त्यो बेलाको एटम बम, अहिलेको ओस्कार अवार्ड

त्यो बेलाको एटम बम, अहिलेको ओस्कार अवार्ड

मार्च १० तारिखका दिन क्यालिफोर्नियाको लस एञ्जलसस्थित डल्बी थिएटरमा किलियन मर्फी निकै भावुक बने । कार्यक्रम थियो– ओस्कार अवार्ड समारोह । र, कार्यक्रम सञ्चालक थिए– जिम्मी किमेल । 

जिम्मीले मर्फीलाई स्टेजमा बोलाए, ओस्कार अवार्डका लागि । यद्यपि, नोमिनेसनमा विभिन्न देशका दुई दर्जन अभिनेता थिए । तर सबैलाई पाखा लगाउदै मर्फीले ओस्कार अवार्ड जितेका हुन् । 

उनी अवार्ड लिन स्टेजमा त पुगे, तर केही बोल्न सकेनन् । आँखाका कुनाबाट आँशु रसाउन थाल्यो । जसोतसो आँशुलाई चुहिनबाट रोके । 

दर्शकदीर्घामा ९० भन्दा बढी देशका अन्तराष्ट्रिय सेलिब्रेटीहरु थिए । उनीहरुले मर्फीको लागि ताली बजाए । थिएटर एकछिन गुञ्जयमान भयो । त्यतिञ्जेलसम्म मर्फी पनि स्टेजमै थिए । 

तालीले गुञ्जयमान भएको थिएटरमा बिस्तारै सन्नाटा छायो, जब मर्फीले आँट गरेर केही बोल्ने प्रयास गरे । भने, ’म अभिभूत छु । क्रिस नोलन र एमा थोमसलाई विशेष धन्यवाद, जसले मलाई पछिल्लो २० वर्षदेखि सुन्दर सफरको यात्री बनाए । वास्तवमा हाम्रो फिल्म यस्तो व्यक्तिको जीवनमा आधारित थियो, जसले एटोमिक बम बनाएको थियो । समयसापेक्ष त्यो आविष्कारलाई ठीक भनुँ या बेठीक, तर यो सत्य हो कि अहिले हामी ओपनहाइमरको दुनियाँमा बाँचिरहेका छौं । यो अवार्ड म उनीहरुलाई समर्पित गर्न चाहन्छु, जसले यो दुनियाँमा शान्ति कायम गर्न हरदम प्रयास गरे । जसले शान्तिकै लागि ज्यान गुमाए र सहिद भए ।’

पुग–नपुग एक मिनेटभन्दा बढी बोल्न सकेनन् मर्फी, स्टेजमा । हर्षका आँशु पुछ्दै उनी ओर्लिए । त्यहाँ मर्फीमात्रै भावुक बनेनन्, दर्शकदीर्घाका सेलिब्रेटीहरु समेत भावुक बने । कतिपयले त मर्फीको उक्त उपलब्धीमा आँशु नै खसाले। 

०००

सन् १९४५ मा अमेरिकाले जापानमा दुई एटम बम खसालेको थियो । जसका कारण हिरोसिमामा एक लाख ४० हजार र नागासाकीमा ७४ हजार सर्वसाधारणले ज्यान गुमाए । विश्व इतिहासमै सर्वाधिक क्षतिको आक्रमण थियो, त्यो । दुई वटा बमले त्यति धेरै क्षति पुर्याउला भनेर जापानले सायदै सोचेको थियो । 

अमेरिकाको निम्ति यति शक्तिशाली बम आविष्कार गर्ने वैज्ञानिक थिए, जे रोर्वट ओपनहाइमर । जसलाई अहिले ’एटोमिक बमका पिता’ पनि भनिन्छ । ओपनहाइमर नै हुन, जसले पृथ्वीमा पहिलो पटक रसायन प्रयोग गरेर शक्तिशाली हतियार बनाए । 

पेशाले उनी भौतिकशास्त्री र गणित विज्ञ थिए । तर उनले आविष्कार गरेको एउटा सामान्य बमले पृथ्वीका जुनसुकै देशलाई ध्वस्त पार्न सक्थ्यो, त्यो पनि क्षण भरमै । 

उनै ओपनहाइमरको १८ फेब्रुअरी १९६७ मा निधन भयो । ६२ वर्षको उमेरमा प्राण त्यागेका ओपनहाइमर विज्ञानको इतिहासमा जति चर्चित बने, व्यक्तिगत जीवनीबारे भने खासै चर्चा भएन । उनको जन्म, बाल्यकाल, स्कुल, संघर्षबारे खासै बाहिर आएको थिएन । 

अन्ततः उनको निधन भएको ३८ वर्षपछि लेखक काइ वर्डले उनकै जीवनी लेखे । उक्त बायोग्राफीको नाम राखियो– ’अमेरिकन प्रोमीथिअसः दी ट्रिम्फ एण्ड ट्राजेडी अफ जे. रोर्वट ओपनहाइमर’ । ७२१ पृष्ठको सो पुस्तकमा वर्डले ५ अध्यायमा ओपनहाइमरको जीवनीलाई प्रस्तुत गरेका छन् । (स्मरण रहोस्, काइ वर्ड गत महिना सूर्यगाथा नेपाल साहित्य महोत्सवमा भाग लिन नेपाल आएका थिए । )

०००

सोही पुस्तकको आधारमा गत वर्ष सन् २०२३ मा ओपनहाइमर फिल्म बन्यो ।  फिल्मले दर्जनभन्दा बढी ऐतिहासिक रेकर्ड बनाएको छ । यसले १३ खर्ब ३२ अर्ब ६२ करोड कलेक्सन गरेको छ । त्यस्तै, गत वर्षको वाफ्टा अवार्ड र ग्लोबल अवार्डमा वर्चस्व कायम गरेको छ । यसबीच विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डमा पनि ओपनहाइमरले जादु देखाएको छ । 

ओस्कार अवार्ड पाउनु संसारका कलाकारहरुको एउटा सपना हुन्छ । जो–कोहीले पाउन सक्ने सम्भावना नै हुँदैन । बलिउडका कुनै पनि महान कलाकारहरुले समेत हालसम्म यो अवार्ड पाउन सकेका छैनन् ।

ओस्कारमा अहिलेसम्म एउटा फिल्मले चार÷पाँच वटाभन्दा बढी उपाधी जितेको रेकर्ड छैन । तर ओपनहाइमरले त्यो रेकर्ड तोडेको छ । ओपनहाइमरले एकैपटक १२ वटा विधामा उपाधि जित्यो । बेस्ट फिल्म, बेस्ट एक्टर, बेष्ट सर्पोटिङ एक्टर, बेष्ट डाइरेक्टर, बेष्ट ओर्जिनल स्कोर, बेस्ट सिनेमाटोग्राफीसहित १२ विधामा उपाधी जितेको हो । 

ओस्कार अवार्डको विजेतासँगै अहिले किलियन मर्फी चर्चाको शिखरमा छन् । मर्फी नै हुन्, जसले फिल्ममा वैज्ञानिक ओपनहाइमरको भूमिका निभाएका छन् । उनले त्यति सजिलै ओस्कार अवार्ड पाएका भने होइनन् ।

उनले यहाँसम्म आइपुग्न लामो संघर्ष गर्नुपर्यो । उमेरले ४७ पुगेका मर्फी आयरल्याण्डका पहिलो अभिनेता हुन्, जसले ओस्कार जिते । 

०००

उनी सानो हुँदा अभिनेता होइन, गायक हुन चाहन्थे । उनका बाबु विद्यालय निरीक्षक थिए, आमा फ्रेन्च भाषाकी शिक्षिका । 
 
शिक्षित परिवारमा जन्मिएका मर्फीलाई सानैदेखि ’ज्याज म्युजिक’ सुन्ने रुची औधी थियो । तर उनको रुची बाबु–आमालाई मन पदैनथ्यो । उनीहरु छोरो वकिल बनोस्, वकालत गरोस् भन्ने चाहन्थे ।
 
विद्यालय शिक्षापछि बाबुआमाले मर्फीलाई कानुन अध्ययनको निम्ति ’कोर्क युनिभर्सिटी’मा भर्ना गरिदिए । त्यतिञ्जलेसम्म मर्फीले साथीहरुसँग मिलेर एउटा म्युजिक ब्याण्ड खोलिसकेका थिए । नाम थियो, सङ्स अफ मिस्टर ग्रीन गिनिस । 

एकातिर मर्फीले लाउन्ज र बारहरुमा ब्याण्डसहित गीत गाउन थाले, अर्कोतिर युनिभर्सिटीमा कानुन पढ्न । एकदिन उनले युनिभर्सिटीमा आफूभन्दा सिनियर विद्यार्थीहरुले एउटा ’स्टेज ड्रामा’ गरेको देखे । त्यो ड्रामाले मर्फीलाई पहिलो पटक अभिनयसँग जोड्यो । 

त्यसको केही महिनापछि आफैं ड्रामा खेल्ने निर्णय गरे । उनका साथीहरुले ’डिस्को पिग्स’ नामक एउटा प्रडक्सन कम्पनी खोले । र नाटक बनाउन थाले । 

उनीहरुले युनिभर्सिटीमै पहिलो शो देखाए । नाटकको चर्चा विस्तारै बढ्दै गयो । केही महिनामै मर्फीले सोही नाटक प्रस्तुत गर्न अष्ट्रेलिया र इंगल्याण्ड जाने मौका पाए । 

विस्तारै उनको म्युजिकप्रति चासो कम हुँदै गयो र नाटकमा रमाउन थाले । विभिन्न देश पनि घुम्न पाइने र मानिसले पनि चिन्ने भएपछि मर्फीमा नयाँ रौनक आउन थालेको थियो । 


त्यतिन्जेल उनी युनिभर्सिटीको दोस्रो वर्षमा अध्ययनरत थिए । तर दोस्रो वर्षको नतिजामा उनी फेल भए । त्यसपछि युनिभर्सिटी नै ’ड्रपआउट’ गरे । त्यसयता उनले कहिल्यै औपचारिक शिक्षा लिएनन् । बरु उनले आफ्नो चासोका पुस्तकहरु स्वःअध्ययन गर्न थाले । 

अन्ततः सन् १९९८ मा उनले पहिलो पटक ’२८ लेटर डेज’ मार्फत फिल्ममा डेब्यु गरे । यो फिल्म हरर जनरामा बनेको थियो । 

त्यसपछि सन् २००३ मा डार्क कमेडी ’इन्टरमिसन’मा देखिए । सन् २००५ मा  थ्रिलर फिल्म ’रेड आइ’ मा काम गरे । उनी एकपछि अर्को फिल्म पाइरहेका थिए, तर उनले सोचेजस्तो भइरहेको थिएन । अर्थात उनले चाहेको जस्तो स्क्रिप्ट पाएका थिएनन् । 

सन् २००७ मा उनले ’सनसाइन’ मा काम गरे । जुन, साइन्स फिक्सन थियो । यो फिल्ममा मर्फीले पहिलो पटक आफ्नै कामबाट सन्तुष्टि प्राप्त गरेको बताए । 
सन् २०१० मा ’इन्सेप्सन’ आयो । यसमा पनि मर्फी लिड रोलमा थिए । यसलाई निर्देशन गरेका थिए, क्रिस्टोफोर नोलनले । यो फिल्मले हलिउड चलचित्रको इतिहासमा कमाईको रेकर्ड तोड्यो । सोही फिल्मका कारण निर्देशक नोलन र मर्फी राम्रो साथी बने । एकअर्काको निम्ति काम गर्न सजिलो पात्र बनिदिए । 

त्यसपछि यी दुईले पाँच वटा फिल्ममा सँगै काम गरे । फिल्महरु पनि हिट भए । यो श्रृंखला अहिले ओपनहाइमरसम्म आइपुग्दा पनि रोकिएको छैन । 

एउटा रोचक कुरा के छ भने, निर्देशक नोलनले मर्फीलाई पहिलो पटक एउटा अडिसनमा भेटेका थिए । त्यतिबेला मर्फी ब्याटम्यानको कस्ट्युममा थिए । झ्वाट्ट हेर्दा नोलनलाई कमेडी लागेछ । त्यसपछि नोलनले मर्फीलाई खासै वास्ता गरेनन् । 

तर त्यही दिन राति १० बजेतिर नोलनलाई उनै कमेडी लुक्समा भेटिएका मर्फीको मेसेज आयो । लेखिएको थियो– रेमेम्बर, आइ एम एन एक्टर ।
 
यो मेसेज देखेपछि भने नोलन मर्फीसँग प्रभावित बने । र अर्को दिन फेरि भेट्न बोलाए । त्यसपछि गाँसिएको यी दुईको सम्बन्ध अहिले अभिनेता र निर्देशकभन्दा पनि दाजु–भाइजस्तो बनेको देखिन्छ । 

करिब ५÷६ वर्षभयो, मर्फीले आफ्नो बानीहरुमा सुधार ल्याएका छन् । पहिले उनी चञ्चले स्वभावका थिए । उनलाई २४सै घण्टा साथीभाई चाहिन्थ्यो र्।  राति अबेरसम्म मदिरा पार्टी गर्नुपथ्र्यो । तर अहिले उनी आध्यात्मिक बनेका छन् । 

ओस्कार अवार्ड प्राप्त गरेपछि उनले विबिसीसँगको अन्तर्वार्तामा भने, ’यो समय भन्ने विषय हाम्रो नियन्त्रणमा छैन । तर म आजभोलि सकेसम्म परिवारको लागि समय निकाल्छु । मैले समयमै सुत्ने र उठ्ने बानी बनाएको छु ।’ 

निर्देशक नोलनले पनि आफूहरुले लामो वर्षदेखि बगाएको पसिनाको मूल्य पाएको बताएका छन् । भनेका छन्, ’हामीले कुनै पनि काम कर्मचारी भएर होइन, आफन्त भएर गर्यौं । नतिजा अहिले तपाईंकै अघिल्तिर छ, हामी ओस्कारको ट्रफी बोकेर उभिरहेका छौँ ।’
 

टिप्पणीहरू