झण्डै तीन दर्जनले पाए निःशुल्क उपचार, दुईको निधन

झण्डै तीन दर्जनले पाए निःशुल्क उपचार, दुईको निधन
सुन्नुहोस्

काठमाडौंका विभिन्न अस्पतालबाट झण्डै तीन दर्जन विपन्न बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । दुई बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् । 

सेवा लिने बिरामीमध्ये ६ जना काठमाडौंकै रहेका छन् । त्यस्तै, अन्य बिरामी दाङ, कालीकोट, धादिङ्ग, रामेछाप, दोलखा, बाँके, मोरङ, झापा, गोरखा, भोजपुरको भएको महानगरले जनाएको छ । महानगरका अनुसार उपचार सेवा लिँदालिँदै दुई जनाको निधन भएको छ । 

त्यस्तै, १५ जनाले डाइलासिस गराइरहेका छन् । तीन जनाले दम, क्षयरोगजस्ता छातीसम्बन्धी, दुई जनाले शल्यक्रिया, दुई जनाले आकस्मिक, एक जनाले स्त्री तथा प्रसुति रोग सेवा, एक जनाले पेट र एक जनाले आँखासम्बन्धी सेवा लिएको महानगरले जानकारी दिएको छ । 

बिरामीमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पताल, तीन जनाले काठमाडौं मोडेल अस्पताल, दुई जनाले काठमाडौं मेडिकल कलेजबाट सेवा लिएका छन् । त्यस्तै, अन्यले ब्लू क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ्ग अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल, छत्रपाटी सामुदायिक अस्पताल र नेशनल मिर्गौला केन्द्रमा उपचार गराएका छन् । 

महानगरले गत जेठमा विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो । महानगरका अनुसार विपन्नको निःशुल्क उपचार गराउने प्रणालीमा ५२ वटा अस्पताल आबद्ध भएका छन् ।

टिप्पणीहरू