महिला भएकै कारण जस्तो पीडा पनि सहनुपर्ने ?

महिला भएकै कारण जस्तो पीडा पनि सहनुपर्ने ?

हरेक महिलालाई आमा बन्ने रहर हुन्छ । आमा बन्दा हरेक महिलालाई गर्व हुने गरेको छ । अधिकांश महिलाको यो सपना पूरा हुन्छ भने कतिपयले यो खुशी पाउँदैनन् । चाहँदाचाहँदै पनि कतिपय महिला आमा बन्न सक्दैनन् । 

समस्या महिलामा मात्र होइन्, पुरुषमा पनि हुन्छ तर यो कुरा समाज र घरपरिवारले स्वीकार्न चाहेको देखिँदैन । जसका कारण महिला पीडित बन्न पुग्छन् । सन्तान नहुँदा एउटी महिलाले खेप्ने कठिनाइको बयान गरिसाध्य छैन् । नेपाली समाजको चेतनाको स्तर अहिलेपनि पहिलेको झैँ छ । 

बच्चा जन्माउन नसक्नुमा महिलालाई नै दोषी करार गरिन्छ । बच्चा जन्माउनलाई दबाब दिइन्छ । बच्चा नपाएमा श्रीमानले अर्को विवाह गर्ने र घरपरिवारले अर्को बुहारी ल्याउने भनि मानसिक तनाव दिने गरेका छन् । आमा बन्न नसक्दा समाजमा एक्लो र घरपरिवारमा घृणित बनाइन्छ । 

जसले गर्दा उनीहरु गलत बाटोमा पुग्छन् । आमा बन्ने सपना बोकेकाहरु ‘अपराधी’ बन्छन् । संघीय राजधानीमा हालसालै मात्र शिशु चोरीको घटनाले ठूलो तरङ्ग ल्यायो । दैलेखको नौमुले गाउँपालिका–१ घर भई काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंह शिशु चोरेको कसूरमा पक्राउ परिन् । 

उनले थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको शिशु चोरी गरेकी हुन् । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई कपनमा बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठ नवजात शिशुको स्वास्थ्य जाँच गर्न अघिल्लो शुक्रबार अस्पताल पुगेकी थिइन्। 

छोरीलाई जण्डिस र निमोनियाको लक्षण देखिएपछि जचाउन अस्पताल पुगेकी सबिना ओपिडी जाँचपछि रिपोर्ट कुरेर बसेकी थिइन् । बच्चाको डाइपर फ्याँक्न खोजिरहेकी सबिनाकै छेउमा बसिरहेकी मनकुमारीले शिशु आफूले बोकिदिने बताइन् । 

उनी डाइपर फ्याँक्न बाहिर निस्केको मौका छोपेर मनकुमारी खुसुक्क डेरातिर लागिन् । त्यसपछि अस्पतालमा ठूलै हल्लाखल्ला भयो । राति उनकै डेरामा पुगेर प्रहरीले शिशुको उद्दार गर्यो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

विवाह गरेको तीन वर्षसम्म पनि सन्तान नभएपछि चोरी गरेको उनले प्रहरीसमक्ष बताएकी छिन् । बच्चा चोरीको घटना नौलो होइन । यसअघि पनि पटकपटक विभिन्न जिल्लामा यस्तो घटना घटिसकेको छ । 

केही वर्षअघि बुटवलमा अस्पतालबाटै ९ दिनको नवजात शिशु चोरी भएको थियो । विवाहको २० वर्षपछि पाएको शिशु चोरी भएपछि आमाबुवा अचेत भए । कपिलवस्तुको कुदरबेटवाका सन्जु भन्ने परमात्मा रेदासको ९ दिने नवजात छोरा एक महिलाले खेलाउने भन्दै लिएर भागेकी थिइन् । विवाह भएको पाँच वर्षसम्म पनि बच्चा नभएपछि वीरगञ्जमा एक महिलाले त्यसैगरी चोरिन् ।  

सन्तानको चाहना पूरा गर्न २२ वर्षीया लालसा देवी अस्पतालको बेडबाटै बच्चा चोरेर फरार भएकी थिइन् । त्यसको तीन दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यता कसैले बच्चा चोरिरहँदा उता कोही बच्चा छोडिरहेका छन् । कसैलाई बच्चा नभएर पीडा छ त कसैलाई बच्चा छोड्नुपर्ने बाध्यता । 

वीरगञ्जको नारायणी अस्पतालमा फागुन १२ गते भर्खर जन्माएको नवजात शिशु छोडेर आमा भागेकी हुन् । सो दिन बिहान एक महिलाले छोरीलाई जन्म दिएकी थिइन् । तर, साँझ ६ बजेतिर उनी बच्चा छाडेर भागेकी हुन् । घरपरिवारबाट छोरा पाउनुपर्ने दबाबमा रहेकी उनी नवजात शिशु छोड्न बाध्य भइन् ।

उता प्युठानमा माघ १७ गते बेवारिशे नवजात शिशु भेटियो । प्युठान नगरपालिका ४ स्थित छायाँ भण्डारीको बाख्रा बाँध्ने गोठमूनि सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा नवजात शिशु फेला परेको हो । आमा नभेटिएपछि नगरपालिकाले शिशु हेरचाह गर्न इच्छुक व्यक्तिसँग आवेदन माग गरेको छ ।

सन्तानको लागि कतै एउटी महिला तड्पिरहँदा कतै नौ महिना कोखमा राखी, अनेकौं पीडा सहेर जन्माएको बच्चालाई भगवान् भरोसा छोडेर हिँडेका छन् । घरपरिवार र समाजका कारण आमा निर्दयी बन्न बाध्य भएका छन् । छोरी जन्माएपछि दिइने प्रताडनका कारणले बच्चा छोडेर हिँड्नुपर्ने अवस्था निम्तिएको छ । 

नेपालको संविधानको धारा १८ मा समानताको हकबारे उल्लेख गरिएको छ । जसमा सबै नागरिक समान हुने लेखिएको छ । धारा १८(५) मा भनिएको छ, ‘पैतृक सम्पत्तिमा लैङ्गिक भेदभावबिना सबै सन्तानको समान हक हुनेछ ।’ त्यस्तै, धारा ३८(१) मा महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुने भनिएको छ । 

(२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने व्यवस्था गरेको छ । तर, कार्यान्वयन फितलो हुँदा महिला धार्मिक, सांस्कृतिक, शारीरिक, मनोवैज्ञानिक हिंसाको शिकार बनिरहेका छन् । प्रजनन र मातृत्वको अधिकार महिलाबाट खोसिएको अवस्था छ । घरपरिवार र समाजको डरले महिलाले आफ्नो हकअधिकारको प्रयोगसमेत गर्न पाएका छैनन् । 

आफ्नो काखमा हुनुपर्ने शिशुलाई अस्पतालको बेडमा छाडेर हिँड्नुपर्दा ती आमालाई भएको पीडा कसैले अनुभव पनि गर्न सक्दैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानव अधिकार वर्ष पुस्तकका प्रधानसम्पादक मदन पौडेल सामाजिक कुरीतिका कारण त्यस्तो घटना भएको बताउँछन् । 

महिला भएकैले पीडित हुनुपरेको उनको भनाइ छ । महिलाले बच्चा चोरेको र छोडेको घटनाले नेपाली समाजको चेतनास्तर पुष्टि गरेको उनले बताए । सन्तानप्रतिको सामाजिक दृष्टिकोण र निःसन्तान हुँदा खेपेको पीडाका कारण ती महिलाले त्यो कदम चालेको पौडेलको बुझाइ छ । 

उनी भन्छन्, ‘यी दुई छुट्टाछुट्टै घटना भएपनि महिलासँग जोडिएको छ । एउटी महिला बच्चा नपाएको डरले घरबाट घृणित हुने र अर्की महिला छोरी जन्माउँदा आफूलाई हेला गर्ने डरमा छिन् । जसका कारण उनीहरुले यो कदम उठाएको देखिन्छ । बच्चा चोरी गर्नु अपराध हो तर हामीले त्यस घटनाको गहिराइमा गएर हेर्नुपर्छ । बच्चा नभएको महिलालाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ । त्यही डरले गर्दा यो घटना भयो ।’ 

छोरी अस्पतालमै छोड्नुको पछाडि मधेशमा जकडिएको दाइजो प्रथा प्रमुख कारण भएको उनको जिकिर छ । छोरीको विवाह गर्दा घरखेत नै बेचेर दाइजो दिनुपर्ने हुँदा आमा आफ्नो सन्तान छोड्न बाध्य भएको उनले सुनाए । यता, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिलाको अवस्था अहिलेपनि निकै बिजोग रहेको गुनासो गरिन् । 

मुलुकमा महिलासम्बन्धी ऐन, कानुन पर्याप्त भएपनि कार्यान्वयन फितलो भएको उनको भनाइ छ । पुरुषप्रधान मानसिकताका कारण महिलाले अनेकौं यातना खेप्नुपरेको उनले बताइन् । छोरी जन्मियो भन्दैमा छोड्न बाध्य बनाउनु लज्जास्पद विषय भएको खतिवडा बताउँछिन् । 

‘यहाँ महिलाको कन्तबिजोग छ । निकाय मात्रै भएर के गर्ने, महिलाको अवस्थामा सुधार आउनसकेको छैन् । हरेक क्षेत्रमा महिला शोषित, पीडित छन् । घर, समाज सबैतिरबाट महिलामाथि हेला हुन्छ । महिला भएकाले नै पीडा खेप्नुपर्ने हाम्रो समाज कहाँ छ ? सोच्नुपर्ने बेला भएको छ’, उनले भनिन् ।

टिप्पणीहरू