गृहको निर्णयपछि विभिन्न आशंका, घरधनीहरु त्रसित

गृहको निर्णयपछि विभिन्न आशंका, घरधनीहरु त्रसित

सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुला राख्ने निर्णय गरेको छ । गृहमन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २४ सै घण्टा राजधानीका ठमेल र दरबारमार्ग क्षेत्र खुला राख्ने तयारी अघि बढाएको छ । अस्ति सिडियो कार्यालयमा यसबारे छलफल गर्न सरोकारवाला निकायका पदाधिकारीहरुको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सम्बन्धित निकाय र व्यवसायीहरुबाट रायसुझाव लिइसकेका छन् । 

ठमेल र दरबारमार्ग राजधानीको मुख्य पर्यटकीयस्थल हो । यी क्षेत्र स्वदेशी र विदेशी दुवैको आकर्षणको केन्द्र पनि हुन् । नेपाल घुम्न आउने अधिकांश पर्यटकको रोजाइ ठमेल र दरबारमार्ग बन्ने गरेको छ । ठमेलमा होटल, रेष्टुरेण्ट, डान्सबार, दोहोरी साँझ, लजहरु प्रशस्त छन् । हाल राति १२ बजेसम्म दोहोरी साँझ, बिहान २ बजेसम्म डान्सबार र ४ बजेसम्म क्लब सञ्चालन हुँदै आएको छ । त्यहाँका व्यवसायीहरुले लामो समयदेखि २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आएका थिए । 

उनीहरुको मागबमोजिम गृहले रातभर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । उक्त निर्णय अहिले बहसको विषय बनेको छ । व्यवसायीहरुले निर्णयप्रति उत्साह जनाइरहँदा आम सर्वसाधारण र त्यहाँका घरधनी भने सन्तुष्ट देखिँदैनन् । घट्दै गएको व्यावसायिक क्रियाकलाप पुनः पुरानै लयमा फर्किन्छ कि भन्ने आशा बोकेका व्यवसायीहरु खुशी हुनु स्वाभाविक हो । तर, सुरक्षा व्यवस्थालाई लिएर प्रश्न चिन्ह खडा भएको छ । सरकारको यो कदमले शान्तिसुरक्षामा चुनौती थपिने सर्वसाधारणको बुझाई छ । 

रातभर व्यवसाय सञ्चालन गर्न दिँदा अपराधिक क्रियाकलाप बढ्ने अनुमान लगाइएको छ । यता, ठमेलका घरधनी र होटल व्यवसायीहरु नै गृहको उक्त निर्णयसँग सहमत देखिँदैनन् । अपराधिक क्रियाकलाप बढ्नुका साथै ध्वनी प्रदूषणले राति सुत्न नसकिने स्थानीयको चर्को गुनासो छ । डान्सबार, क्लब, दोहोरी साँझमा हुने हो–हल्लाले समस्या थपिने उनीहरुको भनाइ छ । चोरी, डकैती, झगडा, तोडफोडलगायतका घटना बढ्नेतर्फ घरधनीहरु त्रसित देखिन्छन् ।

सर्वसाधारणले राति १०–११ बजे उता व्यवसाय सञ्चालन गर्न दिन नहुने धारणा राखेका छन् । समय तोकेरै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने अधिकांशको सुझाव छ । गृहको निर्णयउपर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले गृहमन्त्री लामिछानेको निर्णयलाई ‘हचुवाको निर्णय’ पनि भनेका छन् । सस्तो लोकप्रियता कमाउन उनले शान्तिसुरक्षालाई नै दाउमा राखेको आरोप लगाइएको छ ।

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘खोल्न त दिने तर चोरी, डकैती, गुण्डागर्दी, हत्याहिंसालगायतका कार्य नहोस् । आपराधिक गतिविधि नहोस्, मेरो अनुरोध छ ।’ त्यस्तै, अर्कोले भनेका छन्, ‘मसाज र डान्सबार बन्द गर्नुपर्छ । यसले गर्दा रेड लाइट एरियाजस्तै भइसक्यो ।’ 

विकसित बनाउने भन्दै विकृति फैलाउने निर्णय भएको कतिपयको ठहर छ । ‘रेड लाइट एरियाचाँहि बन्ने भयो, अहिलेको चलनचल्तीले । नाइट वाक बन्नु र रेड लाइट एरिया बन्नुमा के फरक छ र । यो निर्णयचाँहि एकदम खत्तम लाग्यो । विकसित बनाउने भन्दैमा विकृति फैलाइयो । राति सुत्ने समय हो, घुम्ने होइन ।’

ठमेललाई बैंककझैं नबनाउन पनि सुझाव दिइएको छ । सामाजिक सञ्जालमा भेटिएको छ, ‘भोलि आफू पाउने होला, ख्याल गरौं है ।’ ठमेल विदेशी पर्यटकहरुको ‘अपराधिक अखडा’ बन्दै गएको छ । गत वैशाखमा प्रहरीले ठमेलबाट ठूलो परिमाणको कोकिनसहित दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । भारतको उत्तर प्रदेशका ५१ वर्षीया रविन्द्रकुमार परासर र केन्या घर भएकी ३६ वर्षीया पिलिसिला वान्जा दिरितु समातिएका हुन् । उनीहरुको साथबाट दुई करोड ३३ लाख रुपैयाँ बराबरको एक केजी ८० ग्राम कोकिन फेला गरेको थियो । प्रहरीले गत साउनमा एक अमेरिकी र बेल्जियम नागरिकलाई चरेशसहित पक्रको हो ।

गएको असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि नै कुटपिट भयो । सञ्चालक राजेन्द्र गुरुङ्गमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सानुभाइ भन्ने युवराज गुरुङ्ग, विक्रम अधिकारी, सुवास कायस्थ, सुरज कायस्थ र कमल तामाङ्गलाई पक्राउ गरेको थियो । नशाको सुरमा लठ्ठिएका उनीहरुले कुटपिट गरेको सिसिटिभी फुटेज बाहिरिएको थियो । ठमेलमा विभिन्न समूहले थर्काउने, धम्काउने, लुटपाटसम्मको हर्कत हुँदै आएको छ । त्यहाँको यौन व्यवसाय भुसको आगो बनेको छ । फ्ल्याट लिएर यौनधन्दा चलाउने गरिएको व्यवसायी बताउँछन् । रात छिप्पिँदै गएपछि बैंकक जस्तै लाग्ने गरेको उनीहरुको भनाई  छ ।

मसाज सेन्टरमा पनि अर्कै धन्दा हुने गरेको आरोप लाग्दै आएको छ । अन्य स्थानका मानिस निदाउँदा ठमेल भने झन् जागा हुन्छ । रात परेपछि किशोरकिशोरीदेखि युवायुवतीसम्म रमाइलो गर्न त्यहाँ पुग्छन् । रात चढ्दै जाँदा ठमेल क्षेत्रमा मदिराको खपत ह्वात्तै बढ्छ । हल्ला गर्ने, कराउने, चिच्याउने थलो बन्ने गरेको छ ठमेल । 

यस्तोमा सुरक्षा व्यवस्थालाई कडा नपारी रातभर व्यवसाय सञ्चालन गर्न दिनुअगाडि सरकारले पुनर्विचार गर्नुपर्ने देखिन्छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद शर्माले शान्तिसुरक्षाको विषयमा छलफल भइरहेको बताए । २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न आचारसंहिता निर्माणको तयारी गरिएको उनले जानकारी दिए । 

शर्माका अनुसार एकीकृत सुरक्षा योजना र विशिष्टकृत सुरक्षा योजना बनाइने छ । उनले भने, ‘हामी मापदण्ड बनाउँदै छौं । सरोकारवालाहरुसँग रायसुझाव लिने कार्य भइरहेको छ । त्यहाँको अवस्था हेरेर एकीकृत सुरक्षा योजना र विशिष्टकृत सुरक्षा योजना बनाउँदै छौं ।  वैशाख १ गतेबाट यो व्यवस्था लागु हुन्छ ।’ यता, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवानीश्वर शर्माले शान्तिसुरक्षा र ध्वनि प्रदूषणको समाधान खोजिरहेको बताए । उनका अनुसार आज घरधनीहरुसँग यो विषयमा छलफल गरिएको छ । घरधनीहरु ध्वनी प्रदूषण र शान्तिसुरक्षालाई लिएर निकै चिन्तित भएको उनी बताउँछन् । 

‘यो विषयमा आज घरधनीहरुसँग छलफल गर्यौं । उहाँहरु शान्तिसुरक्षालाई लिएर निकै चिन्तित हुनुहुन्छ । स्थानीय प्रशासनले शान्ति सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गरेको छ । त्यसो भएमा कुनै समस्या रहँदैन । व्यवसायीहरुले पनि यस कार्यमा सहयोग पुर्याउनुपर्यो । साउण्ड प्रुुफ प्रविधि जडान गर्नुपर्यो । यो व्यवस्थापछि अवस्था सहज हुनेमा हामी विश्वस्त छौं’, उनले भने ।

टिप्पणीहरू