कम्रेड शहीदको प्रतिमा कता गयो ?

कम्रेड शहीदको प्रतिमा कता गयो ?

- जीवन श्रेष्ठ 

सिन्धुपाल्चोकको राजनीतिक बजारमा शहीद इलबहादुर थामी र बीरबहादुर थामीको नामलाई बेचेर कोही मन्त्री भए, कोही सांसद । प्रजातन्त्रको पूनरउदयपश्चात हरेक निर्वाचनमा इलबहादर र बीरबहादुर थामीको नाम भजाएर भोट बुटुल्ने काम अझै पनि जारी छ तर उनै बीरबहादुर इलबहादुर थामीले शाहदत प्राप्त गरेको पिस्कर न त विकास निर्माणमा अगाडि छ, न त सीमान्तकृत थामी समुदायकै जीवनस्तरमा नै  फेरबदल आएको छ । अझ अचम्म लाग्दो कुरा त शाहदत प्राप्त उनै दुई होनहार थामी युवाको प्रतिमा पनि शहीद पार्कबाट रातारात गायब भएको छ । 

२०४० सालको माघेसंक्रान्तिको दिन पञ्चायती शासकहरुले ढालेका युवा हुन् इलबहादुर र  बीरबहादुर थामी । पञ्चायती बर्बताविरुद्धको आन्दोलनको मोर्चा कस्दै तत्कालिन नेकपा मालेले पिस्करको महादेवस्थामा माघे संक्रान्तिको दिनमा लाग्ने मेलालाई उपयोग गर्दै स्थानीय जनतालाई संगठित र जागरुक बनाउने काम गरेको थियो । त्यसैको सुँईको पाएर तत्कालिन पच्याती सरकारले लाग्दै गरेको मेलामाथि अन्धधुन्ध गोली दाग्दा यी दुई थामीको प्राणान्त भएको थियो । सो काण्डमा पिस्करकै छत्रबहादु बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, सरेश नेपाल लगायतका दर्जनौलाई जेल कोच्यो । सयौं निर्दोष जनतामाथि झुठ्ठा मुद्या लगाएर बर्षौबर्षसम्म यातना पनि दिइयो ।

 

२०४६ सालको जनआन्दोलनले मूलुकमा प्रजातन्त्रको उदय भयो । सोही काण्डको पुष्ठभूमिबाट उदाएका अमृत बोहरा पिस्कर रहेकै क्षेत्र अर्थात सिन्धुपाल्चोक क्षेत्र न १ बाट माननीय बने, मन्त्री भए । सो काण्डमा जेलनेल भोगेका सरेश नेपाल र अरुण नेपालले पनि मन्त्री पडकाए । तर फेरि पनि पिस्करको समस्या ज्यूँको त्यूँ नै रहेको छ । यदपी इलबहादुर र बीरबहादुर थामीको सम्झना र सम्मानार्थ २०५४ सालमा पिस्करमा शहीद पार्क निर्माण मात्र भएन, द्वय शहीदको शालिकसमेत स्थापना गरियो । निर्माण भएको २६ वर्ष पुगिसक्दा पनि पार्कले पूर्णता पाउनु त कता हो कता उल्टै द्वाय शहीदको प्रतिमा पनि रातारात गायब गरिएको छ ।  

अहिले शहीद पार्कमा प्रतिमाविहीन स्तम्भ मात्र ठिङ्गो ठडिएको छ । निर्माधिन अवस्थामा नै रहेको पार्कको कन्तविजोग देख्दा जो कोहीको आँसु खस्न सक्छ, छाति चहराउन सक्छ । जताततै अस्तव्यस्त र झार उम्रेको देखिन्छ । अझ दुख लाग्दो कुरा त शहीद पार्क यतिखेर बाख्रा गोठमा रुपान्तरण भएको छ । स्थानीयहरुले यहाँ दिउँसभरि बाख्रा बाँध्दै आएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा शहीदको प्रतिमालाई कम्युनिष्टहरुले उखलेको बताउँछन् । शहीद सबैको साझा भए पनि कम्युनिष्टले पेवा ठानेका कारण इलबहादुर र बीरबहादुर थामीको प्रतिमा ठाउँको ठाउँ हराएको उनको आरोप छ । उनले प्रतिमा पुनप्रतिस्थापन गर्ने र अधुरा पार्क निर्माण कार्य योजनामा त्यति चासो देखाउन सकेन्न । एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले प्रतिमा गायब भएको कुरा आफूलाई थाह नभएको बताए ।

 

हुन त सिन्धुपाल्चोक एमालेले शहीद थामीद्वयलाई पेवा जतिक्कै ठान्दै आएको छ । एमालेकै अग्रसरतामा शहीद पार्क निर्माण भएको यथार्थतालाई नर्कान सकिँदैन । तर कम्युनिष्टहरुले शहीद इलबहादुर थामी र बीरबहादुर थामीको प्रतिमा लुकाएको कुरा मिथ्या भएको बताउँछन् निर्वतमान वडाअध्यक्ष लक्ष्मण उर्फ भटल थामी । बच्चाहरुले खेल्ने क्रममा प्रतिमा ढालिदिएको कारण नजिकको तरकारी संकलन केन्द्रको स्टोररुममा सुरक्षित राखिएको बताए । उनले आफू वडा अध्यक्ष हुँदा पनि पार्क निर्माणका लागि बजेट हालेको तर ठेकेदारको लापरबाहीको कारणले पुरा हुन नसकेको जिकिर गरे । थामी संग्रालयको परिसरमा नै प्रतिमा प्रतिस्थापन गर्ने योजना रहेको बताउने पूर्व वडाअध्यक्ष थामीलाई खासमा प्रतिमा कहाँ रहेछ भन्ने पत्तोसमेत नरहेको प्रष्ट हुन्छ । 

निवर्तमान वडा अध्यक्ष थामीले स्टोररुमा शहीदद्वयको प्रतिमा सुरक्षित राखिएको छ भनिएता पनि स्टोररुपमा कुनै प्रतिमा फेला नपरेको सञ्चारकर्मी दीपक खत्रीले बताए । मंगलबार मात्र पिस्कर पुगेर फर्केका खत्रीले शहीदद्वयको प्रतिमा थामी संग्रालयभित्रको एउटा कोठामा भेटिएको प्रष्ट पारे । 

हुन त पिस्कर हत्याकाण्डमा मारिएका यी दुई युवालाई शहीद घोषणा गर्नुपर्ने माग गरिएपनि अहिलेसम्म पुरा हुन सकेको छैन । पछिल्लोपटक राजपत्रमा शहीदको नामावली प्रकाशन भए पनि शहीद थामीद्वय भने अटाउन सकेको देखिँदैन । त्यसो त प्रतिमा कसले कता लग्यो भन्ने चासो पनि दिन नसक्ने सिन्धुका राजनीतिककर्मीहरुबाट राजपत्रमा नामावली समावेश गर्ने कुरा पहल गर्लान् भन्ने आशो एकदेशको कथा जतिकै हो ।  

कम्युनिष्टहरुको उर्वर भूमिको रुपमा परिचित पिस्करमा हरेक स्थानीय निर्वाचनमा कम्युनिष्ट अर्थात एमालेका उम्मेद्वारले नै जीत्दै आएका छन् । तर गत २०७८ सालको स्थानीयतहको निर्वाचनमा भने यहाँ पहिलोपटक पालिका अध्यक्ष र वडा अध्यक्ष दुबै काँग्रेसले जीतेका छन् । 

 

 

 

टिप्पणीहरू