जथाभावी देखाएर के पाउनुहुन्छ ?

युट्युबरलाई जेल पठाउनुअघि श्रीमान्को सोधाइ

जथाभावी देखाएर के पाउनुहुन्छ ?
सुन्नुहोस्

युट्युब अहिलेको युवा पुस्तामाझ निकै लोकप्रिय छ । ‘एकै छानोमुनिको घर’ जस्तो भएकाले यसलाई सबैभन्दा धेरै रुचाइएको हो । सूचनादेखि मनोरञ्जनात्मक सामग्री हेर्न सकिन्छ यो मञ्चमा तर यसमार्फत जथाभावी सामग्री हाल्ने अनि भ्युअर्स बढाउने दौड चलेको छ । युट्युबरहरू सामाजिक सुधारभन्दा व्यक्तिगत घटनामा बढी केन्द्रित भएको पाइन्छ ।

भाइरल हुने नाममा युट्युबरले श्रीमान्–श्रीमतीको घरझगडासमेत उछाल्ने गरेका छन् । घरभित्रै समाधान हुनुपर्ने झगडा सार्वजनिक गरेर परिवार नै विखण्डन गरिदिएका उदाहरण धेरै छन् । ‘कोठाभित्र यस्तो अवस्थामा भेटियो । कसको छ गल्ती ?’, ‘अन्ततः हराएकी श्रीमती आफ्नै साथीसँग समातिइन्, भेट्नेबित्तिकै श्रीमानले कुट्यो हेर्नुस्’, ‘तीन दिनदेखि बूढी हराएपछि, भेटियो यस्तो अवस्थामा !’, ‘फरार जोडी लुकेर बसेको कोठा फेला, श्रीमान्–श्रीमती बनी लुकेर बसेको खुलासा, मध्यरातमा भयो कोठाबाट भागाभाग !’, ‘होटलमा रंगेहात भेटिएका श्रीमान् फरार, श्रीमती र छोरा भक्कानिँदै मिडियामा’, ‘फरार श्रीमती नाठोसँग–जार जारको हानाहान, रंगे काण्ड दोस्रो भिडियोमा’, लगायतका शीर्षक राखेर भिडियोहरू हाल्ने गरिएको छ । 

‘एउटा महिला र पुरुष सँगसँगै बसे, उनीहरूले जे गरे, त्यसले तपाईंलाई के असर पार्‍यो ? देशलाई के फरक पार्‍यो ? देश विकासमा कहाँ बाधा पुग्यो ? युट्युबमा त्यो सामग्री प्रशारण गर्दा तपाईंलाई के फाइदा भयो ? के क्षति भयो ? अरुको भान्सा, बेडरुममा छिरेर के उपलब्धि हासिल गर्नुभयो ?’ फागुन ११ गते न्यायाधीश कपिलमणि गौतमको प्रश्नमा उनले ‘मलाई पैसा आउँछ नि श्रीमान्’ भनी जवाफ दिएका थिए ।

श्रीमान्–श्रीमतीको आन्तरिक मामिलालाई युट्युबमा ल्याउनु ठीक हो ? अरुको व्यक्तिगत जीवनको पछाडि दौडिनुभन्दा समाजमा भएका विकृतिहरू उठाइदिए कति सुधार देखिन सकिन्थ्यो होला ? तर, कतिपय युट्युबरलाई यस्तो विषयमा चासो छैन । नाबालिग, बलात्कृतको तस्बिर मिडिया, युट्युब वा सामाजिक सञ्जालमा राख्न पाइँदैन । युट्युबर आफैं प्रहरी र न्यायाधीश हैनन् । भर्खरै अर्काको चरित्रहत्या गरेको आरोपमा उदयपुरवासी युट्युबर मनोज ‘मानव’ महतो जेल चलान भएका छन् । स्वघोषित सामाजिक अभियन्ता तारा बरालको जाहेरीपश्चात पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । साइबर अपराधसम्बन्धी मुद्दामा अघिल्लो दुई पटक सफाइ पाइसकेका उनको ‘अन्टसन्ट’ जवाफका कारण न्यायाधीशले थुनामा पठाउन आदेश दिएको स्रोत बताउँछ । 

‘एउटा महिला र पुरुष सँगसँगै बसे, उनीहरूले जे गरे, त्यसले तपाईंलाई के असर पार्‍यो ? देशलाई के फरक पार्‍यो ? देश विकासमा कहाँ बाधा पुग्यो ? युट्युबमा त्यो सामग्री प्रशारण गर्दा तपाईंलाई के फाइदा भयो ? के क्षति भयो ? अरुको भान्सा, बेडरुममा छिरेर के उपलब्धि हासिल गर्नुभयो ?’ फागुन ११ गते न्यायाधीश कपिलमणि गौतमको प्रश्नमा उनले ‘मलाई पैसा आउँछ नि श्रीमान्’ भनी जवाफ दिएका थिए । उनको सो जवाफ सुन्नासाथ न्यायाधीशले पुर्पक्षका लागि जेल चलान भनेर ठोकिदिए । उनीसँग सूचना तथा प्रशारण विभागले पत्रकारलाई दिने प्रेस पास पनि थिएन । आफ्नै मिडियाको कार्ड बनाएर लगाई हिँड्ने गर्थे । अदालत स्रोतले भन्यो, ‘उहाँसँग बैधानिक लाइसेन्स पनि रहेनछ । प्लास्टिकको कार्ड भिरेर जे पनि गर्न मिल्छ ? ’

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीका अनुसार उनलाई सुन्धारास्थित जगन्नाथदेवल (केन्द्रीय) कारागार चलान गरिएको छ । रेष्टुरेण्टमा गफ गरिरहेको अवस्थामा क्यामेरा लिएर छिरेपछि केही समयअघि बरालले मानवमाथि कुटपिट गरेकी थिइन् । उनले मानवलाई लात्तीले हान्नुका साथै मुखैभरि थुकेको भिडियो सार्वजनिक भएको थियो । पुसमा खोटाङकी चर्चित युट्युबर उमा राई सिक्किमबासीबीच साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा समातिइन् । आफूलाई सामाजिक अभियन्ता र सञ्चारकर्मी भन्दै पुण्य गौतम, शर्मिला वाइवालगायतले पनि समाजमा गैरजिम्मेवार हर्कत गरिरहेकै छन् । 

कानुन स्पष्ट भएन : प्रेस काउन्सिल 

प्रेस काउन्सिल, नेपालले युट्युबरलाई पत्रकार भन्न नमिल्ने बताएको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले सामाजिक सञ्जालमा रहेर सञ्चारकर्म गर्न चाहनेलाई सञ्चारकर्मीसम्म भन्न सकिने तर पत्रकार नै चाहिँ भन्न नमिल्ने बताए । युट्युबबारे सरकारले अहिलेसम्म कुनै निर्णय गरिनसकेको उनको भनाइ छ । 

पत्रकार हुनलाई आचारसंहिताको पालना गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘विश्वको कुनै पनि मुलुकमा युट्युबलाई पत्रकारितामा समेटिएको छैन । पत्रकार हुनलाई समाचार लेखन, पुनःलेखन, सम्प्रेषणलगायतका कार्य गर्नुपर्छ । युट्युब सामाजिक सञ्जालअन्तर्गत पर्दछ । त्यसो त सामाजिक सञ्जाल चलाउने सबैलाई पत्रकार भनिदिए भइहाल्यो ।’ युट्युबलाई नियमन गर्ने निकाय नहुँदा समस्या भएको उनको गुनासो छ । उनका अनुसार पत्रकारसम्बन्धी आचारसंहितामा युट्युबका कुनै पनि ऐनकानुन उल्लेख छैन । स्पष्ट कानुन नहुँदा युट्युबमाथि निगरानी गर्न नसकिएको खनालको जिकिर छ । गत साउनयता युट्युबबाट प्रशारित २९ वटा सामग्रीउपर उजुरी परेको उनले जानकारी दिए । 

कानुन कार्यान्वयनबाहेक केही गर्न सक्दैनौं : साइबर ब्युरो 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अवस्थीले कानुन कार्यान्वयनबाहेक आफूलाई अन्य कुनै अधिकार नभएको बताए । युट्युबभन्दा पनि फेसबुकमार्फत चरित्रहत्यासम्वन्धी उजुरी बढी आउने गरेको उल्लेख गर्दै उनले कानुन पर्याप्त नहुँदा साइबरसम्बन्धी अपराध बढेको जनाए । ‘पछिल्लो समय साइबर अपराध बढेको छ । युट्युबभन्दा पनि फेसबुकमार्फत चरित्रहत्या गरेको उजुरीहरू बढी आउने गरेको छ । हाम्रो काम कानुन कार्यान्वयन गराउनु मात्र हो । कानुन पर्याप्त नहुँदाचाहिँ साइबर अपराध बढेजस्तो लाग्छ’, उनले भने ।
 

टिप्पणीहरू