प्रेमिल जोडीको पदस्थापन र पदोन्नति

प्रेमिल जोडीको पदस्थापन र पदोन्नति

निजामती सेवाभित्रको एउटा प्रेमिल जोडीले हालै एकै पटक अधिकृतमा नाम निकालेर रेकर्ड कायम गर्न सफल भएको छ । भन्छन्, जीवन नियममा होइन संयोगले चल्दछ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको त्याग र संघर्ष देख्दैनन् ।

संघर्षको भट्टीमा खारिएर, दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल जोडी हो– सुरेन्द्र पाण्डे र रमिता बिष्टको । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं कम्ता पापड पेलेन यो दम्पतीले । एकै पटक नाम निकालेर र पदस्थापन भएर रेकर्ड कायम राखेका छन् यी गुल्मेलीले । लोकसेवा आयोगले हालै विज्ञापन नम्बर १६६९९–०७९/८० (खुला), १६७००–०७९/८० (महिला), १६७०१–०७९/८० (आदिवासी जनजाति), १६७०२–०७९/८० (मधेसी), १६७०३–०७९/८० (दलित), १६७०४–०७९/८० (अपाङ्ग) र १६७०५–०७९/८० (पिछडिएको क्षेत्र) तर्फ २ सय १७ जनाको लागि खुलाएको विज्ञापनमा १६ हजारभन्दा बढी परीक्षार्थीले भाग लिएका थिए । त्यो भीडबाट २१७ जना सफल भएका छन् । यो जोडीको सफलता लोक सेवा आयोगप्रति रुचि राख्नेहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ । कर्मचारी संकेत नम्बर ३१७८२९ रहेका सुरेन्द्र पाण्डे र ३१७८३२ रोल नम्बरकी रमिता बिष्ट एकै पटक सफल जोडी बन्न पुगेका हुन् । 

उसो त निजामती क्षेत्रको निम्ति उर्वर भूमि मानिन्छ स्याङ्जा, पाल्पा, गुल्मीलगायत जिल्लालाई । एक सालमै गुल्मी धुर्कोटका रमेश भण्डारीले १० वटा लोकसेवा परीक्षा उत्तीर्ण गरेर कीर्तिमान बनाएका थिए । त्यस्तै अनिष गिरीले पनि एक वर्षमा सात वटा परीक्षा पास गरेको धेरै भएको छैन । यो पटक गुल्मीबाट एकैपटक १३ जना शाखा अधिकृत थपिएमध्येका हुन्– सुरेन्द्र र रमिता । धुर्कोट गाउँपालिका वडा नम्बर–६ को हो यो जोडी । लेखा परीक्षण समूहबाट सुरेन्द्र र सामान्य प्रशासन समूहबाट रमिता सिफारिस भएका हुन् ।

उमेरले तीन दशक टेकेका सुरेन्द्रले ०७४ सालदेखि खरिदारबाट निजामती सेवामा पाइला राखेका थिए । अघिल्लो वर्षमात्रै नासुमा नाम निकाले । स्कूले शिक्षा हिमालय मावि धुर्कोटबाट पार गरे । ०६६ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि मनभरि सपना र झोलाभरि भविष्य बोकेर भित्रिए काठमाडौं ! जनमैत्री मल्टिपल क्याम्पसमा कम्प्युटर साइन्स लिएर प्लस टु पढ्न थाले । स्नातक तहका लागि भर्ना भए पब्लिक युथ क्याम्पसमा । स्नातकपछि लोकसेवाको तयारीमा जुटे । पहिलो प्रयासमै न्याय सेवातर्फ २०७४ मै नाम निकाले ।

दुनियाँ नै जित्नेहरूको हो, उनीहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, खोज्दैनन् हार्नेहरूलाई । 

उनको पहिलो ‘पोस्टिङ’ जिल्ला अदालत, पर्सामा भयो । २०७६ वैशाखमा प्रशासनको लेखा समूहतर्फ नासुमा नाम निकाले र मालपोत कार्यालय सिन्धुपाल्चोक गए । अहिले (२०८०) मा शाखा अधिकृतमा नाम निकालेर महालेखा परीक्षकको कार्यालय काठमाडौंमा पदस्थापन भएका छन् । गुल्मीकै इस्मा गाउँपालिका रजस्थलमा जन्मिएकी रमिताले २०६८ मा आनन्द मोहन माविबाट प्रथम श्रेणीमा एसएलसी पार लगाइन् । प्लस टु एजुकेसन साइन्स लिएर पढिन् । त्यसपछि स्नातक तह ताहाचल क्याम्पसबाट गरिन् । प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि ०७६ मा पहिलो प्रयासमै न्याय सेवातर्फ खरिदारमा नाम निकालिन् । र, पर्सा जिल्ला अदालतमा सिफारिस भइन् । त्यहीं भेट भएको हो सुरेन्द्रसँग । ०७९ मा सामान्य प्रशासन सेवाअन्तर्गत सम्पत्ति शुद्धीकरण विभाग पुल्चोकमा नासुमा सिफारिस भएकी उनले श्रीमान्सँगै अधिकृतमा नाम निकाल्न सफल भइन् । ०७७ मा सुरेन्द्र र रमिताले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । 

धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने तर यो अवसर सबैका लागि कहाँ जुर्छ र ? निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै अन्त जानै पर्दैन । असम्भव भन्ने केही छैन दुनियाँमा । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । भनिन्छ, दुनियाँ नै जित्नेहरूको हो, उनीहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, खोज्दैनन् हार्नेहरूलाई । तर, जीवनको परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग । सावित्रा काफ्ले र नवीन मैनाली दुवै अफिसर हुन् तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्री उच्च अदालत पाटन र नवीन सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र बानेश्वरमा आन्तरिक प्रशासन शाखा हेर्छन्् । निजामती सेवाको उच्च ओहोदा (अफिसर) मा पुग्ने अपांगताको सम्भवतः यो पहिलो जोडी हुनुपर्छ ।

उसो त सरकारी सेवामा दाजुभाइ, दिदीबहिनी नै एकै पटक शाखा अधिकृत बनेका उदाहरण यसअघि नै देखिसकिएको छ । मीना र मन पनि यसैगरी शाखा अधिकृत बन्न सफल भएका हुन् । अघिल्लो वर्षमात्र एकै परिवारका दाजुभाइ दिनेश र दिपेश खनालले शाखा अधिकृतमा नाम निकालेर रेकर्ड कायम गरेकै हुन् । यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका पार्वती र बसन्ती भट्टसमेत एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएका थिए । उसो त निजामतीमा सयौं जोडी श्रीमान् श्रीमती छन् ।

एकाघरबाट सरकारी सेवामा लागेकाहरू त धेरै भेटिन्छन् । फाष्ट ट्र्याकबाट बैकुण्ठ अर्याल मुख्यसचिव नबनेका भए पहिलो महिला मुख्यसचिव बन्ने थिइन् देवकुमारी गुरागाईं । गुरागार्इंको परिवारका सातै जना सरकारी जागिरे हुन् । दाइ महेन्द्र लोकसेवाको सचिवबाट अवकाश पाएर निवृत्त जीवन बिताइरहेका छन् । अर्थ सचिव कृष्णहरि पुस्कर र सहसचिव आभा कर्ण दम्पती हुन । यसअलावा सहसचिव तहको ७, सहसचिव–शाखा अधिकृतको ९, उपसचिवको १३, उपसचिव–शाखा अधिकृतको २४ र शाखा अधिकृतका २० जोडी निजामती सेवामा छन् । यीमध्ये कतिपयले सरकारी सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन शुरु गरेका हुन् भने कतिपयले विवाहपछि एक–अर्कालाई आफ्नै पेशामा प्रवेश गराएको भेटिन्छ । निर्मल न्यौपाने र रेजिना कोइराला, लोकसेवा आयोगका सचिव राजकुमार र रोशनी पनि सरकारी सेवामा छन् । राजकुमार र उद्योग मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ दाजुभाइ हुन् । मीना अर्याल र गोपाल अर्याल दम्पती नै सरकारी सेवामा रमाइरहेका छन् । 

– ऋषि भट्टराई, गुल्मी

टिप्पणीहरू