ । ती हतियारसहित तीन सय ९३ जना समातिएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा दुई ८४ वटा हतियारसहित तीन सय ६१ जना पक्राउ परेका थिए । 

कस्ता हतियार कति बरामद ?

तथ्याङ्कअनुसार सबैभन्दा धेरै भरुवा बन्दुक बरामद भएका छन् । चालु आर्थिक वर्षको पुस महिनामासमेत गरी विगत चार वर्षको अवधिमा आठ सय ३३ वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । 

त्यसपछि कटुवा पेस्तोल एक सय ७२ वटा छन् । पेस्तोल एक सय १० वटा, अमेरिकी पेस्तोल ४१ वटा, बन्दुक ३१ वटा, १२ बोर पेस्तोल २८ वटा, एयर गन १७ वटा र चाइनिज पेस्तोल ५ थान बरामद गरिएको छ ।

के प्रयोजनमा प्रयोग हुने गरेको छ हतियार ? 

नेपाल प्रहरीका प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल शिकार गर्ने, आपराधिक मानसिकताका साथ हतियार ल्याउने तथा बनाउने गरेको बताउँछन् । 

उनले भने, ‘कतिपयले सिकार गर्न आफ्रनै घरभित्र हतियार राखेका हुन्छन् । त्यस्तै, कतिपयले अपराध गर्ने मनासायले हतियार बनाउने वा ल्याउने गरेको पाइएको छ ।’ 

उनले पछिल्लो समय धेरै खालका हतियार बरामद हुन थालेको समेत बताए । यता, देशका विभिन्न सीमा नाकाहरुबाट साना–ठूला सबैखाले हतियार भित्रिने गरेको पनि उनको भनाइ छ । 

‘कतिपय हतियार आफैं बनाउन सकिन्छ । र, बनाउन नसकिने हतियार विभिन्न मुुलुक हुँदै नाकाबाट गोप्य तवरले भित्राइन्छ,’ प्रवक्ता ढकालले भने, ‘हामीले मुलुकमा शान्ति सुरक्षा कायम राख्न नाकामा सक्दो कडाई गर्ने गरेका छौं ।’

अवैध हतियार र गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले सीमाना र नाकामा शंकास्पद व्यक्तिमाथि सडकमै खोजतलास गर्दै आएको समेत उनको दाबी छ । 

बरामद हतियार के गरिन्छ ? 

प्रवक्ता ढकालका अनुसार प्रहरीद्वारा बरामद हतियार कानूनसम्मत नष्ट गर्ने गरिन्छ । सुरुमा हतियारको फोरेन्सिक परीक्षण गरिन्छ । मुद्दा चल्ने तालुक निकाय अदालत, सीडियो कार्यालयको आदेशमा हतियार प्रहरीले नै राख्दछ । अभियुक्त पक्राउ परेको भए अन्तिम फैसला नआउन्जेल हतियारको रेकर्ड राखेर सम्बन्धित प्रहरी कार्यालयको मुद्दा शाखामा राखिन्छ । 

अभियुक्त पक्राउ परी अन्तिम फैसला भएपछि प्रहरीको कोतघर (हतियार राख्ने ठाउँ) मा राखिन्छ । कामै नलाग्ने र खिया लागेका हतियारलाई भने धुल्याउने प्रक्रिया पुप्याएर डिस्पोज गरिन्छ । 

त्यसपछि निश्चित समयमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुको रोहबरमा कानुनबमोजिम हतियार नष्ट गरिने प्रवक्ता ढकालले जानकारी दिए ।

टिप्पणीहरू