विनोद चौधरीको विदेश यात्रा निरन्तर,कोलम्बोतिर तारन्तार

विनोद चौधरीको विदेश यात्रा निरन्तर,कोलम्बोतिर तारन्तार
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी आठ दिनपछि स्वदेश फर्केका छन् । उनी कोलम्बोबाट श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् ।

उनी गत सोमबार सोही एअरलाइन्सको उडानमा कोलम्बो गएका थिए । त्यसअघि फिलिपिन्सको मनिलाबाट बैंकक हुँदै चैत २८ गते दिउँसो थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आएका थिए । 

चैत ८ गते पनि श्रीलंकाको राजधानी कोलम्बो नै उडेका थिए । त्यसदिन बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै मनिला पुगेपछि श्रीमती सारिका चौधरीलाई पनि बोलाए । सारिका मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर हुँदै मनिला पुगेकी थिइन् ।

काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनीसँग चैत ८ गते बिहान बयान लिएको थियो । त्यसअघि माघ १८ गते कान्छो भाइलगायत तीन जनालाई ब्युरोले नियन्त्रणमा लिएर बयान लिएपछि पनि सोही दिन एकाएक नयाँ दिल्लीतिर हान्निएका थिए ।

टिप्पणीहरू