हाइटीको हालको हालत !

हाइटीको हालको हालत !

इक्वेडरमा दुई महिने आपतकाल घोषणा सक्किनु केही दिनअगाडि दक्षिण अमेरिकी अर्को देश हाइटीले पनि ठूलो संकट व्यहोर्नुपरेको छ । यही मार्च तीन तारिखमा सशस्त्र समूहले त्यहाँको मुख्य कारागारमा आक्रमण गरी हजाराैँ बन्दीलाई मुक्त गरेको थियो । सशस्त्र हतियारधारी समूहले देशभरि नै विभिन्न लुटपाट र हत्याको घटना चर्काएको छ । राजधानी पोर्ट–औ–प्रिन्सका रणनीतिक स्थानलाई निशाना बनाइएको छ । मार्च ५ मा त्यहाँको मुख्य एयरपोर्टसमेत कब्जामा लिइएको थियो । वर्षौंदेखिको राजनीतिक खिचातानी तथा पटक–पटकका भयानक प्राकृतिक प्रकोपले थिलथिलो पारेको यो देशमा विभिन्न प्रकारका गिरोह बेला–बेला अस्तित्वमा आउने गरेका छन् । अहिले प्रधानमन्त्री एरियल हेनरीको तत्काल राजीनामाको माग गर्दै यदि त्यसो नभएमा गृहयुद्ध चर्कने चेतावनीसहित जिम्मी चेरिजले यो विद्रोहको नेतृत्व गरेका छन् । उनी एक पूर्व प्रहरी अफिसर हुन् । चेरिजले आफूलाई बार्बिक्यु भन्न रुचाउँछन् । नभन्दै प्रधानमन्त्रीको सत्तात्याग भएको छ ।

सन् २०२१ मा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि थप समस्या व्यहोरिरहेको हाइटीले अहिले सन् २०१० को विनाशकारी भूकम्पपछिको सबैभन्दा ठूलो मानवीय संकटसँग जुधिरहेको छ । राजधानीका ८० प्रतिशतभन्दा बढी भूभाग विद्रोहीको पकडमा छ । नेशनल प्यालेस र गृह मन्त्रालयको केही भागमा पेट्रोल बम प्रहार गरिएको छ । अमेरिकी सेनाले दूतावासको सुरक्षा बढाउँदै अत्यावश्यक बाहेकका कर्मचारीलाई एयरलिफ्ट गरेर स्वदेश लगेको छ । जर्मनीका राजदूत र केही इयू कूटनीतिज्ञ पनि देश छाडेर भागेका छन् । स्टेट युनिभर्सिटी अफ हाइटी अस्पतालले गम्भीर अवस्थाको सामना गरिरहेको छ । बिरामीहरू उपचारका लागि पर्खिरहेका तर आवश्यक औषधि र उपचार गर्ने डाक्टर–नर्स नै छैनन् । लाश सडेर गन्हाएका छन् । केही दिनसम्म विमान अवतरण गर्न नसकेका कारण भ्रमणमा गएका प्रधानमन्त्री भर्खर मात्र देश प्रवेश गरी राजीनामा दिएका छन् ।

१०,७१४ वर्ग माइल (२७,७५० वर्ग किलोमिटर) भूभागमा फैलिएको हाइटी क्यारिबियन क्षेत्रको तेस्रो ठूलो देश हो । करिब एक करोड १५ लाख जनसंख्या भएको यो राज्य सन् १८०४ मा फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि अमेरिकापछि स्वतन्त्र हुने दोस्रो देश बनेको थियो । विविध ऐतिहासिक महत्वको बावजुद, हाइटीले आर्थिक, राजनीतिक र सामाजिक चुनौती सामना गरिरहेको छ । सन् १४९२ मा क्रिस्टोफर कोलम्बस यस टापुमा अवतरण गरी यसको नाम हिस्पानिओला राखेका थिए । उनको सम्झनास्वरूप कोलम्बसको एक स्मारक हाइटीको राजधानी पोर्ट–औ–प्रिन्समा अवस्थित छ । राजधानीमा मात्र देशको २०% जनसंख्या बसोबास गर्छ । स्वतन्त्र भएपछि सन् १९१५ सम्म यहाँ विभिन्न ७० तानाशाहले शाषण गरेका थिए । त्यसपछि ३८ जनाले देशको नेतृत्व गरेको देखिन्छ । हाइटीको इतिहासमा राज्य प्रमुखको रुपमा लामो समय सन् १९५७ देखि ८६ सम्म बाबु–छोरा फ्रान्सकोइस डुवालियर र जिन–क्लाउड डुवेलियर क्रमशः १३ वर्ष १८१ दिन र १४ वर्ष २९२ दिन शासन गरेका थिए । यहाँका राज्य प्रमुखहरू निकै थोरैले मात्र अलि लामो समय शासन गरेको देखिन्छ । अधिकांश त केही दिनदेखि एक वर्षभन्दा कम सत्तामा थिए । अहिलेसम्मको इतिहासमा त्यहाँ कुनै महिला राज्य प्रमुख बनेका छैनन् । एर्था पास्कल–ट्रोइलोटले सन् १९९०/९१ मा ११ महिना निमित्त राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनी हाइटीको इतिहासमा उक्त पद सम्हाल्ने पहिलो महिला र अफ्रिकीमूलकी पहिलो महिला राष्ट्रपति थिइन् ।

हाइटीको राष्ट्रिय फुटबल टोली, जसलाई ‘लेस ग्रेनेडियर्स’ पनि भनिन्छ, यस क्षेत्रमा एक उत्कृष्ट टिम हो । फिफा विश्वकपमा छनोट हुने यो दोस्रो क्यारेबियन टोली हो । सन् १९७४ मा हाइटीले विश्वकपमा यस क्षेत्रबाट आफ्नो एक मात्र उपस्थिति जनाउँदै समूह चरणमा इटाली, पोल्याण्ड र अर्जेन्टिनासँग प्रतिस्पर्धा गरेको थियो । फुटबलको अलावा हाइटीले पौडी खेलमा पनि उल्लेख्य प्रगति गरेको देखिन्छ ।

हाइटीले संसारकै ठूलो प्राकृतिक विपत्ति सन् २०१० मा राजधानी पोर्ट–औ–प्रिन्स र यसको व्यापक क्षेत्रमा ७.० म्याग्निच्युडको विनाशकारी भूकम्प सहनुपरेको थियो । भूकम्पबाट करिब ३० लाख मानिस प्रभावित हुनुका साथै सरकारले दुई लाख ३० हजारको मृत्यु भएको र लगभग तीन लाख नागरिक घाइते भएको रिपोर्ट गरेको थियो । लगभग दश लाख मानिस घरबारविहीन भएका थिए । करिब दुई लाख पचास हजार आवास र तीस हजार व्यापारिक भवन भत्किएका वा गम्भीर क्षति भएका थिए । विभिन्न राष्ट्रको बेग्लाबेग्लै सहयोगको अलावा राष्ट्रसंघले पनि अन्तर्राष्ट्रिय मिशन पठाएको थियो । पुनर्निर्माणसहित त्यहाँको राजनीतिक स्थायित्वका लागि पनि सन् २०१७ को अन्त्यसम्म बसेको थियो । भूकम्पलगत्तै कोलेराको महामारीले ठूलो क्षति पु¥याए भने सन् २०१६ मा आएको म्याथ्यु तुफानले झन् ठूलो समस्या थपेको थियो । मुसलधारे वर्षा, ठूलो आँधीबेहरी र १४५ माइल प्रतिघण्टाको बेगमा आएको हावाहुरीले व्यापक धनजनको विनाश भएको थियो ।

सन् २०२० देखि हाइटीको राजधानी पोर्ट–औ–प्रिन्समा दुई ठूला आपराधिक समूहबीच गृहयुद्ध चलिरहेको थियो । यसमा मुख्य त जी ९ र जी पेप नामधारी दुई समूहको बोलवाला देखिन्छ । यिनीहरू आपसमा लडे पनि सरकारी सेना र प्रहरीसँग भने सामूहिक रुपमा मुकाबिला गर्छन् । हाइटी सरकार र सुरक्षा बलहरूले नियन्त्रण कायम राख्न संघर्ष गरिरहेका छन् तर गिरोहले सन् २०२३ सम्ममा शहरको ९० प्रतिशत भूभाग नियन्त्रणमा राखिसकेको छ । यसको प्रत्युत्तरमा, बावा काले (फ्रेञ्च बोइस कालेबाट, जसको अर्थ ‘डोरस्टप’ हो) नामक एक सशस्त्र सतर्कता आन्दोलन गिरोहसँग लड्न आयो । सन् २०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा सहायता मिसनलाई हाइटीमा सुरक्षाका लागि खट्न अनुमति दिएको थियो । मार्च पहिलो सातादेखि सरकार र ती समूहबीचको संघर्ष उत्कर्षमा पुगेको छ र सरकारले आपत्काल घोषणा गरी कफ्र्यु लागू गरेको छ ।

हाइटीका ४३ औं राष्ट्रपति जोभेनेल मोइसेको जुलाई ७, २०२१ मा पोर्ट–औ–प्रिन्सस्थित उनको निवासमा बिहान १ बजे हत्या गरिएको थियो । यो हत्या २८ विदेशी भाडाका सैनिकको एक समूहले गरेको थियो । तीमध्ये मुख्यतया कोलम्बियाली थिए । उक्त आक्रमणको क्रममा प्रथम महिला मार्टिने मोइसलाई पनि धेरै ठाउँमा गोली लागेपछि आपतकालीन उपचारका लागि अमेरिका लगिएको थियो । सोही दिन दिमित्री हेरार्डको नेतृत्वमा रहेको युएसजिपिएन (एल’युनिटे डे सेक्युरिटे जेनेराले डु पलाइस नेशनल) ले तीन जना संदिग्ध हत्यारालाई मारेको र थप २० जनालाई गिरफ्तार गरेको थियो । अन्य बन्दुकधारी र आक्रमणका मुख्य योजनाकारको खोजी शुरु गरिएको छ । त्यसलगत्तै हाइटीका मुख्य अभियोजक बेडफोर्ड क्लाउडले मोइसका उच्च अंगरक्षकसँग सोधपुछ गर्ने योजना रहेको पुष्टि गरेका थिए । आक्रमणमा राष्ट्रपतिका कुनै पनि सुरक्षा गार्डको मृत्यु वा अंगभंग भएको थिएन । अमेरिकी अधिकारीले पनि हत्याको षड्यन्त्र रचेको आरोपमा ११ जनालाई पक्राउ गरेका थिए । यस घटनामा संलग्न भएको आरोपसहित स्वर्गीय राष्ट्रपतिका श्रीमती मार्टिन मोइस र तत्काल राष्ट्रपतिका उत्तराधिकारी क्लाउड जोसेफसमेत ५१ जनालाई यही फेब्रुअरी १९ मा मुद्दा चलाइएको छ । क्लाउड जोसेफ ४ मार्च २०२० देखि २४ नोभेम्बर २०२१ सम्म विदेशमन्त्री थिए । १४ अप्रिल २०२१ देखि २० जुलाई २०२१ सम्म हाइटीको कार्यवाहक प्रधानमन्त्री र ७ जुलाई २०२१ देखि २० जुलाई २०२१ सम्म कार्यवाहक राष्ट्रपतिको रूपमा काम गर्ने पनि उनै हुन् ।

हाइटीमा गैर–राज्य सशस्त्र समूहको जरा डुवालियर शासनबाट शुरु भएको हो । सन् १९५० को दशकमा राष्ट्रपति फ्रान्कोइस डुभालियरले कुख्यात टन्टन म्याकाउट अर्धसैनिक बलको स्थापना गरेका थिए । तिनीहरूको भूमिका हिंसात्मक रूपमा विद्रोहीलाई दबाउने र सत्तामा तानाशाहीको पकड कायम राख्ने थियो । सन् १९८६ मा ज्याँ क्लाउड डुभालियर (फ्रान्कोइसका छोरा) लाई हटाएर तानाशाहीको अन्त्य भएपछि पनि गैर–राज्य हिंसा कायम रह्यो । टोन्टन म्याकाउटे विघटन भयो तर कहिल्यै निःशस्त्र भएन र बेला बखत अति दक्षिणपन्थी समूहको रूपमा पुनर्गठन हुँदै आयो । सन् १९९४ मा राष्ट्रपति ज्याँ ब्रान्ड एरिस्टाइडले पदभार ग्रहण गरेपछि डुभालियर समर्थक सशस्त्र समूहलाई गैरकानुनी घोषित गर्नुका साथै हाइटीको सेनालाई विघटन गरेका थिए । तर, सेना निःशस्त्रीकरण हुन सकेन । भूतपूर्व सैनिक र भूतपूर्व मिलिसियाहरू अनौपचारिक लडाकु गुटमा सामेल भए, जसले गर्दा सन् १९९४ देखि २००४ सम्म पोर्ट–औ–प्रिन्समा अरिस्टाइड विरोधी विद्रोह भयो । यसलाई दबाउनका लागि संयुक्त राष्ट्रसंघले एक विशेष सैनिक टोली पठाएको थियो । त्यस बीचमा भएका अराजकताको प्रतिरक्षास्वरूप चिमर्स भनिने युवा आत्मरक्षा समूहको उदय भयो । यी समूहलाई प्रहरी र सरकारले आफ्नो स्थिति बलियो बनाउन सहयोग गरेका थिए । हाइटीका राजनीतिक अभिनेताले सशस्त्र समूहलाई उनीहरूको हितको रक्षा गर्न, चुनावमा सहयोग गर्न र सार्वजनिक अशान्ति दबाउन प्रयोग गरिरहे ।

हाइटीमा विभिन्न कारणले गर्दा सन् २०१६ नोभेम्बरदेखि आमनिर्वाचन हुन सकेको छैन । सन् २०१९ को अक्टोबर २७ का लागि संसदीय निर्वाचनको योजना बनाइए पनि सन् २०२१ को सेप्टेम्बर २६ सम्मका लागि सारिएको थियो । संवैधानिक जनमत संग्रहको प्रश्न उठेपछि र सेप्टेम्बर २०२१ मा कार्यवाहक प्रधानमन्त्री एरियल हेनरीद्वारा अस्थायी निर्वाचक मण्डलका सदस्यलाई बर्खास्त गरेपछि चुनाव फेरि स्थगन गरिएको थियो । सन् २०२२ को डिसेम्बरमा सन् २०२३ मा निर्वाचन गर्ने गरी भएको सम्झौताले मूर्तरूप लिन सकेन । निर्वाचनबिनै शासन गरिरहेका हेनरीलाई अवैध घोषणा गर्दै तुरुन्त राजीनामा दिन विद्रोहीले दबाब बढाएका छन् । अमेरिकी अधिकारीले लोकतान्त्रिक रुपबाट सरकार निर्माण गरिनुपर्ने सल्लाह दिए पनि वर्तमान अवस्थामा स्वस्छ, निष्पक्ष निर्वाचन गर्न नसकिने मात्र हैन चुनाव नै हुन नदिने घोषणा गरिएको छ । आफ्नो राजकीय शक्ति कायम राख्न बनाइएका सशस्त्र गुटहरू आफैँले सत्ता हत्याउन खोजेको हालको हाइटीको के हालत हुने हो वा यो खेल के–कसरी सकिने हो, कति समय कुर्नुपर्ने हो भविष्यले नै बताउला !

टिप्पणीहरू