शिक्षकले आफ्नो र पेशाको मर्यादा नबुझेपछि बढ्यो विद्यालय हिंसा

शिक्षकले आफ्नो र पेशाको मर्यादा नबुझेपछि बढ्यो विद्यालय हिंसा

भनिन्छ, ‘विद्यालय बालबालिकाको दोस्रो घर हो ।’ विद्यालयका शिक्षक–शिक्षिका विद्यार्थीका विश्वासिला अभिभावक हुन् । बालबालिकाले घरपछि सबैभन्दा धेरै समय विद्यालयमा बिताउँछन् । जुन निकटता, सुरक्षाको अनुभूति बालबालिकाले आफ्नो अभिभावकसँग गर्छन्, त्यस्तै वातावरण विद्यालयको पनि हुनुपर्छ । विद्यालयको माहौल भयरहित र बालमैत्री भएमा मात्रै विद्यार्थीले केही कुरा सिक्न सक्छन् । 

विद्यालयको वातावरणले विद्यार्थीको जीवनमा ठूलो प्रभाव पार्छ । विद्यालय विद्यार्थीहरु डराउने नभएर सिक्ने ठाउँ बन्न जरुरी छ । पछिल्लो समय विद्यालयको सिकाइ हिंसात्मक बन्दै गएको छ । जसले गर्दा अभिभावकहरु आफ्ना छोराछोरी विद्यालय पठाउन डराउन थालेका छन् । विद्यार्थीहरु पनि शिक्षक–शिक्षिकादेखि त्रसित भएको बताइन्छ । 

आफ्नो ज्ञानकेन्द्र विद्यार्थीका लागि असुरक्षित बनेको व्यापक गुनासो आइरहेको छ । शिक्षकले विद्यार्थी कुटेका घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । गृहकार्य नगरेको, सोधेको प्रश्नको उत्तर नदिएको, परीक्षामा राम्रो अंक नल्याएको भन्दै शिक्षकहरुले विद्यार्थी कुट्ने गरेका छन् । उनीहरुलाई सम्झाउनु, बुुझाउनुको साटो शिक्षकहरु नै आतंकित बनिदिँदा विद्यार्थीमा पढाइप्रति वितृष्णा बढ्दै गएको बताइन्छ ।  

प्रश्नको उत्तर नदिँदा लमजुङको एउटा विद्यालयमा शिक्षिकाले छात्रामाथि निर्घात कुटपिट गरेकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शिक्षिकाले मरणासन्न हुनेगरी कुटिन् । घटना हिजोको हो, सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योति अंग्रेजी माध्यमिक विद्यालयकी शिक्षिका फराना मियाँले छात्रा अनमिका गुरुङ्गलाई लौरोले खुट्टामा हानेको धेरै वटा डाम देखिन्छ । 

शिक्षिकाको पिटाइबाट गम्भीर घाइते भएकी उनको अहिले उपचार भइरहेको छ । बालिका खुट्टा सुन्निएको र हिँड्डुल गर्नसमेत नसक्ने अवस्थामा रहेको परिवारले बताएको छ । यसअघि माघमा विद्यार्थीमा ‘देवी’ चढेको भन्दै शिक्षकले कुटपिट गरेका थिए । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी माध्यमिक विद्यालयकी छात्रा एलिसा खड्कालाई शिक्षक लोकबहादुर खड्काले पिटेका हुन्् । 

शिक्षकले विद्यार्थी कुटेपछि विद्यालयमा ठूलै प्रदर्शन भयो । गत असारमा शिक्षकले छाताको डन्डी बाङ्गिने गरी विद्यार्थी कुटेको घटना सार्वजनिक भयो । धरान उपमहानगरपालिका १७ स्थित ज्वालामुखी माविका विज्ञान विषय पढाउने शिक्षक महेशकुमार यादवले कक्षा ८ मा अध्ययनरत रिसन जोगीलाई हिर्काएका हुन् । 

कक्षाकोठामा पञ्जा लडाइँ खेलेको भन्दै कुटिएका उनको टाउकोमा गम्भीर चोटपटक लागेको थियो । बाहिरी जिल्लामा मात्र नभई राजधानीमा पनि विद्यार्थी शिक्षकबाट कुटिने गरेका छन् । आफूले भनेको नटेरेको भन्दै शिक्षकले विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिने गरेका छन् । 

गत वर्षको साउनमा ललितपुरको एउटा विद्यालयमा त्यस्तै घटना भयो । विद्यार्थीलाई लाइनमा राखेर शिक्षकले फलामको स्केलले मरणासन्न हुनेगरी कुटपिट गरिएको थियो । गोदावरी नगरपालिका ठेचोमा रहेको लिटिल स्टार इङलिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले ११ वर्षे बालकको कमलो शरीरमा नीलडाम पारिदिए । उनको पेटमा, शरीरको अगाडि र पछाडि भागमा स्केलको डाम बसेको थियो । स्केलको धारले काटिएको घाउ पनि थियो । 

उक्त घटना हुनुभन्दा केही दिनअघि साथीहरुसँग खेल्दा उनको मुखबाट ‘चुडेल्नी’ शब्द फुत्कियो । साथीहरुले शिक्षिकालाई कुरा लगाइदिएपछि प्रिन्सिपलले नराम्रोसँग पिटेका हुन् । यी त केही उदाहरण मात्रै हुन् । शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको, हातखुट्टा भाँचिएको र मृत्यु भएको घटनासम्म सुनिएको छ । 

बालबालिका काँचो माटोको भाँडो जस्तै हुन् । जस्तो बनाउन खोज्यो, त्यस्तै बन्छन् । तर, कतिपय गुरुहरुले यो कुरा बुझेका छैनन् । यातना दिए मात्रै विद्यार्थीले टेर्छन्, तह लाग्छन् भन्ने मानसिकता उनीहरुमा छ । शिक्षण पेशा सबै पेशाको जननी हो । अन्य पेशाको तुलनामा यो पेशामा अलिक बढी मेहनत र जवाफदेहिता चाहिन्छ । 

अर्काको बालबच्चा सम्हाल्नु सामान्य कुरा होइन । दिनदिनै विद्यार्थीलाई पढाउन र धेरै विद्यार्थीको जिम्मेवारी लिन सजिलो पनि छैन । तर, त्यसको अर्थ विद्यार्थी कुट्नु भनेको पक्के होइन । घरको रिससमेत विद्यार्थीमाथि पोख्ने गरेको आरोप शिक्षकहरुमाथि लाग्दै आएको छ । नेपालको संविधानले बालबालिकाको हक संरक्षण गरेको छ । 

धारा ३९(७) मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने उल्लेख छ । शिक्षक नियमावली २०५९ को परिच्छेद २२ मा शिक्षक तथा विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता तोकिएको छ । दफा १३३(ट) मा भनिएको छ,‘विद्यार्थीलाई शारीरिक वा मानसिक तनाव दिन नहुने ।’ 

तरपनि विद्यार्थी कुट्ने क्रम भने रोकिएको छैन । स–साना निहुँमा शिक्षकले विद्यार्थी कुटिरहेका छन् । मनोविद् गोपाल ढकाल पढाउने र अनुशासनमा राख्ने नाममा विद्यार्थी कुट्नु गलत भएको बताउँछन् । त्यसले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने उनको भनाइ छ । उनका अनुसार कुटपिटले पढाइप्रति वितृष्णा बढाउँछ, डिप्रेशन, नैराश्यतामा लैजान्छ र सोसल फोबिया उत्पन्न गराउँछ । 

‘शिक्षकहरुले विद्यार्थीलाई सम्झाउन, बुझाउन वैकल्पिक उपायहरु खोज्नुपर्नेमा पिट्छन् । दण्ड सजायले शारीरिक चोटपटक त लाग्छ नै, साथै पछिसम्म नहट्नेगरी मानसिक असर पनि पर्छ । विद्यार्थीहरुलाई झनै पढ्न मन लाग्दैन । शिक्षकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ । थुप्रै असर आउँछ । सबैको अगाडि पिटेपछि ऊ भित्रभित्रै डराउँछ । साथीहरुले केही भन्ने हुन् कि भन्ने डरले गर्दा ऊ विस्तारै सोसियल फोवियाको शिकार बन्छ’, ढकालले भने । 

शिक्षकहरुमा बालमनोविज्ञानको अभाव रहेकाले यस्ता घटना दोहोरिरहेको उनको बुझाइ छ । सरकारले शिक्षकहरुलाई अध्यापन प्रशिक्षण दिलाउन आवश्यक रहेको उनले बताए । भन्छन्, ‘शिक्षकहरुको सोचमा परिवर्तन आउनसकेको छैन । पहिले आफूले जे भोगेका थिए, अहिले विद्यार्थीमाथि त्यही गरिरहेका छन् । शिक्षकले बालमनोविज्ञान बुझ्न जरुरी छ । दण्डसजाय दिएर होइन, उनीहरुको मनोविज्ञान बुझेर पढाउनुपर्छ । सरकारले शिक्षकहरुलाई विद्यार्थी कसरी पढाउने ? भनेर प्रशिक्षण दिनुपर्छ ।’

नेपाल विद्यार्थी कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी अहिलेका शिक्षकले विद्यार्थी नकुट्ने दाबी गर्छन् । शिक्षकले घाइते हुनेगरी विद्यार्थी कुटेको कुरा परिषद्लाई स्वीकार्य नहुने उनले बताए । कहिलेकाँही सामान्य सजाय दिँदापनि ठूलो घटना बनाउने गरिएको उनको भनाइ छ । 

‘पहिले यस्ता घटना अत्याधिक हुन्थ्यो, त्यो म पनि मान्छु । तर, अहिलेका शिक्षकमा त्यस्तो सोच कम हुँदै गएको छ । विद्यार्थीले राम्रोसँग पढुन्, राम्रो अंक ल्याउन् भन्ने शिक्षकको चाहना हो । उनीहरुले नमान्दा यदाकदा गाली गरिन्छ, सामान्य सजाय दिइन्छ । तैपनि त्यसलाई ठूलो बनाउने प्रवृत्ति हाम्रोमा छ । विद्यार्थी बाहिरबाट ठीक देखिएपनि आन्तरिक रुपमा स्वास्थ्य समस्या हुन सक्छ । यस्तोमा शिक्षकले सामान्य गाली गरेको अवस्थामा पनि ठूलो हुन सक्छ । त्यसैले अहिले शिक्षकले विद्यार्थी कुट्छन् भन्नु हामीलाई स्वीकार्य छैन’, उनले भने ।

टिप्पणीहरू